
काठमाडौं । एक्सन तथा मल्टिस्टारर फिल्म ‘पीताम्बर’को प्रदर्शन मिति तय भएको छ । कृषा चौलागाईं निर्देशित फिल्म २९ चैतमा देशव्यापी हलमा रिलिज हुने भएको छ ।
निर्माताले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुष्टि गरेका हुन् । पोस्टरमा तीन मुख्य कलाकारलाई स्थान दिइएको छ । दयाहाङ राई, सौगात मल्ल र प्रदीप खडका चित्रित छन् ।
रक्तपातका दृश्यको कारण पोस्टर केही हिंसात्मक देखिन्छ । सौगातले अघिपछि भन्दा आफूलाई यसमा केही शारीरिक रुपान्तरण गरेका छन् । एब्स बनाएका उनको लुक्स सशक्त देखिन्छ । कतिपय दर्शकले पोस्टरलाई हेरेर ग्याङस्टर भन्न सक्छन् ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय छ । विशाल चौलागाईं निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
२९ चैतमै विपिन कार्की स्टारर एक्सन फिल्म ‘कर्मा’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । सौरभ चौधरी निर्देशक रहेको यो फिल्मको छायांकन यतिबेला चलिरहेको छ । एउटै मितिमा दुई एक्सन फिल्म आउने भएपछि यसले एक्सन कथामा रुचि राख्ने दर्शकलाई उत्साहित तुल्याउन सक्छ ।
सोही छेकोमा सनी देओल स्टारर एक्सन फिल्म ‘जात’ र प्रभास स्टारर ‘द राजा साब’ पनि आउने अपेक्षा छ । यही मितिमा रमी मलिक स्टारर हलिउड एक्सन थ्रीलर ‘द अमेच्युर’, उमा थरम्यानको ‘किङ्स अफ किङ्स’ पनि आउने तयारी छ ।
प्रतिक्रिया 4