
काठमाडौं । पछिल्लो दुई महिनायता एउटा गीत युट्युबको विश्वव्यापी ट्रेन्डिङको पहिलो स्थानमा छ । सबै खालका सामाजिक सञ्जालमा भाइरल हुँदै आएको यो गीतले युट्युबमा सबै रेकर्ड तोडिरहेको छ ।
यसरी इतिहास रचिरहेको गीतको के-पप गर्ल समूह ‘ब्ल्याकपिंक’की रोज र अमेरिकी र्यापर ब्रुनो मार्सको गीत ‘एपीटी’ । गत १८ अक्टोबरमा रिलिज भएको यो गीत सबैभन्दा छिटो ६० करोड भ्युज प्राप्त गर्ने पहिलो के-पप म्युजिक भिडियो समेत बनेको छ ।
विश्वका धेरै देशमा जस्तै नेपालमा पनि के-पपको क्रेज लगातार बढ्दो छ । कोरियाली गीतमा टिकटक बनाउने, नाच्ने क्रम धेरै छ । नेपालमा के-ड्रामा र के-पपको बारेमा किशोरकिशोरी र युवामाझ व्यापक चर्चा हुन थालेको छ । बीटीएस, ब्ल्याकपिंकलगायत के-पप ब्यान्डहरूले लोकप्रियता प्राप्त गरिरहेका छन् ।
यसैक्रममा ‘एपीटी’ गीतले नेपालमा पनि चर्चा पाइरहेको छ । नेपालमा यो गीत हाल १४ औं नम्बरमा युट्युब ट्रेन्डिङ भइरहेको छ । यसले पनि नेपालमा के-पपप्रति बढेको आकर्षणलाई देखाउँछ । यसअघि बीटीएसको सन् २०२० मा रिलिज भएको ‘डाइनामाइट’ र ब्ल्याकपिंकका गीतहरू ‘हाउ यु लाइक ड्याट’ (२०२०) र ‘डीडीयू-डीडीयू डीडीयू’ (२०१८) पनि विश्वका अन्य देशमा जस्तै नेपालमा पनि निकै रुचाइएका थिए ।
अब अहिले चर्चामा रहेको गीत ‘एपीटी’बारे केही चर्चा गरौं । ‘एटीपी’ कोरियाली शब्द “아파트” को रोमानीकृत संक्षिप्त रूप हो, जसलाई अङ्ग्रेजीमा ‘अपाटेउ’ भनिन्छ । यो एक कोरियाली पेय खेलको नाम हो, जुन कोरियाका अपार्टमेन्टहरुमा खेल्ने गरिन्छ ।
एपीटी खेल खेल्न एक व्यक्तिले ‘अपाटेउ’ भन्नुपर्छ र त्यसपछि सबैले आफ्नो हात सर्कलको बीचमा राख्नुपर्छ । कोही एक अंक भनिरहेको हुन्छ, जसको हात तल छ, उसले त्यस अंकमा पुग्न आफ्नो हात माथि राख्नुपर्छ । जसले अन्तिम पटक हात माथि राख्छ, उसले एक शट लिनुपर्छ ।
यो हिट गीत रोजको नयाँ एकल एल्बममा संगृहीत छ, जसको शीर्षक ‘रोजी’ छ । यसरी एक खेललाई गीतमा परिणत गरेको रोज र ब्रुनो मार्सको ‘एपीटी’लाई युट्बुबको ग्लोबल ट्रेन्डिङ चार्टजस्तो उपलब्धिमा पुग्न केवल ५९ दिन लाग्यो । गीतमा समावेश गरिएका ‘क्याची’ शब्द र बिटले धेरैलाई लठ्यायो ।
यसअघि बेलायती गायक एड शीरनको ‘सेप अफ यु’ लाई उछिन्दै ‘एपीटी’ गीत युट्युब इतिहासको शिखरमा पुग्ने पाँचौं म्युजिक भिडियो बनेको छ । रोजको यो गीत युट्युबमा सबैभन्दा छिटो ६० करोड भ्युज पाउने के-पप गीत र ६०० मिलियन भ्युज प्राप्त गर्ने पहिलो महिला के-पप गीत पनि बनेको छ । साथै रोजले बिलबोर्ड-२०० चार्टमा शीर्ष ३ मा प्रवेश गर्ने पहिलो के-पप महिला एकल गायिकाको कीर्तिमान समेत रचेकी छन् ।
प्रतिक्रिया 4