
५ पुस, रुकुमपूर्व । रुकुमपूर्वमा अधिकांश गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई सास्ती भएको छ । मोबाइल नेटवर्कले काम नगर्दा भएकाले स्थानीय बासिन्दालाई अत्यावश्यक फोन गर्न पनि डाँडातिर दौडनुपर्ने बाध्यता छ ।
जिल्लाको तीन स्थानीय तहमध्ये सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाको विभिन्न गाउँ बस्तीका स्थानीयवासी टेलिफोन सुविधाबाट बञ्चित छन् । हातहातमा मोबाइल भए पनि टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा सूचना सञ्चारको सुविधाबाट पनि स्थानीयहरू बाहिरै छन् ।
पुथाउत्तरगङ्गा गाउँपालिका–१४ राङ्सीका नागरिकले टाढा रहेका आफन्तसँग मोबाइलबाट कुराकानी गर्न पाइरहेका छैनन् । वडा नम्बर १४ का वडाध्यक्ष द्रवेश बुढामगर वडाका नागरिकलाई इन्टरनेट चलाउन वडा कार्यालय पुग्नुपर्ने अवस्था रहेको बताउँछन् ।
भौगोलिक विकटताले गर्दा अहिलेसम्म नागरिकले टेलिफोनको सुविधा पनि पुर्याउन नसकिएको बताउँछन् वडाध्यक्ष बुढामगर । ‘नागरिकलाई सामाजिक सञ्जालसँग जोड्न म मन्त्रालयसम्म धाइरहेको छु, पहल गरिरहेको छु तर नतिजा दिन सकिएको छैन,’ उनले भने ।
यसैगरी भूमे गाउँपालिका–८ महिबाङमा सञ्चालनमा रहेको नेपाल टेलिकमको सेवा बेलाबेलामा अवरुद्ध हुँदा फोन गर्नलाई डाँडाकाँडा धाउनुपरेको गुनासो गर्छिन् स्थानीय बिपना रोका । ‘कुनै मोबाइलमा त डाँडामा उक्लिए पनि नेटवर्क टिप्दैन’ उनले भनिन्, ‘नेपाल टेलिकमको टावर गाउँमाथिको डाँडामा छ । तर, पनि घाम अस्ताउनसाथ नेटवर्क जान्छ ।’
घाम लाग्दा दिनभर काम गरेपनि बेलुकीपख मोबाइलको नेटवर्क नै नहुने समस्याले यहाँका नागरिकले दुःख पाइरहेका भूमे-८ का वडाअध्यक्ष दिनेश रोकाले बताए । उनका अनुसार राति कोही बिरामी पर्दा या अरु समस्या परेमा एम्बुलेन्स बोलाउन पनि हिंडेरै जानुपर्ने बाध्यता छ ।
‘नेटवर्कको समस्या समाधान गरिदिन भन्दै पटक पटक सम्बन्धित निकायमा जानकारी गरायौँ, तर कुनै पहल भएन,’ उनले गुनासो गरे ।
यस्तै भूमेको १ र ७ वडामा टेलिफोन सेवा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
प्रतिक्रिया 4