
५ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म पनि निर्वाचन आयोगमा अद्यावधिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार जसपा नेपालको अद्यावधिकका लागि आवश्यक कागजात मगाएर अध्ययन भइरहेको छ ।
निर्वाचन आयोग कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाकी सहसचिव इन्दिरा दहाल (भट्टराई) जसपा नेपालको अद्यावधिक हुने क्रममा रहेको बताउँछिन् ।
‘उक्त पार्टीको अद्यावधिक हुने क्रममै छ । डकुमेन्ट हेर्नुपर्ने थियो । केही थप मगाएर पनि अध्ययन गर्नुपर्ने छ । यो काम भइरहेको छ’, सहसचिव दहाललले अनलाइनखबरसँग भनिन् ।
जसपा नेपालले गत जेठ अन्तिम साता जनकपुरमा महाधिवेशन सम्पन्न गरेको थियो । राजनीतिक दल सम्बन्धी ऐन अनुसार महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन आयोगलाई विवरण अद्यावधिकका लागि उपलब्ध गराउनुपर्ने हुन्छ ।
निर्वाचन आयोगले यसी अद्यावधिकका लागि विवरण प्राप्त भएको तीन महिनाभित्र अद्यावधिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । तर, यसअनुसार जसपा नेपालको अद्यावधिक भएको छैन । डकुमेन्टहरु थप आवश्यक भएको र त्यसको अध्ययन गर्नमा समय लागेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।
जसपा नेपाल विभाजनको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । अदालतबाट जसपा नेपालको महाधिवेशनको वैधताका सम्बन्धमा केही सुझाव आउने हो कि भन्नेमा पनि निर्वाचन आयोगका अधिकारीहरू छन् ।
अशोक राइको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेर जनता समाजवादी पार्टी बनेको छ । दल विभाजन सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको टुंगो लागेको छैन ।
जसपा नेपाललाई विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । तर, प्रदेश, जिल्ला र स्थानीय तहका प्रतिनिधि तथा नेता÷कार्यकर्ताले कुन पार्टी रोज्ने भनेर निर्णय लिन पाएका छैनन् ।
यो विषय अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन भएकाले उक्त महाधिवेशनको वैधताको विषयमा केही प्रश्नहरू रहेको आयोगकै अधिकारीहरू बताउँछन् ।
निर्वाचन आयोगका अनुसार जसपा नेपालका प्रतिनिधिलाई आयोगमै बेलाएर थप छलफल गर्ने तयारी भएको छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिने अधिकारीहरूको विश्वास छ ।
प्रतिक्रिया 4