काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५-३ गोलअन्तरको जित हासिल गरेको छ ।
बेटिसको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे भने रुनी बार्डगी र लामियन यमालले १-१ गोल गरे । बेटिसका एन्टनी, डियगो लोरेन्टे र कुको हर्नान्डेजले १-१ गोल गरे ।
खेलमा अग्रता बेटिसले नै लिएको थियो । छैटौं मिनेटमा एन्टनीले गोल गर्दै अग्रता दिलाएका थिए । ११औं मिनेटमा फेरानले बराबरी गोल गरे भने त्यसको दुई मिनेटमै अर्को गोल गरेपछि बार्सिलोनालाई अग्रतामा ल्याए ।
३१औं मिनेटमा रुनीले गोल गर्दै बार्सिलोनाको अग्रता अझ बढाए । ४०औं मिनेटमा फेरानले ह्याट्रिक गरेपछि बार्सिलोना पहिलो हाफमै ४-१ ले अगाडि रह्यो ।
दोस्रो हाफको ५९औं मिनेटमा लामियन यमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ५-१ को अग्रतामा पुर्याए ।
८५औं मिनेटमा लोरेन्टेले बेटिसका लागि गोल फर्काए भने ९०औं मिनेटमा कुकोले पेनाल्टीमार्फत गोल गर्दै गोलअन्तर घटाए ।
जितपछि शीर्षस्थानको बार्सिलोनाको १६ खेलमा ४० अंक भएको छ । बेटिस २४ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4