
६ पुस, काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
ओहोदाको प्रमाणपत्र पेस गरेपछिको भेटघाटमा आवासीय राजदूत रूपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले जर्मनीका राष्ट्रपतिसमक्ष दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धतासहितको सन्देशबारे जानकारी गराएका थिए ।
संघीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको जिज्ञासामा राजदूत रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका नेपाली राजदूतावास बर्लिनले जनाएको छ ।
उक्त भेटमा जर्मनीका राष्ट्रपतिले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसै वर्ष १७ जुन २०२४ मा भएको भेटको सन्दर्भबारे चर्चा गर्दै दुई देशबीचको वर्तमान सम्बन्धबारे समेत प्रशंसा गरेका थिए । साथै जर्मनीका राष्ट्रपतिले नेपालका राष्ट्रपति पौडेलले नेपाल भ्रमणको निम्तो गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
ओहोदाको प्रमाणपत्र पेश गर्ने समारोहमा जर्मनीका उच्च पदश्च कर्मचारीको समेत उपस्थिति थियो । उक्त समारोहमा राजदूत रूपाखेतीकी पत्नी डा. इन्दिरा पौड्याल र नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव चुमान सिंह के.सी.को समेत उपस्थिति थियो ।
प्रतिक्रिया 4