+
+
सर्वोच्चमा चार महिनादेखि बन्दीप्रत्यक्षीकरणको मुद्दा :

हेर्न नमिल्ने भएर मुद्दा सरिरहन्छ, बेलाबेलामा पक्षले पनि सुनुवाइ रोक्छ

कुनै व्यक्तिलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित मौलिक अधिकारको रक्षाका लागि दिइने गम्भीर प्रकृतिको ‘बन्दीप्रत्यक्षीकरणको निवेदन’ अघि बढाउन न्यायप्रशासन मात्रै होइन, निवेदक पक्ष समेत तदारुक छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १८:०६

५ पुस, काठमाडौं । भ्रष्टाचार ठहर भएको रकम र त्यसको दोब्बर जरिवाना बापत ६ अर्ब १६ करोड रूपैया धरौटी बुझाउन नसक्ने भएपछि कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत आत्मसमर्पण गरेर असार २०८१ मा कारागारमा गए । लगत्तै विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिए ।

कर फर्स्योट आयोगमा गरेको कामकारबाहीका कारण भ्रष्टाचारमा दोषी ठहर भएर निलम्बित सहसचिव एवं आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माकै बाटो पछ्याउँदै कारागार गए र सर्वोच्च अदालतमा पुनरावेदन दिए । दुवैजना कारागारमा किन गए भने धरौटी र जमानत बुझाउन नसक्नेहरूले थुनामा बसेर मात्रै माथिल्लो अदालतमा पुनरावेदन गर्न पाइन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १३७ मा भएको व्यवस्था अनुसार तल्लो अदालतबाट धरौटीमा छुटेका तर पछि दोषी ठहर भएका व्यक्तिले मुद्दाको पुनरावेदन गर्दा धरौटी बुझाउनुपर्छ ।

फौजदारी कसुरमा दोषी ठहर भएको कुनैपनि व्यक्ति थुनाबाहिर रहेर माथिल्लो अदालतमा जानुप¥यो भने कैदबापत दैनिक ३ सय रूपैयाँ अनि बिगो र जरिवाना बापतको रकम धरौटी राखेपछि मात्रै पुनरावेदन दिन पाइन्छ ।

धरौटी बुझाउन असम्भव हुने भएपछि कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत ३२ जेठ र चुडामणि शर्मा २३ साउन, २०८१ मा थुनामा गए । त्यसलगत्तै विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन हाले ।

अनि आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरे । उनीहरूको तर्क थियो, ‘हामीलाई विशेष अदालतले ९ वर्षमात्रै कैद सजाय तोकेको हो, त्यसैले थुनाबाहिर रहेर मुद्दाको पुनरावेदन गर्न पाऊँ ।’

१० वर्षभन्दा कम कैद सजाय तोकिएको कसुरदार थुनाबाहिर रहेरै माथिल्लो अदालतमा जान पाउँछ, तर त्यसका लागि धरौटी र जमानत बापतको रकम भने बुझाउनुपर्छ । महत र शर्माले आफूहरूलाई ९ वर्षमात्रै कैद सजाय तोकिएकाले थुनामा राख्न नहुने तर्क गरेका थिए ।

कुनैपनि व्यक्तिले आफूलाई गैरकानुनी थुनामा राखेको दाबीसहित रिहा गर्ने आदेश माग गरेर अदालतमा दिने निवेदनलाई ‘बन्दीप्रत्यक्षीकरणको निवेदन’ भनिन्छ । संकटकालीन अवस्थामा नागरिकको मौलिक हक हनन हुँदा समेत बन्दीप्रत्यक्षीकरणको कानुनी हक खोज्ने उपचार निलम्बित हुँदैन ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशंकर निरौला बन्दीप्रत्यक्षीकरणको मुद्दालाई न्यायालयले अति महत्व दिएर उच्च प्राथमिकतामा राख्ने गरेको बताउँछन् ।

लोकतान्त्रिक मुलुकमा कुनै नागरिकले ‘आफू गैरकानुनी रूपमा थुनिएँ’ भन्ने दाबी संवेदनशील हुने भएकाले नागरिक स्वतन्त्रतासँग जोडिएका यस्ता मुद्दाहरूलाई अदालतले उच्च प्राथमिकता दिने अभ्यास छ ।

तीन दिन लगातार बिदा हुँदा समेत बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि आफ्नो संयन्त्र खुला राख्नुपर्ने प्रावधान छ । ‘निवेदकले गैरकानुनी थुनामा रहेको वा आफू थुनामा रहेको प्रक्रियामा चित्त नबुझेमा अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिने व्यवस्था छ,’ सर्वोच्च बार अध्यक्ष निरौला भन्छन्, ‘त्यस्तो अवस्थामा अदालतले थुनामुक्त गर्ने धरातल छ कि छैन भनेर हेर्छ र सक्दो छिटो उपयुक्त आदेश गर्छ ।’

सर्वोच्च अदालतले सुरुमा शर्मा र महतको निवेदनलाई प्रारम्भिक सुनुवाई ग¥यो । अनि संयुक्त इजलासले उनीहरू जोडिएको भ्रष्टाचारको मुद्दा समेत साथै राखेर बहस सुनेको थियो । त्यसपछि भने पटकपटक कागजात झिकाउने आदेश भएको छ तर, बन्दीप्रत्यक्षीकरणको निवेदन समेत टुंगिएको छैन । करिब साढे ४ महिनादेखि संवेदनशील निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

कर फस्र्यौट आयोगको मुद्दा सर्वोच्च अदालतका कैयौं न्यायाधीशहरूले हेर्न नमिल्ने अवस्थामा छ । बन्दीप्रत्यक्षीकरणको निवेदन भ्रष्टाचारको पुनरावेदन समेत जोडिएपछि लामो समयदेखि मुद्दा न्यायाधीशहरूले ‘हेर्न नमिल्ने’ अवस्थाबाट गुज्रिएको छ ।

पेशी तोकिएको १४ पटक ‘हेर्न नमिल्ने’ भएर मुद्दा स्थगित भएको देखिन्छ । पक्ष/विपक्षसँग कुनै न कुनै रूपमा न्यायाधीश जोडिएमा मुद्दा हेर्न नमिल्ने हुन्छ । त्यतिमात्रै होइन, गत १२ भदौ र १५ असोजपछि मुद्दाको पेशी नै दुई/तीन सातासम्म लम्बिएको छ ।

लुम्बध्वज महत र चुडामणि शर्माको मुद्दा बारम्बार सर्नुमा अदालत प्रशासनको मात्रै भूमिका छैन, उनीहरूका निवेदकहरूले समेत मुद्दा स्थगित गर्न आग्रह गरिरहेको विवरण अभिलेखबाट देखिन्छ । दुई पटक निवेदकहरूले नै मुद्दा स्थगित गरेको देखिन्छ ।

आफ्नो मान्छे गैरकानुनी थुनामा रहेको र जतिसक्दो छिटो थुनामुक्त गर्नुपर्ने आदेश माग राखेर अदालत गएकाहरूले नै सुनुवाई हुने मुद्दा स्थगित गर्दा उठाएको मागप्रतिको संवेदनशीलतामा नै प्रश्न उठ्ने गर्छ ।

हामीले कुनै मुद्दाको उल्लेख नगरी सर्वोच्च अदालत बारका अध्यक्ष निरौलालाई बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई बारम्बार स्थगित हुनुको असरबारे सोधेका छौं । उनले काबूबाहिरको परिस्थिति बाहेक बन्दीप्रत्यक्षीकरणको निवेदन महिनौसम्म लम्बिने अवस्था नै नहुने बताए ।

‘अदालतहरूले बन्दीप्रत्यक्षीकरणको निवेदनलाई पहिलो प्राथमिकता दिन्छन् । त्यसैले पालो नआउने प्रश्नै हुँदैन, तत्काल टुंगिइहाल्छ’ उनी भन्छन्, ‘मुद्दाको पक्षले पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा स्थगित गर्न चाहँदैन । विशेष अवस्था वा काबूबाहिरको परिस्थितिमा स्थगित मात्रै गर्ने चलन छ ।’

सिद्धान्ततः बन्दीप्रत्यक्षीकरणको निवेदनलाई सम्बन्धित व्यक्तिको थुनाको बैधतामात्रै परीक्षण गरिन्छ, सम्बन्धित व्यक्ति थुना वा कैद हुँदाको सम्बन्धित मुद्दाको विषयवस्तुमा प्रवेश गरिंदैन । सर्वोच्च अदालतले भने महत र शर्मासँग सम्बन्धित भ्रष्टाचार मुद्दा पनि एकैसाथ राखेर हेर्ने आदेश गर्‍यो ।

एकपटक त मुद्दाको पुरै सुनुवाई सकेर सर्वोच्चले ‘अर्को मुद्दा पनि साथै राख्न’ आदेश दिएको थियो । अब उक्त मुद्दामाथि आइतबार सर्वोच्च अदालतले सुनुवाई गर्नेछ ।

विशेष अदालतले २५ जेठ, २०८० कर फस्र्यौट आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रूपैयाँ भ्रष्टाचार भएको भन्दै गर्दै तत्कालीन अध्यक्ष महत, सदस्य उमेश ढकाल र सदस्य सचिव रहेका सहसचिव चुडामणि शर्मालाई एकसाथ दोषी ठहर ग¥यो । विशेष अदालतले तीन जना पदाधिकारीलाई ९ वर्ष कैद हुने फैसला गरेको थियो ।

कर फस्र्यौट आयोगका पदाधिकारीहरू आफैंले तयार पारेको कार्यविधिको समेत पालना नगरी मनोगत ढंगले कर छुट दिएको निष्कर्ष निकाल्दै विशेष अदालतले कर छुटको निर्णयलाई भ्रष्टाचार भनी व्याख्या गरेको थियो ।

कात्तिक २०८० मा मा विशेष अदालतले कर फस्र्यौट आयोगमा भएको भ्रष्टाचारसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसमा संलग्नहरूले ‘राज्यले सुम्पेको विश्वासको दुरूपयोग गरेको’ भनी व्याख्या गरेको थियो ।

विशेष अदालतले उनीहरूलाई नभएको अधिकार प्रयोग गरेको र पदको दुरूपयोग गरी राजस्व चुहावट गरेकोमा दोषी ठहर्‍याएको थियो । फैसलाको पूर्णपाठमा भनिएको थियो, ‘तीनै जना प्रतिवादीहरूले आफूलाई नभएको अधिकार प्रयोग गरेको र सार्वजनिक पदको लाभ उठाई वा दुरूपयोग गरी भारी कर छुट वा मिनाहा दिएको भन्ने कसूर ठहर भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?