+
+
विचार :

प्राकृतिक खेती अपनाऊँ: माटो बचाऊँ

हालै सम्पन्न भएको ‘माटो संरक्षण: उपाय, अनुगमन र व्यवस्थापन’ नारा सहितको विश्व माटो दिवसले माटो स्वास्थ्यको महत्वलाई उजागर गर्‍यो। यसले विशेषज्ञ र सरोकारवालाहरूलाई माटो संरक्षणका लागि तत्काल कदम उठाउन प्रेरित गरेतापनि उचित कदम उठाउन ढिला भइसकेको छ।

शिवशंकर शर्मा शिवशंकर शर्मा
२०८१ पुष ७ गते ८:१६

माटो हाम्रो जीवनको आधार हो। यो केवल हाम्रो पाइतालामुनि रहेको धूलो होइन; यसले हाम्रो खाद्य प्रणालीलाई धान्ने, मानवीय सांस्कृतिक पहिचानलाई जोगाउने र समग्र पारिस्थितिकीय तन्त्रलाई सन्तुलित राख्ने महत्त्वपूर्ण भूमिका खेल्छ। माटोलाई नवीकरणीय स्रोत मानिन्छ र आदर्श अवस्थाहरूमा, केवल एक सेन्टिमिटर माटो बनाउन २०० देखि ४०० वर्ष लाग्छ। तर, यो अमूल्य सम्पत्ति अहिले संकटमा छ।

विश्वव्यापी रूपमा, सघन खेती, रासायनिक मलको अत्यधिक प्रयोग र कमजोर व्यवस्थापन अभ्यासहरूका कारण ३३ प्रतिशत माटो पहिले नै नाश भइसकेको छ। दिगो अभ्यास विनाको खेती र बेवास्ताले यसको गुणस्तर खस्कँदै गएको छ, जसले हाम्रो भविष्यलाई खतरामा पारेको छ।

नेपालको पहाडी भूभाग, भारी वर्षा र कमजोर पारिस्थितिकीय प्रणालीले माटो क्षयलाई तीव्र बनाएको छ। प्रत्येक वर्ष १२ देखि ५० टन माटो प्रतिहेक्टरसम्म बग्ने तथ्यले समस्या कति गम्भीर छ भन्ने देखाउँछ। केही स्थानमा यो दर ५४ टन प्रतिहेक्टरसम्म पुगेको छ, जसले कृषि उत्पादनशीलतालाई खतरामा पार्दै गएको छ। यसले बाली उत्पादनमा ०.२ टन प्रति हेक्टरले गिरावट ल्याएको छ। रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले समस्या झन् गम्भीर बनाएको छ। नेपालको ४० प्रतिशत कृषि योग्य जमिन अहिले अम्लीय भइसकेको छ, जसले खाद्य उत्पादनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

नेपाल सरकारले कृषि क्षेत्रमा ठूलो बजेट छुट्याए पनि यसको झन्डै ५० प्रतिशत भाग रासायनिक मलमा अनुदानका लागि खर्च हुने गरेको छ। यसको उचित प्रयोग नहुँदा क्षतिको गति झन् बढाएको छ। विषादीको प्रयोगलाई रोक्न पनि प्रभावकारी अनुगमन प्रणालीको अभावले समस्या थप जटिल बनाएको छ। यदि हामीले तुरुन्तै कदम उठाएनौं भने, उजाड जमिन, घट्दो कृषि उत्पादन र भोकमरीले हाम्रो भविष्यलाई अँध्यारो बनाउनेछ। सन्देश स्पष्ट छ: हामीले यस महत्त्वपूर्ण स्रोतको रक्षा गर्न अब कार्य गर्नुपर्छ। यस्ता समस्याका समाधानको रूपमा, प्राकृतिक खेती एक प्रभावकारी उपायको रूपमा देखा परेको छ।

 प्राकृतिक कृषि: एक समाधानको उपाय

प्राकृतिक कृषि भनेको माटोको स्वास्थ्यलाई जोगाएर खेती गर्ने एक विधि हो। यो खेतीको तरिका परम्परागत जस्तो देखिए पनि, यसको मुख्य उद्देश्य वर्तमान कृषि प्रणालीका समस्याहरू समाधान गर्नु हो। अत्यधिक रासायनिक मल र कीटनाशकको प्रयोगलाई प्रतिस्थापन गर्दै, यो प्रणालीले माटोको प्राकृतिक उर्वरता, बनावट र पानी धारण क्षमतामा उल्लेखनीय सुधार ल्याउँछ।

प्राकृतिक खेतीका मुख्य अभ्यासहरूमा शून्य वा न्यूनतम खनजोत, माटोलाई छोप्न जैविक छापो प्रयोग, घरायसी जैविक पदार्थबाट बनाइने जैविक झोलको उपयोग र स्थानीय रूपमा उपलब्ध रैथाने सूक्ष्मजीवहरूको उपयोग जस्ता विधिहरू समावेश छन्। यी विधिहरूले केवल माटोको संरचनालाई मात्र सुधार गर्दैनन्, बाली उत्पादन बढाउन, उत्पादन लागत घटाउन र जलवायु परिवर्तनका कारण हुने असरहरू सामना गर्न सक्ने क्षमतालाई पनि मजबुत बनाउँछन्। यसले माटोको प्राकृतिक शक्ति बढाउँदै वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ।

नेपालमा करिब ३ हजार भन्दा बढी किसानले यो २-३ वर्षदेखि यो विधि अपनाइरहेका  छन्। उनीहरूको अनुभवमा, माटोको चिस्यान र उर्वरता सुधारिएको छ भने उत्पादन लागत पनि घटेको छ। प्राकृतिक खेती गर्दा माटोमा जैविक पदार्थको मात्रा केही वर्षमै १-३ प्रतिशतले बढेको पाइएको छ। यसले खेतीको उत्पादन बढाउनका साथै जलवायु परिवर्तनले निम्त्याउने असरसँग जुध्न मद्दत गर्छ।

यस विधिले खेती गर्दा माटो क्षय ५० प्रतिशतले कम गरेको प्रमाणित भइसकेको छ। जैविक पदार्थको पुनः चक्रण गर्दा माटोको जैविक पदार्थ र संरचनामा पनि सुधार ल्याएको प्राकृतिक खेती गर्ने किसानले अनुभव साट्ने गरेका छन्। माटोमा जैविक मल जस्तो कम्पोस्टको प्रयोग, हरियो मल खेती र बाली चक्र प्रणाली अपनाएर पोषक तत्वको चक्रलाई पुनःस्थापित गर्न सकिन्छ। यसले न केवल माटोको उर्वरता कायम राख्छ, तर सिंचाइको अभाव र सुख्खा परिस्थितिमा पनि यसको लचिलोपना बढाउँछ।

तर, प्राकृतिक खेतीलाई व्यापक बनाउँदै यसको फाइदा पुऱ्याउनका लागि अझै धेरै गर्न बाँकी छ। किसानलाई यसका फाइदाबारे शिक्षित गर्न, तालिम दिन र यस विधिलाई प्रोत्साहन गर्ने ठोस नीति निर्माण गर्न आवश्यकता छ। नेपाल जस्तो देशका लागि, जहाँ सीमित स्रोत–साधनमा आधारित साना किसानको ठूलो संख्याले कृषि गर्छन्, प्राकृतिक खेतीले आत्मनिर्भरता र लागत-प्रभावकारी विकल्प प्रदान गर्न सक्छ। आयातित रसायनमा निर्भरता घटाउँदै, यसले आर्थिक स्थायित्वका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

माटो केवल प्राकृतिक स्रोत होइन, यो हाम्रो सम्पदा र भविष्यको लागि हाम्रो जिम्मेवारी पनि हो। यदि हामीले प्राकृतिक खेतीलाई अपनायौं भने– माटोको उर्वराशक्ति जोगाउन, उत्पादन सुधार गर्न र दिगो भविष्य निर्माण गर्न सक्नेछौं।

हामी सबै मिलेर माटोलाई बचाऔं। यो केवल पर्यावरणीय कार्य होइन, यो जीवन र भविष्यको लगानी हो।

(प्राकृतिक खेती प्रवर्धक शर्मा गुड नेवर्स इन्टरनेसनल नेपाल र एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा कृषि विज्ञको रूपमा कार्यरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?