
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै पार्टीभित्र नेताहरूलाई सुनेको आधारमा मात्र बीपीको नाम जोडेर कुरा नगर्न आग्रह गरे ।
थापाले बीपीको नाम र सन्दर्भ सन्दर्भका आफैंले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । ‘तर आफूलाई लागेको कुरा बीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने अभ्यास बढेको छ,’ उनले असन्तुष्ट व्यक्त गर्दै भने ।
नेता कार्यकर्ताले उम्कने सजिलो बाटो खोज्न बीपीको नाम लिने गरेको आरोप लगाउँदै महामन्त्री थापाले भने, ‘बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न ।’
पार्टीभित्र मन नपरेका कैयौं विषयमा आफ्ना मत राख्दा बीपीलाई जोडेर अनुकूलताको कुरा गर्ने गरेको उनको आरोप थियो ।
‘पार्टीभित्र कयौँ विषयहरू छन् । कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला’ उनले भने, ‘यो कुरा ठिक भएन भन्दै गर्दा बीपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ ।’
महामन्त्री थापाले खासगरी धर्मका सन्दर्भमा बीपीलाई जोडेर आफ्नो कुरा बोल्ने अभ्यास बढी रहेको उनले बताए । ‘विपीको पार्टी भएर बीपीको बाटो छोड्ने ?’ भन्दै धर्मको विषयमा आफ्नो रुचिअनुसार कुरा गर्ने गरेको उनको गुनासो थियो ।
महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए। उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको प्रस्ट पारे ।
प्रतिक्रिया 4