+
+

‘व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी धन कमाउन नक्कली अंशबन्डा गरे’

२६ करोड ४० लाख बिगो, त्यसको दोब्बर जरिवाना माग, थप ३० रोपनी जग्गा र २४ करोड रुपैयाँको सेयर जफत हुनुपर्ने दाबी सम्पत्ति शुद्धीकरण विभागको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते २०:१३

४ पुस, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी धन कमाउने उद्देश्यले नक्कली अंशबन्डा गरेको दाबी गरेको छ ।

विभागले हालै जिल्ला अदालत काठमाडौंमा दायर गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सेयरको भित्री कारोबार गरी गैरकानुनी रूपमा धन कमाउन उनले नक्कली अंशबन्डा गरेको दाबी गरिएको हो ।

प्रधानले प्रवद्र्धन गरेको कम्पनी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको अध्यक्ष हुँदा र त्यसलगत्तै श्रीमती, छोरी र छोराको नाममा सेयर ट्रान्सफर गरेका थिए । त्यसरी ट्रान्सफर गरिएको सेयर सोही बेला परिवारका सदस्यले उच्च मूल्यमा बेची अकुत सम्पत्ति आर्जन गरेको विभागको तर्क छ ।

प्रधान ९ साउन २०७१ देखि १३ भदौ २०७८ सम्म नेपाल हाइड्रो डेभलपर लिमिटेडका अध्यक्ष थिए । अध्यक्ष भएकै बेला र अध्यक्षबाट राजीनामा दिएलगत्तै उनले श्रीमती बिमला प्रधान, छोरा चेतन प्रधान तथा छोरी निभिता प्रधानका नाममा कुल ५ लाख ४ हजार ५ सय ६२ कित्ता सेयर हस्तान्तरण गरेका थिए ।

श्रीमती, छोरा र छोरीका नाममा गरेको सेयर ट्रान्सफर अंश भिन्नाका क्रममा गरेको दाबी उनले गरेका थिए । तर, उनीहरूका नाममा सेयर गएलगत्तै उच्च मूल्यमा सेयर बेचेको र त्यो रकम फेरि ज्ञानेन्द्रलाल प्रधानकै खातामा फर्केर आएकाले त्यो अंशबन्डा नै नक्कली भएको निष्कर्ष विभागले निकालेको छ ।

कुनै कम्पनीको सञ्चालक वा अध्यक्ष हुँदाकै बखत सोही कम्पनीको सेयर किनबेच गर्न नपाउने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा छ । ऐनको यो व्यवस्थाका कारण प्रधान स्वयंले सेयर बेच्न नपाउने भएपछि श्रीमती, छोरा र छोरीको नाममा हस्तान्तरण गरी उनीहरूमार्फत बिक्री गरेका थिए ।

‘हामी परिवारका मानिसहरूबीच अंशबन्डा भई छुट्टा भिन्न भएकाले सरसापटी कारोबार मिलान गर्ने क्रममा आफ्ना पति/बाबुलाई रकम दिएको भन्ने बेहोरा खुलाइ लेखाइ दिएको देखिएको छ,’ विभागले दायर गरेको अभियोगपत्रमा उल्लेख छ, ‘तर, प्रधानले अध्यक्ष हुँदा बिक्री गर्न नपाउने अवस्थाको सेयर अंशबन्डा दिने–लिने कार्यमार्फत बिक्री गरेको देखियो । तर, प्रत्यक्ष रूपले गर्न नहुने कार्य अप्रत्यक्ष रूपले पनि गर्न हुँदैन भन्ने फौजदारी कानुनको मान्य सिद्दान्त भएकोमा त्यसको बर्खिलाप गरी परिवारका सदस्यहरूको नाममा नामसारी गरी सो सेयर बिक्री गरी गराइ सोबाट प्राप्त रकम समेत निजहरूबाट प्राप्त गरी प्रयोग गरेको अवस्था देखिन आयो ।’

प्रधानकी श्रीमती बिमलाले उक्त सेयर बिक्री गरी १८ करोड ५० लाख, छोरा चेतनले सेयर बिक्रीबापत आर्जन गरेको ४ करोड ८ लाख तथा छोरी निभिताले आर्जन गरेको ३ करोड ८० लाखसहित कुल २६ करोड ३९ लाख ७९ हजार रुपैयाँ ज्ञानेन्द्रलालले नै प्राप्त गरेको धितोपत्र बोर्डले गरेको अनुसन्धानबाट देखिएको थियो ।

त्यसो हुँदा सम्पत्ति शुद्धीकरण विभागले प्रधानविरुद्ध सोही रकमलाई बिगो कायम गरेको छ ।

साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (१) बमोजिम बिगोेको दोब्बर जरिबाना र कसुरको मात्रा अनुसार कैद सजायको माग पनि विभागले गरेको छ ।

साथै, कसुरबाट प्राप्त गरी निःसर्ग गरेको पुष्टि भएको, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा १८ को उपदफा (२) बमोजिम अनुसन्धान क्रममा रोक्का राखिएको निम्न सम्पत्ति समेतबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३४ को उपदफा (२) बमोजिम जफत गर्ने माग दाबी लिएर विभाग अदालत गएको छ ।

‘नेपाल हाइड्रो डेभलपर्सको सेयर आफू उक्त कम्पनीको अध्यक्ष रहँदाकै अवस्थामा परिवारका सदस्यलाई अंशबन्डाका माध्यमबाट हक हस्तान्तरण गरी गराइ भित्री सूचनामा रहेको पहुँचको दुरुपयोग गरी गराइ सो आधार मूल्य कम भएको अवस्थामा छोरा र छोरीले खरिद गरी सो सेयर र प्रतिवादी ज्ञानेन्द्रलाल प्रधानबाट हक हस्तान्तरण भई आएको सेयर समेत मूल्य उच्च कायम रहेको अवस्थामा बिक्री गरे गराएको देखिएको छ,’ विभागले भनेको छ ।

प्रधानका श्रीमती, छोरा र छोरीका नाउँबाट उक्त सेयर बिक्री गरी प्राप्त रकम विभिन्न मितिमा प्रधानकै खातामा जम्मा भएको देखिँदा उक्त सेयरको जालसाजीयुक्त कारोबारसँग सम्बन्धित रकमबाट अन्तिम लाभ प्राप्त गर्ने व्यक्ति (अल्टिमेट बेनिफिसियल) प्रधान स्वयं नै रहेको कुरा प्रमाणबाट पुष्टि भइरहेको र आफू अध्यक्ष रहेको कम्पनीको सेयर विभिन्न मितिमा अंशबन्डाको आवरणमा परिवारका मानिसलाई हस्तान्तरण गरी श्रीमती समेत छोराछोरीलाई अंश दिई तहतह गरी कारोबार गरेको देखिएबाट यी प्रतिवादीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क), (ख), (ग) ले निषेधित कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आएको छ,’ विभागले दायर गरेको मुद्दामा छ।

करिब ३० रोपनी जग्गा र २४ करोडको सेयर जफत गर्न मागदाबी

विभागले त्यसरी जालसाजीपूर्ण तरीकाले बेचेको सेयरबापत प्राप्त रकमबाट खरिद गरेको करिब ३० रोपनी जग्गा र विभिन्न कम्पनीको २४ करोड ४ लाख रुपैयाँ बराबर सेयर पनि जफत गर्नुपर्ने मागदाबी मुद्दामा लिएको देखिन्छ ।

प्रधानका नाममा धुलिखेलमा रहेको २९ रोपनी ११ आना २ पैसा जग्गा सोही रकम प्रयोग गरी खरिद गरेको देखिएको विभागको दाबी छ ।

त्यस्तै मोदी इनर्जी लिमिटेडको ७ लाख ५५ हजार कित्ता संस्थापक सेयर तथा सुपर खुदी हाइड्रोपावरको १६ लाख ४९ हजार कित्ता संस्थापक सेयर पनि त्यसरी गरेको गैरकानुनी आर्जनबाट खरिद गरिएकाले त्यो पनि जफत हुने दाबी विभागको छ ।

ती दुई कम्पनीको संस्थापक सेयरको कुल मूल्य १४ करोड ४ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?