+
+

‘अम्लीयपन बढ्दा किसानलाई टिक्न कठिन’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते ११:४२

तराई र शहर वरपर तरकारी खेती हुने गाउँको तुलनामा उच्च पहाडी र हिमाली भेगको माटो उर्वर भेटिन्छ । नार्कले सार्वजनिक गरेको माटोको गुणस्तर सम्बन्धी डाटाबेसले पनि त्यसको पुष्टि गर्छ ।

ललितपुर घुसेलको खेतटारका किसान धनबहादुर थिङ (५५ वर्ष) लाई माटोको उत्पादकत्व घटेको राम्रैसँग महसुस भएको छ । कुलो भत्किएपछि धानखेती हुन छाड्यो । बारीमा तोरी, मकै, गहुँ, जौ जस्ता अन्न लगाउने उनले बीचमा तरकारी खेती पनि गरेका हुन् । तर सोचेजति उब्जाउ भएन । माटो परीक्षण गर्दा अम्लीयपन बढेको भनेर प्राविधिकहरूले बताएका रहेछन् ।

उनलाई २०७२ सालको भूकम्पले जमिन हल्लाएपछि अन्न उब्जाउ घटेको भन्ने लाग्छ । अझ आफ्नै खेतमुनिबाट फास्ट ट्रयाकको सुरुङ खन्ने योजना बनेपछि जमिन थप बिथोलिनेमा उनी चिन्तित छन् । निर्माणाधीन फास्ट ट्रायकको अलि माथिल्लो पाखामा घरगोठ भएका उनी खेतीपातीबाट भविष्य नदेखेर प्लस टु पढेकी छोरीलाई दुबई पठाउने तयारीमा छन् ।

जीवनको ऊर्जाशील दुई दशक माटोमा बिताएका देवीचौरका अर्का किसान सोमनाथ तिमिल्सिना पछिल्ला वर्षहरूमा देखिएको समस्याले खेतीकिसानीमा टिक्नै गाह्रो हुन थालेको अनुभव सुनाउँछन् । लगाएका तरकारीमा एकाएक समस्या आउँदा त्यो खेपको उत्पादनमा त असर पर्छ नै, अर्को खेतीमा पनि जाँगर आउँदैन ।

ज्यामीको लागत, कृषि औजार, बीउबिजन सबै महँगिएकाले खेतीपातीको लागत पछिल्ला वर्षहरूमा बढ्दो छ । झनै उत्पादन घट्दा किसानहरूलाई हुने लाभ दिन प्रतिदिन घट्दो रहेको अनुभव सुनाउँछन्, तिमिल्सिना ।

तरकारी खेतीका लागि राम्रो मानिएको देवीचौरकै लामिडाँडामा धमाधम जग्गा बिक्री भयो । बाहिरका मानिसहरूले जग्गा किनेपछि खेती गर्न छाडे । ‘हामीपछिका पुस्ताले माटोमा खेलेर ज्यान पाल्लान् भन्ने नसोचे हुन्छ’ सोमनाथ भन्छन्, ‘यसरी उब्जाउ घटेको देख्दा हामी पनि टिक्न सकिंदैन कि भन्ने लाग्न थाल्यो ।’

माटोको घट्दो उर्वराशक्तिले शुरूमा किसानलाई असर परे जस्तो देखिए पनि त्यसले मानिसको जीवनयापनलाई नै असर गर्छ । माटोको उर्वराशक्ति घट्दा किसानको लागत बढ्छ । उनीहरूलाई खेती गर्ने जाँगर हराउँछ, उत्पादन घट्छ ।

कृषि वैज्ञानिकहरूका अनुसार, किसानहरूले विभिन्न उपायले खेतीपाती गर्ने हो भने माटोको उर्वराशक्ति जोगाउन सकिन्छ । भूक्षयको रोकथामदेखि माटोमा प्राङ्गारिक पदार्थको नियमित आपूर्ति अनि बालीचक्र फेरेमा माटोको उर्वराशक्तिलाई केही हदसम्म भए पनि जोगाउन सकिन्छ ।

स–साना प्रयासहरूबाट माटोको उर्वराशक्ति कायम राख्न सकिने किसानहरू बताउँछन् । अन्नबाली लगाउने आदतदेखि प्राङ्गारिक पदार्थको प्रयोग अनि कृषि रसायनहरूलाई सकेसम्म न्यूनीकरण गर्ने प्रयास गरेमा माटोको उर्वरा कायम गर्न मद्दत पुग्छ ।

कृषि चुनको प्रयोगले माटोको अम्लीयपना घटाउन मद्दत पुग्छ, साथसाथै बालीचक्र पनि परिवर्तन गर्नुपर्छ । धान, त्यसपछि गहुँ र फेरि मकै लगाउने अभ्यासका कारण अन्नबाली भन्दा पनि बालीनालीका बोटले माटोको खाद्यतत्व बढी सोस्छन् । बालीनालीका अवशेषहरू खेतबारीमा पुग्न पाउँदैनन् ।

घाँसेबालीको कोटिमा पर्ने कोदो माटोको उर्वरा बढाउने बाली पनि मानिन्छ । त्यो आफैंमा पौष्टिक खाद्यान्न पनि हो । फापर, घैया धान जस्ता वैकल्पिक अन्नबालीको खेतीले बालीचक्र बदलिन्छ र माटो रुखो हुन पाउँदैन ।

माटोमा नाइट्रोजनको मात्रा घट्न नदिने र स्थिरीकरण गर्ने बालीहरूलाई कृषि प्राविधिकहरूको शब्दावलीमा ‘लेग्यूमिनस क्रप’ (कोसे बाली) भनिन्छ । कोसेबालीले माटोलाई ओसिलो बनाउन मद्दत गर्छन्, जसका कारण जीवाणु र कीटपतङ्गको सक्रियता बढ्छ ।

ती बालीले वायुमण्डलमा भएको नाइट्रोजन ग्रहण गर्छन् र गिर्खायुक्त लामा जराहरूले माटोको भित्री तहसम्म नाइट्रोजन पु¥याउँछन् । कोसेबालीको जराको गिर्खामा हुने राइजोबियम नामक जीवाणुले हावाबाट नाइट्रोजन स्थिरीकरण गरी माटोमा पु¥याउँछन् ।

कोसेबाली लगायतको खेतीले माटोमा अम्लीय र क्षारीयपनको सन्तुलन कायम हुन्छ । बालीचक्रमा यस्ता बाली समावेश गर्दा किसानहरूले युरिया मलको प्रयोग गर्नुपर्ने आवश्यकता पनि केही घट्छ । कृषि वैज्ञानिकहरू वर्षमा एकपटक खेतबारीमा कोसेबाली लगाउन सुझाव दिन्छन् ।

तराई र शहर वरपर तरकारी खेती हुने गाउँको तुलनामा उच्च पहाडी र हिमाली भेगको माटो उर्वर भेटिन्छ । नार्कले सार्वजनिक गरेको माटोको गुणस्तर सम्बन्धी डाटाबेस (तथ्यांक भण्डार) ले पनि त्यसको पुष्टि गर्छ । रसुवाको गल्ताङ गाउँ त्यसको उदाहरण हो ।

नेपाल र चीनको सीमानजिकै पर्ने सो गाउँमा मानिसहरूले सिमी, आलुदेखि फापर, कोदो लगाउँछन् । पछिल्लो ३÷४ वर्षयता गल्ताङमा बन्दाकोभीको खेती बढ्दो छ । किसानहरूले लेकका भेडीगोठ वरपर पत्करहरू थुपार्छन्, कुहिएपछि खेतबारीमा हाल्छन् ।

लेकका गोठहरूमा रहने चौरीको मल त्यसैगरी प्रयोग हुन्छ । ‘यहाँ न रासायनिक मल आवश्यक छ, न कीटनाशक विषादी नै चाहिन्छ’ गल्ताङका पूर्वशिक्षक पेम्बा तामाङ भन्छन्, ‘गल्ताङको तरकारी बजारमा खोसाखोस हुन्छ ।’

रसुवा पार्वतीकुण्डका एक किसानले मल बनाउन चौरीखर्कमा संकलन गरेको पतिङ्गर ।

माटो विज्ञान अनुसन्धान महाशाखाका प्रमुख डा. श्रीप्रसाद विष्ट मध्यपहाडका भिरालो जमीनमा भूक्षय हुन नदिन कृषि वन प्रणाली (एग्रो फरेष्टी) का उपायहरू अपनाउन सुझाव दिन्छन् । डालेघाँसका रूख लगाउने; अनि बाली लगाउने, तल फेरि डालेघाँसको रूखका लहरहरू व्यवस्थापन गर्दा वर्षायाममा माटो बग्दैन । अर्कोतर्फ माथिबाट पर्ने पानीको वेग रूखहरूमा ठोक्किने भएकाले माटोलाई कम असर गर्छ ।

केही वर्षअघि कोरियाका कृषि प्राविधिकहरू खेतीपातीको दिगोपनाबारे महिलाहरूलाई तालिम दिन ललितपुरको घुसेल पुगेका थिए । रुचि राख्ने किसानहरूको संख्या नपुगेपछि कोटा पूरा गर्न थपिएका विष्णुप्रसाद तिमिल्सिनाले प्राङ्गारिक मल, विषादी विना कीटाणु हटाउने उपाय र बाँझोखेती जस्ता विषय सिक्ने अवसर पाए ।

बिहान उठेदेखि साँझ ओछ्यानमा नपुग्दासम्म विष्णु र गंगा तिमिल्सिनाको हातमा माटो टुटेको हुँदैन । गत १२ असोजमा आएको पहिरो र त्यसले घर भत्काएकोमा खिन्न देखिने उनी खेतीकिसानीबाटै नयाँ घर ठड्याउने आँटमा छन् ।

आफ्नो लयमा खुरुखुरु काम गरिरहेका भेटिने उनीहरूलाई एउटै लयमा खेतीकिसानी गर्न पाए पुग्छ । २/३ वर्षदेखि बाँझोखेती गरिरहेका उनी त्यसलाई थप फैलाउन चाहन्छन् ।

‘माटो जोगाएर खेती गर्ने र उसको स्याहारसुसार पनि गर्ने हो भने खेतीपातीले एकनाश दिंदोरहेछ’ उनी भन्छन्, ‘रासायनिक मल र विषादी प्रयोग गरेर २÷४ किलो बढी उत्पादन होला । तर माटो बिग्रेला भन्ने चिन्ता लाग्छ । तत्कालको देख्नु भन्दा परसम्मको सोच्नु राम्रो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?