पूरक चिकित्सा र वैकल्पिक चिकित्सा स्वास्थ्य सेवा प्रणालीमा प्रयोग गरिने दुई फरक अवधारणा हुन् । यी दुवै परम्परागत चिकित्सा प्रणाली (जस्तै- आधुनिक एलोप्याथिक चिकित्सा) भन्दा बाहिरका उपचार विधि हुन् ।
तर तिनको प्रयोग र उद्देश्यमा ठूलो भिन्नता छ । पूरक चिकित्सा त्यस्तो उपचार विधि हो, जुन परम्परागत चिकित्सा प्रणालीसँगै प्रयोग गरिन्छ । यसको उद्देश्य परम्परागत उपचारको प्रभावकारिता बढाउनु हो । उदाहरणका लागि, कम्मर दुखाइमा औषधिको साथमा अकुपञ्चर प्रयोग गर्ने, क्यान्सर उपचारको समयमा किमोथेरापीसँगै ध्यान अभ्यास गर्ने वा तनाव कम गर्न योगा गर्नु पूरक चिकित्सा हुन् । पूरक चिकित्साले परम्परागत चिकित्सा प्रणालीलाई साथ दिन्छ, जसले बिरामीको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ ।
वैकल्पिक चिकित्सा भनेको त्यस्तो विधि हो, जसले परम्परागत चिकित्सा प्रणालीलाई पूर्णरूपमा प्रतिस्थापन गर्छ । यसमा परम्परागत औषधिको सट्टा मात्र वैकल्पिक विधि प्रयोग गरिन्छ । उदाहरणका लागि, कुनै रोगको उपचारमा औषधि नखाएर केवल होमियोप्याथी विधि प्रयोग गर्नु वा आधुनिक उपचार प्रणालीको ठाउँमा आयुर्वेदिक औषधि वा प्राकृतिक चिकित्सा मात्र प्रयोग गर्नु । वैकल्पिक चिकित्सा प्रायः परम्परागत उपचारलाई अस्वीकार गर्ने दृष्टिकोणबाट प्रेरित हुन्छ ।
अकुपञ्चर आधुनिक चिकित्सा प्रणालीसँगै प्रयोग गर्दा उपचारको प्रभावकारिता बढाउन सहयोग गर्ने विधि हो । यो कुनै पनि आधुनिक उपचारको प्रतिस्थापन होइन, बरु यसको पूरक हो । अकुपञ्चरले शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न, रोगको लक्षण व्यवस्थापन गर्न र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ । आधुनिक चिकित्सा प्रणाली औषधि वा सर्जरीका माध्यमबाट रोगको लक्षणमाथि केन्द्रित रहन्छ भने अकुपञ्चरले शरीरको ऊर्जा प्रवाह सन्तुलनमा राखेर उपचारमा सहयोग पुर्याउँछ ।
अकुपञ्चरले दुखाइ व्यवस्थापनमा विशेष भूमिका खेल्छ । यो कम्मर दुखाइ, घुँडाको समस्या, माइग्रेन, र अन्य दीर्घकालीन दुखाइ कम गर्न प्रभावकारी हुन्छ । क्यान्सर उपचारको समयमा किमोथेरापीबाट हुने थकान, वाकवाकी वा कमजोरीजस्ता समस्यामा अकुपञ्चरले सकारात्मक प्रभाव देखाएको छ । मानसिक स्वास्थ्यमा पनि यसको महत्त्वपूर्ण योगदान छ, जहाँ यसले तनाव, चिन्ता, डिप्रेसन र अनिद्राको समस्यामा सुधार ल्याउन मद्दत गर्छ । यो दीर्घकालीन औषधिहरूको साइड इफेक्ट कम गर्न, रोगप्रतिरोधात्मक क्षमता बढाउन र मधुमेह तथा मोटोपनजस्ता जीवनशैलीसम्बन्धी रोगको व्यवस्थापनमा प्रभावकारी मानिन्छ ।
नेपालमा अकुपञ्चरलाई धेरैजसोले वैकल्पिक चिकित्साका रूपमा बुझ्ने गरेका छन् । सरकारी नीति र कतिपय स्वास्थ्यकर्मीहरूले पनि यसलाई वैकल्पिक चिकित्सा भनेर प्रचार गरेका छन् । उदाहरणका लागि, सरकारी तहमा रहेको एउटा विभाग नै वैकल्पिक चिकित्सा विभाग नामाकरण गरिएको छ । यसले अकुपञ्चरजस्तो प्रभावकारी विधिलाई सही रूपमा प्रयोगमा ल्याउन अवरोध खडा गरेको छ । वास्तवमा अकुपञ्चर वैकल्पिक होइन, पूरक चिकित्सा हो । यसको उद्देश्य आधुनिक उपचारलाई प्रतिस्थापन गर्नु नभई थप प्रभावकारी बनाउन सहयोग गर्नु हो ।
हालै सम्पन्न अकुपञ्चर दिवसको एक कार्यक्रममा एक वरिष्ठ न्युरोलोजिस्टले भनेका थिए- ‘अकुपञ्चर वैकल्पिक चिकित्सा होइन, यो पूरक चिकित्सा हो ।’ हामी यसलाई आधुनिक उपचारसँगै बिरामीको लाभका लागि प्रयोग गरिरहेका छौं ।’ यस्तो दृष्टिकोणले अकुपञ्चरको सही स्थान र महत्वलाई उजागर गर्छ ।
नेपालमा अकुपञ्चर सेवा विस्तारको क्रम सुरु भइसकेको छ । अकुपञ्चरलाई नै आधार बनाएर निजी स्तरबाट अस्पताल खुलेका छन् । देशका केही प्रतिष्ठित अस्पतालहरूमा अकुपञ्चर सेवा सञ्चालन भइरहेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन र अन्नपूर्ण न्युरो अस्पताल, काठमाडौंमा अकुपञ्चर सेवा उपलब्ध छ । सिभिल अस्पताल, काठमाडौंले पनि यो सेवा विस्तार गर्ने निर्णय लिइसकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अन्य निजी अस्पतालहरूले पनि अकुपञ्चर सेवा सञ्चालनको योजना बनाएका छन् ।
नेपालजस्तो देशमा जहाँ आधुनिक चिकित्सा प्रणालीलाई प्राथमिकता दिने चलन छ, अकुपञ्चरलाई पूरक चिकित्सा प्रणालीका रूपमा स्वीकार गर्न सके यसले सार्वजनिक स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउन सक्छ । परम्परागत उपचारसँग यसको तालमेलले बिरामीको स्वास्थ्य सुधार, उपचारको सफलता र समग्र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । अकुपञ्चरलाई सही रूपमा बुझ्न र प्रयोग गर्न सकिएमा यसले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
प्रतिक्रिया 4