काठमाडौं । मेम्फिस डिपाए र एर्लिन हालान्डको ह्याट्रिकपछि विश्वकप छनोटमा नेदरल्याण्ड्स र नर्वेले शानदार जित हात पारेका छन् ।
युरोपेली छनोटअन्तर्गत समूह जीको खेलमा नेदरल्याण्ड्ले टर्कीलाई ६-१ को फराकिलो अन्तरले हरयो । टोलीका लागि लगातार गोल गर्दै आएका डिपाएले ह्याट्रिक गरे ।
डिपाएले खेलको १६औं, ३८औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै डेभ क्लासेनले पहिलो मिनेटमै गोल गरेका थिए । गुस टिलले ८०औं र डोनयल मालेनले ९०औं मिनेटमा गोल थपे ।
टर्कीका लागि सेनगिज अन्डरले इन्जुरी टाइममा एक गोल फर्काए । ४४औं मिनेटमै काग्लर सोयन्जचुले रातो कार्ड पाएपछि टर्की दश खेलाडीमा सिमिति भएको थियो ।
चौथो जितपछि समूह जीमा ६ खेलबाट १३ अंक जोड्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा उक्लेको छ । यसअघि शीर्ष स्थानमा रहेको टर्की भने हारपछि तेस्रो स्थानमा झरेको छ । समान खेलबाट टर्कीको ११ अंक छ ।
जिब्राल्टरलाई ५-१ ले पराजित गरेको नर्वेको पनि १३ अंक नै छ र दोस्रो स्थानमा छ । गोल अन्तरमा डच टोली अघि रहेको हो ।
नर्वेलाई चौथो जित दिलाउने क्रममा हालान्डले २७औं,३९औं मिनेट र इन्जुरी टायममा गोल गरे । यस्तै क्रिस्टिन थोर्सटेभले २३औं र एलेक्जान्डर सोरलोथले ५९औं मिनेटमा गोल गरे ।
लगातार ६ खेल हारेको जिब्राल्टर अंकविहीन हुँदै पुछारमा छ । यस समूहको अर्को खेलमा मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेलेका छन् । मोन्टेनेगो ८ अंकसहित चौथो र लात्भिया ५ अंकसहित पाँचौ स्थानमा छन् ।
प्रतिक्रिया 4