
काठमाडौं । सामाजिक संजाल टिकटकले केही नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई प्लाटफर्मको डिजिटल सुरक्षा दूतको रुपमा चयन गरेको छ । यसैसाता आयोजित एक छलफल कार्यक्रममा उनीहरूलाई ‘सेफ्टी दूत’को रुपमा चिनाइयो ।
कन्टेन्ट क्रिएटरहरू ओसिन सिटौला, पराक्रम राणा, सुशान्त प्रधान, मञ्जिता मानन्धर, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डे, प्रियंका कार्की, अनिश तामाङ, इष्टु कार्की, विपिन स्थापित, सारिका न्यौपाने, महिमा अधिकारी, सावित्रा भण्डारी, रेहान श्रेष्ठ, रोनिश्मा श्रेष्ठ र दीपक सुन्दासलाई दूतको रुपमा चिनाइएको हो ।
जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य डिजिटल स्पेस प्रवर्धन गर्ने निरन्तरको प्रयास अनुरुप नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरु गरेको टिकटकले जनाएको छ ।
ती कन्टेन्ट क्रिएटर र टिकटकका अधिकारीहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए ।
उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे ।
यस पहलमार्फत टिकटकले अनलाइन सुरक्षाको बारेमा शक्तिशाली सन्देश प्रदान गर्न, प्रयोगकर्तालाई सुरक्षित र जिम्मेवारीपूर्वक डिजिटल संसारमा नेभिगेट गर्न आवश्यक ज्ञानको साथ सशक्त बनाउन टिकटक सिर्जनाकर्ता, सेलेब्रिटी र प्रमुख विचार निर्मातासँग साझेदारी गर्ने जनाएको छ । त्यसअघि नीति निर्मातासँग पनि टिकटकले छलफल कार्यक्रम चलाएको थियो ।
प्रतिक्रिया 4