
२ साउन, काठमाडौं । अब एमालेभित्र-बाहिरका सबैखाले राजनीतिवेत्ताका लागि यो कुनै अलमलको विषय रहेन । कुनै बेला एउटै राजनीतिक समूहबाट सहकार्य बढाएका केपी शर्मा ओली र विद्या भण्डारीबीच पछिल्ला महिनामा सौहार्दता छैन ।
दुईपल्ट राष्ट्रपति बनेर एमालेमा फेरि सक्रिय हुन चाहेकी भण्डारीलाई अध्यक्ष ओली कुनै पनि हालतमा रोक्न चाहन्छन् भन्ने पुष्टि हिजो सकिएको सचिवालय बैठक, अनि आज शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले छर्लंगै पारिदियो ।
कतै ओली र भण्डारी बाहिर वादप्रतिवादमा ओर्ले पनि भित्र-भित्र मिलेका पो छन् कि भने लामै समय आशंकामा बसिरहेको पार्टी पंक्ति अब भने उनीहरूको पछिल्लो राजनीतिक ‘स्टाटस’ लाई लिएर पूर्णतया स्पष्ट भएको छ । मदन भण्डारी फाउन्डेसनको पछिल्लो १४ असारको कार्यक्रम, अनि पार्टीका यी दुई बैठकलाई लिएर बाँडिएका नेता कार्यकर्ताले यसको छनक दिइसकेका छन् ।
फाउन्डेसनको मदन भण्डारी हीरक जयन्ती मनाउने तयारी मूलत: जबजको थप व्याख्या र प्रतिरक्षा गर्दै पार्टी नेतृत्वमा आउने पूर्वराष्ट्रपति भण्डारीको चाहनावश सुरू भएको थियो । त्यहाँ उनले करिब समानान्तर केन्द्रीय कमिटीकै शैलीमा खडा गरेको आयोजक कमिटीले यति बेला एमालभित्र सबैको ध्यान तानेको छ ।
त्यसैले पोलिटब्युरो बैठक शुक्रबार सुरू गर्ने क्रममा अध्यक्ष ओलीले भण्डारीलाई एमालेको ढोकैमा रोक्ने रणनीति बनाएको संकेत गरे । अघिल्लो वर्ष ०८१ जेठमै नवीकरण भइसकेको भण्डारीको पार्टी सदस्यता अहिलेसम्म नवीकरण नै नभएको ओलीको दाबी छ ।
२० भदौदेखि गोदावरीमा सुरु हुने दोस्रो विधान महाधिवेशनमा प्रवेश पाउन भण्डारीलाई प्राविधिक रुपमा कठिन पर्ने देखिन्छ । अर्को वर्ष हुने राष्ट्रिय महाधिवेशनमा चुनिन नयाँ प्रतिनिधि आउने भए पनि विधान महाधिवेशनमा भने यसअघिकै प्रतिनिधि सामेल हुने एमाले व्यवस्था छ ।
ठिक यसै बेला ओलीले पार्टी बैठकमा आफूलाई थाहा भएसम्म भण्डारीको पार्टी सदस्यता नै नवीकरण नभइसकेको जिकिर गरेका छन् । पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले शुक्रबार यस्तो बताउँदा नेताहरू छक्क परेको स्रोत भन्छ ।
पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी सदस्यता नवीकरणबारे आफूबाट नेतृत्वसँग परामर्श नगरी अघि बढ्दा त्रुटि हुन पुगेको संकेत गर्दागर्दै महासचिव शंकर पोखरेलले बीचमै रोकिदिएको बैठक स्रोतले खुलायो । खासमा त्यहाँ कुनै त्रुटि नै भएको भने थिएन तर नेताहरुको जबर्जस्त दबाबमा अधिकारी परेको बुझ्न सकिन्थ्यो ।
‘यो तपाईंको आत्मालोचना गर्ने ठाउँ होइन, अगाडि बढ्नुस्,’ महासचिव पोखरेललाई उद्धृत गर्दै नेताहरूले सुनाए ।
यसअघि भण्डारीले सन्चारमाध्यम र सार्वजनिक फोरमहरूमा बोल्दै आफ्नो सदस्यता नवीकरणका लागि यसअघि नै प्रक्रियामा गइसकेको, गत वर्ष नवीकरण भइसकेको सदस्यता यस वर्ष पनि प्रक्रियामा रहेको भनेकी थिइन् ।
आज ओलीले व्यक्त गरेको विचार भने पार्टीमा यसअघि व्याप्त बुझाईभन्दा बिलकुल भिन्न कोणबाट आएको छ ।
ओलीले भने कसैले उचालेका भरमा भण्डारी सक्रिय राजनीतमिा आउन नहुने बताए ।
‘कसैले उचालेका आधारमा उहाँ सकृय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ,’ ओलीलाई उद्धृत गर्दै प्रचार विभागले जानकारी दियो, ‘पार्टीको सदस्यता नविकरण भएको छैन। सदस्यताको निर्णय कमिटीले गर्छ ।’
ओलीले भण्डारीको सक्रिय राजनीति चाहनाबारे मिडियाबाट थाहा पाएको भन्दै उनले संवैधानिक व्यवस्थाको सम्मान गर्नुपर्ने बताएका थिए ।
ओलीले अहिले एमालेविरुद्ध सबैतिरबाट हमला संगठित भएको भन्दै यसै बेलामा किन भण्डारी आउनुपर्यो भनी प्रश्नसमेत उठाएको एमाले स्रोत दाबी गर्छ । ओलीले पार्टीभित्र अराजकता बढ्दो क्रममा रहेकाले यो रोकिनुपर्ने तर्कसमेत गरेका थिए ।
एक वर्षयता सत्ता चलाइरहेका ओलीका बारेमा पार्टीबाहिर मात्रै नभई भित्र समेत आलोचना बढ्दो छ । यसै बेला भण्डारीले जनताको बहुदलीय जनवादको ठिक विचार पार्टीले अँगाले पनि कार्यान्वयनमा प्रशस्तै कमजोरी रहेको विचार राखिरहेकी छन् । उनले यसअघि अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै आफूलाई एमाले अध्यक्षमा आउन कसैले रोक्न नसक्ने, र त्यो सम्भावना टरिनसकेको बताएकी थिइन् ।
तर ओली यो विन्दुमा आफ्नी पूर्वसहकर्मी भण्डारीलाई हर हालतमा रोक्न लागिपरेको प्रष्ट देख्न सकिन्छ ।
यसका लागि ओली केही कदमहरू चाल्ने सुरमा छन् ।
एक, ओली भण्डारीलाई भदौको विधान महाधिवेशनमै रोक्न चाहन्छन् : भण्डारीले यसअघि सदस्यता नवीकरण गरेकै तथ्यलाई मान्यता दिए पनि दसौं महाधिवेशनअघि प्रतिनिधि नरहेकाले उनी विधान महाधिवेशनमा प्रवेश गर्न योग्य नरहेको एमाले संस्थापनको बुझाई छ । भण्डारी पक्षका नेताहरूले भने यसको विरोध गरेका छन् ।
दुई, उनी भण्डारीको पार्टी सदस्यताको अवस्था नै विवादित रहेको बताउन थालेका छन् : ओलीले भण्डारी पूर्वराष्ट्रपति भइसकेपछि स्वत: दलीय विचारभन्दा माथि रहेको भन्दै अब यस विषयलाई सदस्यतापत्र नवीकरणमार्फत् कालान्तरसम्मका लागि गलत नजिर बसाल्न नहुने भनिरहेका छन् । पछिल्ला अन्तर्वार्ता र टिप्पणीमा ओलीले यही विचार राखेका छन् । तर भण्डारीले भने यसअघि नै मदन भण्डारी फाउन्डेशनको सभागृहमा आयोजित कार्यक्रममै आफूले सदस्यता नवीकरण गरिसकेको स्पष्ट घोषणा गरिसकेकी छन् ।
तीन, पूर्वराष्ट्रपतिको संवैधानिक हैसियतलाई दलमा पुन: प्रवेश गराएर किन बिरुप बनाउने भन्ने बहस चलाउन चाहन्छन् : सामान्यतया: राष्ट्रको सर्वोच्च नागरिकका रुपमा संविधानको परिपालना गराउने ठाउँमा बसिकेको व्यक्ति दलमा फर्कने कि नफर्कने भन्ने प्रश्न आफैंमा गम्भीर हो । संविधानले रोक नलगाए पनि व्यक्तिको नैतिक निर्णयसँग सम्बन्धित विषयबारे ओली र भण्डारी यति बेला दुई ध्रुवमा छन् । ओलीले भण्डारीलाई रोक्न खोज्नुका पछाडि संवैधानिक मर्यादाको विषय जति देखाउन खोजिए पनि स्थापित हुन भने कठिन छ । विगतमा यी दुई नेता मिलेर संविधानको सीमा भत्काउन खोजेका विषय संसद विघटनदेखि संवैधानिक नियुक्तिसम्म जगजाहेर छन् । भलै नियुक्तिबारे अदालतको आदेश यति बेला पनि आम बहसमै छ ।
चार, विधानमा उमेर हद र कार्यकालबारे बहसलाई निप्टारा लगाउँदै उनी नै आगामी वर्षहरूमा समेत पार्टी अध्यक्ष बनिरहन चाहन्छन् । ओलीले यसअघि नै एमाले कास्कीको अधिवेशनमा, अनि विभिन्न प्रसंगमा अझै १५–२० वर्ष पार्टी प्रमुख बन्न चाहेको सन्देश दिइसकेका छन् । यसअघि एमाले विधानले कुनै पनि व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्वको अनुमति दिएको थिएन, अनि ७० वर्षे उमेरहद पनि व्यवस्था थियो । पछिल्लोपल्ट पनि विधानमा संशोधन गराउँदै ओलीले आफ्नो तेस्रो कार्यकालका लागि पनि मार्गप्रशस्त गरिसकेका छन् ।
त्यसैलाई देखाउँदै पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पछि विधानमा उमेर हद लगायतका व्यवस्थाबारे पार्टीले गरेका निर्णयभन्दा प्रतिकुल हुनेगरी दस्तावेज छापिएको दाबी गर्दै त्यो सच्चिनुपर्ने, त्यसो गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका थिए ।
‘पार्टीमा बृहत छलफलबाट जुन विधि पारित भयो, त्यो नै पार्टीको निर्णय हो,’ थापाले भनेका थिए, ‘त्यसलाई फेरफार गर्ने कहाँबाट काम भयो, अनुसन्धान होस् ।’
अध्यक्ष ओ्लीले जवाफ दिने क्रममा विधान प्रकाशन गर्दा कुनै जालझेल नभएको भन्दै शब्द संयम अपनाउन चेतावनी दिए ।
‘कुनै जालझेल भएको छैन, त्यस्तो तोडमोड व्याख्या हुनुभएन,’ ओलीले विधान प्रकाशनबारे थापालाई सम्झाए, ‘कभर मात्रै फरक पर्यो भन्ने कुरा पनि आयो । कभरै फरक पर्दा त किन बबन्डर गर्नुपर्यो । भित्रको कन्टेन्ट मुख्य कुरा हो ।’
ओलीले भण्डारीलाई रोक्नका लागि यी चारवटै उपाय लगाए पनि विधान महाधिवेशन हुँदै राष्ट्रिय महाधिवेशनसम्म पुग्दा स्थिति धेरै बदलिने देखिन्छ । भण्डारीले नेतृत्वकै दाबी गरेबमोजिम सफल हुने नहुने विषय भोलिका दिनमा देखिने भए पनि पार्टी राजनीतिमा उनलाई ओलीले रोक्ने कोसिस भने असम्भवप्राय: देखिन्छ ।
प्रतिक्रिया 4