+
+
Shares
विचार :

पुनः मान्यवर पत्रुत्रयकै कुरा

मैले के बिगारेको छु र म शीर्ष पद त्यागूँ ? तथापि मतको बहुसङ्ख्या बोलोस्, म पद छाड्दिन्छु, एकाध घुर्कीले म यत्रो पनि छाड्दिनँ । यसो भन्दै अर्का मान्यवर पत्रुले दम्भी गर्जन गरे ।

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
२०८२ कात्तिक १५ गते २२:१२

मैले ‘पत्रु’ भन्दा सत्ताराजनीतिका आजका खसोखास पत्रुहरू र निज हजुरहरूका अन्धभक्तहरूले चित्त दुखाएछन् । सुलसुले मार्फ्त यो कुरा सुन्नमा आयो । असलमा यसमा चित्त दुखाउनुपर्ने कुरा केही छैन । जो आज पत्रु छ, त्यो सदैव पत्रु थियो भन्ने मेरो आशय किमार्थ होइन । कोही आज पत्रु हुनलाई अघिअघि सद्दे, ताजा र तेजिलो भएकै हुनुपर्छ । 

हो, यी मान्यवर पत्रु त्रय पनि थिए । कालक्रममा सत्ताभोगको नशाले लठ्ठ भई विवेक, विचार र नैतिकतामा यी मान्यवर पतीत भए । र, यिनको यही पतीत औतारलाई ‘पत्रु’ भन्न म विवश भएँ । यी मान्यवर पत्रुत्रयलाई ‘पत्रु’ शिवाय अन्य कुनै संज्ञाले चिनाउन असम्भव छ ।

०००

आयो कुरा अब ख्वामित्व र दासताको ।

ख्वामित्व नशा हो । र, त्यसैगरी नशा हो दासता पनि । कुनै पनि सत्तालिप्त ख्वामितमा म उच्च, म श्रेष्ठ, म सर्वज्ञानी तसर्थ आर्यघाटसम्मै म र मैमात्रको दम्भ हुन्छ । कुनै पनि दासमा म तुच्छ, म हेय, म बुद्धु तसर्थ मेरो जीवनयात्रा आर्यघाटसम्मै यस्ते भन्ने हीन भावना हुन्छ । दासहरूका शिर टेकेर उभिएको ख्वामित अहंकारले मैमत्त तसर्थ अन्धमतिग्रस्त हुन्छ । शिरमाथि ख्वामितलाई बोकेर उभिएको दास लघुताभाषग्रस्त तसर्थ स्वतन्त्रचेत शून्य हुन्छ । 

कुनै पनि ख्वामित दासमा स्वतन्त्र चेतनाको भू्रणधरी देखी सहँदैन, त्यसैले ऊ दासलाई झनै स्वतन्त्र चतेनाशून्य बनाइराख्न नित्य चेष्टाशील रहन्छ । ख्वामितको संरक्षण र कृपादृष्टिरहित जीवनको कल्पना गर्दा कुनै पनि पराश्रित दास डरले थुरथुर काम्छ । यो कटु यथार्थ सत्ताराजनीतिको डबलीमा अहिले झन् नाङ्गै र उदाङ्गै उजागर भएको छ ।

कसरी ?

लोकका स्वतन्त्रता एवम् लोकतन्त्रप्रेमी जनको आशा थियो- मौलिक जेन्जीको तुफानी आन्दोलनको प्रभावले र जेन्जीको भष्मासुर संस्करणको विध्वंशको दबाबले आलोपालो सत्ताको तर मार्न पल्केका दलका शीर्ष लाठेहरूले केही न केही जरूर चेत्लान् । दुःखको कुरो, एक पित्को चेतेको देखिएन । 

बरु सदाझैँ अहिले पनि यी मान्यवर पत्रुत्रय षड्यन्त्रको सिद्धान्तको शरण परे । कल्पित बाह्य षड्यन्त्रलाई यिनले आफ्ना दुष्कर्म छाकछोप गर्ने ढाल बनाए । र, शुरु गरे यिनले सत्तामा आफ्नै दुर्मति र दुश्कर्मले थुपारेको फोहोरको डङ्गुरमाथि आफूलाई चोखो देखाउने जाली तर्कको उही बासी रागरटना ।

लोकको आशा यो पनि थियो- मिति गुज्रिएका र कसैगरी नसुध्रिने यी मान्यवर पत्रुत्रयका भक्तजनले यो मौका छोपेर यिनको दासताबाट मुक्त हुन केही न केही चेष्टा गर्लान् । तर यी हरिपले पनि खासै चेष्टा गरेनन् । स्वाभिमानशून्य यी भक्तजनले त बरु कविको भाषामा आफूलाई यसरी पो प्रस्तुत गरेः

ख्वामित हजुरको म त दास पो हुँ

स्वतन्त्र बन्न कहाँ योग्य म छु ?

यो भक्तिभजन जप्दै यी आत्महीन दासहरू आफ्ना ख्वामितको कठैबराको चित्र खिच्दै निजहजुरको पदलिप्साका जरामा उकेरा लाउन थाले ।

तीनै पत्रु मान्यवरले सदाझैं नगरिने त्याग जति पनि गर्ने वाचा गरे । ओलीआविष्कृत ठोरीका रामले नसुनून् आदरणीय पाठकगण, यी मान्यवर पत्रुत्रयले गर्नसक्ने एकमात्र त्याग हो— मूत्रत्याग !

कसरी ?

यिनले करुणामयी लबजमा भने— कठै ! जेनजी आन्दोलनले झोसेको आगोले ख्वामितको बास जलेको छ । ख्वामितको गाँस बेठेगान भएको छ । र, ख्वामितको सुरक्षा धरापमा परेको छ ।

प्रातःस्मरणीय ख्वामितमाथि यस्तो महाविपत्ति आइलाग्दा निजहजुरलाई ‘सत्ता त्याग गर, पाखा लाग, भाग’ भन्नु कति असंवेदनशील वचन ? कति क्रूर व्यवहार ? यो त पुजनीय ख्वामितका चित्तको आलो चोटमा नूनचुक लाउने व्यवहार पो हो । जो यस्तो व्यवहार गर्छन्, ती भयङ्कर पापी हुन् ।

०००

यसबीच पार्टीभित्र कुनाकानीमा केही हस्तक्षेपकारी झिनामसिना स्वर सुनिए । जस्तो कि ‘नेतृत्वको पुस्तान्तरण’, ‘अविलम्ब महाधिवेशन’, ‘शीघ्र पद हस्तान्तरण’, ‘स्वेच्छिक सन्यास’, ‘माने निवेदनले, नमाने गर्धनेले’, आदि । कुनाकानीमा कताकती यस्तो पनि सुनियो- बासी अनुहार अघि लाएर चुनावमा गए परिणाम के होला ? परिणाम हदै कष्टकर हुने कुरा म खोई कनु मुखले भनूँ ? 

चुनावी बाकसमा भोटको वर्षा होइन, टाउकामा ढुङ्गाको घनघोेर वर्षा हुने खतरा ज्वलन्त छ । तसर्थ नेताश्री, जेनजीको वचन र पिटानबाट चेतौँ, कठोर आत्म–समीक्षा गरौँ र समयको माग अनुसार यथायोग्य भूमिका खेलौँ । आन्दोलनकारी जनका तीरतुल्य वचन र लौहहस्तले पुनः नपिटिन दुर्मति र दुष्कर्मको अनिष्टकर बाटोबाट पाखा लागौँ ।

यी यावत् निवेदन र ध्वाँसलाई भुलाउन, झुलाउन, गलाउन र गाईको फाँचोमा किर्नोझैं पार्टीसत्ता र राज्यसत्तामा टाँसिइरहन मान्यवर पत्रुत्रयले आ–आफ्नै ढङ्गले अनेक दाउपेज शुरु गरे । निर्घात कुटाइका चोटको उपचार गरेर म तगडा नहोउन्जेल तँ ‘काब’ अर्थात् ‘कार्यबाहक’ गरिखा । यसो भन्दै एक मान्यवर पत्रुले आफ्ना एक परम भक्तलाई अलि दिनलाई कुर्सी सुम्पे । 

मैले के बिगारेको छु र म शीर्ष पद त्यागूँ ? तथापि मतको बहुसङ्ख्या बोलोस्, म पद छाड्दिन्छु, एकाध घुर्कीले म यत्रो पनि छाड्दिनँ । यसो भन्दै अर्का मान्यवर पत्रुले दम्भी गर्जन गरे । ल भैगो, अध्यक्ष पदबाट खुत्रुक्क तल ओर्लेर आजका मितिले म संयोजक भएँ । पार्टीको महासभाले जे ठहर गर्ला, आखिर देखा जायेगा । यासो भन्दै अर्का पत्रु मान्यवरले कुटिल चातुर्ययुक्त क्रीडा आरम्भ गरे ।

तीनै पत्रु मान्यवरले सदाझैं नगरिने त्याग जति पनि गर्ने वाचा गरे । ओलीआविष्कृत ठोरीका रामले नसुनून् आदरणीय पाठकगण, यी मान्यवर पत्रुत्रयले गर्नसक्ने एकमात्र त्याग हो— मूत्रत्याग !

०००

जम्मैलाई उस्तै देख्ने ? सम्यक् दृष्टिले गुणभेद र मात्राभेद नछुट्याउने ? गुनासोयुक्त यो हुङ्कार एक होइन तीनै जना पत्रु मान्यवरको हो । यो हुङ्कार मान्यवर पत्रु स्वयम्का र निजहजुरहरूका भक्तगणका मुखारविन्दबाट अविरल प्रकट भइरहेछ । यो हुङ्कारको प्रतिवादमा पत्रुत्रयलाई सविनय सोध्न मन लाग्छ- मान्यवर, गत अठाह्र–बीस वर्षमा आलोपालो गरी सत्ताभोग गर्ने को को थिए ?

‘दले’, ‘गणे’ भन्दै पश्चगामी मण्डलेहरू गल्ली, चोक र चौतारी एवम् खोँच, पाखा र देउरालीमा दलीय व्यवस्था र गणतन्त्रविरुद्ध शिर ठाडा पारेर अहोरात्र विषाक्त गर्जन गरिरहेछन् । तिनलाई हाकाहाकी यस्तो गर्जन गर्ने परिस्थिति बनाइदिएको सत्तावासी ककसको कुबुद्धि र कुकर्मले हो ?

जेनजी आन्दोलनले ‘मुर्दावाद’ भनेको नतावादका सत्तावासी सृष्टिकर्ता को को हुन् ?

जेनजी आन्दोलनले ‘नाश होस्’ भनेको भ्रष्टाचार गर्ने–गराउने सत्तावासी को को हुन् ?

जेनजी आन्दोलनले कुशासनका कर्ताहरू ‘मुर्दावाद’ भनेर सत्तावासी ककसलाई इङ्गित गरेको हो ?

मान्यवर पत्रु नेतात्रय सेनाद्वारा सुरक्षाका नाउँमा पक्राउमा परी, मोबाइल खोसिएर, बेपत्ताको अवस्थामा फौजी अखाडाको छिँडीमा थुनिनुको नपेथ्यमा सत्तावासी ककसका कर्तुतको भूमिका छ ?

लोकले प्रत्युत्तरमा शासकीय वृत्तका यी याबत् दृष्कर्महरू विदेशी षड्यन्त्रकै नतिजा हुन् भन्ने काइते वाणी सुन्नु त नपर्ला कि मान्यवर पत्रुत्रय ?

०००

 मान्यवर पत्रुत्रयको अर्को गुनासोयुक्त हुङ्कार पनि गगनका गुन्जिँदै छ । यो गुनासो भन्छ- दूर अतीतमा काराबासको कत्रो कहर काटियो ? गुप्तवासको कत्रो कष्ट झेलियो ? प्रवासको कत्रो निसास खपियो । कतिकति पटक विकराल काल आफ्नो छेवै भएर गयो । त्यो पनि भोगियो । त्यो गरिमामय अतीतको हिसाबै नगरी अहिले जथाभावी बात लाउने ? गद्दी छाड भनेर बलात् घोक्र्याउन खोज्ने ?

प्रत्युत्तरमा लोकले भन्ला मान्यवर पत्रुत्रय ! दूर अतीतमा गरिएको त्याग सत्ताराजनीतिमा आजन्म चक्रवृद्धि ब्याज भोग गर्नका लागि हो र ?

दूर अतीतमा गरिएको त्याग सदैव पार्टी र सत्ताका शीर्ष आसन ओघटेर इतिहासको बाटो छेक्नका लागि हो र ?

दूर अतीतमा गरिएको त्याग यस्तै अगणित त्यागको योगफलका रूपमा प्राप्त लोकतन्त्र र गणतन्त्रलाई बद्नाम, दिशाहीन र निस्तेज तुल्याउनका लागि हो र ?

दूर अतीतमा गरिएको त्याग सत्ताका शीर्ष आसनमा लम्पसार परेर ब्रह्मनालसम्मै पुग्नका लागि हो र ?

०००

जेनजी आन्दोलनको हुङ्कार जतिजति मत्थर हुँदो छ, आन्दोलनको आघातले नूर गिरेका मान्यवर पत्रुत्रयको चुरिफुरी त्यनि नै बढ्दो छ । कति खुला र कति गोप्य रूपमा मान्यवर पत्रुत्रय आफ्नो महिमामण्डन, जयगान र देवत्वकरणको माहोल निर्माण गर्न मरिमेटेर लागिपरेका छन् । आफ्ना वरिपरि दासतुल्य भक्तगणको झुन्ड छ । झुन्डका दासलाई एकान्तमा एकएक गरी दर्शन दिई ललिपपको स्वाद चखाइँदै छ । ख्वामित र दासको गोप्य वार्तालापको शुङ्खलाको संक्षिप्त झाँकी यस्तो छः

ख्वामित- ल, तँलाई चुनावी टिकट भो ।

दास- हवस् ख्वामित् ।

ख्वामित- ल, तँलाई चुनाव खर्च पाँच करोड भो ।

दास- हवस् ख्वामित् ।

ख्वामित- ल, तँलाई मन्त्री पद भो ।

दास- हस् ख्वामित् ।

ख्वामित- ल, तँलाई राजदूत पद भो ।

दास- हस् ख्वामित् ।

ख्वामित- ल, तँलाई कुनै आयोगको प्रमुख भो ।

दास- हस् ख्वामित् ।

ख्वामित- ल तँलाई ढोके भो, तँलाई हुक्के भो, तँलाई बैठके भो ।

दास- हस् ख्वामित ।

दास- हस् ख्वामित ।

दास- हस् ख्वामित ।

एवम् रीतले आफ्ना सकल दासरूपी भक्तहरूलाई आश्वासनको ललीपप देखाउँदै मान्यवर पत्रुत्रय निजहरूबाट आफ्नो अखण्ड स्तुतिगान गराइरहेछन् । भक्तहरू पवनपुत्रको भाकामा भक्तिभजन जपरिहेछन्- हाम्रा ख्वामित नेतृत्वको गद्दामा निर्विकल्प विकल्प हुन् । हाम्रा ख्वामित प्रचण्ड प्रतापी भूपति सरह हुन् । हाम्रा ख्वामित हिजो पाटीसत्ताको सर्वोच्च गद्दामा थिए, आज पाटीसत्ताको सर्वोच्च गद्दामा छन्, भोलि पार्टीसत्ताको गद्दामा छन् । यो चूडान्त सत्यको खण्डन गर्ने कसका बाउको पिताम ?

यी भक्तहरूको दासवत् भजन समवेत स्वरमा गगनमण्डलमा यसरी गुन्जिरहेछः

प्रभुकै पछि छौँ हामी रैती जम्मै

बोक्छौँ प्रभुलाई आर्यघाटसम्मै ।

यी दासतुल्य भक्तहरूका भजनको पगरी गुथेर अब मान्यवर पत्रुत्रयले लोकलाई सुनाउलान्- मलाई त कत्ति इच्छा थिएन । तर के गर्नु, क्रान्तिकारी कार्यकर्तागणले नेतत्वको जिम्मेवारीबाट विश्राममा जान दिए पो !

०००

हालै जे भयो, मलाई लाग्छ त्यो त जेनजी आन्दोलनको कास्टिङ मात्रै हो । जेनजी समूह वा अरु कसैबाट निकट भविष्यमा हुङ्कारमय आन्दोलनको वास्तविक मञ्चन हुने नै छ । जब त्यो दिन आउँछ, बूढो गोरुले तरुनी गाई ओघटेझैँ पार्टीसत्ताका सर्वोच्च पद ओघटी बसेका मान्यवर पत्रुत्रयको नियति के होला ? 

कसैद्वारा कोही कुटियोस् भन्नुमा परपीडक कामना ध्वनित हुनसक्छ । तर के लाग्छ, रामधुलाइ नगरी पार्टीसत्ता नछाड्ने मान्यवर पत्रुत्रयलाई समयले निकट भविष्यमा रामधुलाई गरेरै छाड्नेछ ।

०००

गोपाल योन्जनको गीतको एउटा हरफ भन्छ- लासमाथि पनि माया बाँचिरहेको हुन्छ । तर जतिसुकै माया भए पनि मृत्युपछि प्रियजनको शव पुजेर राखिँदैन, हत्तपत्त सद्गत गरी सेलाइन्छ । नसेलाए शव सढ्छ र व्याधि फैलिन्छ । राजनीतिमा पनि गरिने यसै हो । मान्यवर पत्रुत्रयले सुनून्, सुनून् र सुनून् ।

लेखक
खगेन्द्र संग्रौला

संग्रौला प्रगतिशील साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?