
काठमाडौं । नेपाली सांगीतिक भिडियो ‘आमाको ममता’ भारतमा आयोजित १८ औं अयोध्या फिल्म फेस्टिभलको ‘इन्टरनेसनल सर्ट्स, डकुमेन्ट्री, वेभ सिरिज, म्युजिक भिडियो’ विधामा उपविजेता बनेको छ ।
विधान कार्की निर्देशित यो म्युजिक भिडियोले सयभन्दा बढी विदेशी भिडियोसँग प्रतिस्पर्धा गरेको थियो । ‘यो उपलब्धिले हामीलाई अन्तर्राष्ट्रिय मंचमा पनि प्रतिस्पर्धा गर्न सक्ने ऊर्जा दिएको छ’ कार्कीले भने ।
फेस्टिभलमा १०० भन्दा बढी देशका कथानक, छोटा, वृत्तचित्र, वेब-सिरिज, र म्युजिक भिडियो प्रतिस्पर्धामा थिए । भारत, चीन, नेपाल, अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, र बेलायतजस्ता देशका फिल्ममेकर महोत्सवमा सहभागि थिए ।
कार्की निर्देशित उक्त गीतमा रामकृष्ण ढकालको मर्मस्पर्शी स्वर, अर्जुन सुवेदीको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको भिडियोले एक अनाथ बालकको संघर्ष, आमाबुबाको माया, विछोडको पीडा र सफलताको भावनात्मक कथा प्रस्तुत गरेको छ ।
भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमले अभिनय गरेका छन् । छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल, प्रोडक्सन डिजइन दीपेन गौतम र कला निर्देशन मनीषा पोखरेलको छ ।
प्रतिक्रिया 4