
२५ भदौ, काठमाडौं । मच्छिन्द्रबहालको सम्मुखमा रहेको एउटा गल्लीभित्र आफ्नै घरमा मुकुट सिँगार्न भ्याइनभ्याइ छ ८३ वर्षीय तेजबहादुर चित्रकारलाई ।
उनले थाहा पाएसम्म ५ पुस्ता भयो हलचोकबाट इन्द्र जात्रामा आउने आकाश भैरव, चण्डी कुमार र चण्डी कुमारीको मुकुट सिँगार्न थालेको पनि । अहिले पनि कुसे औंसीको भोलिपल्टदेखि ११ दिनपछि आउने एकादशीको दिनसम्म उनको पूरा दिन त्यही मुकुट सिँगार्दै बित्ने गर्छ ।
यो मुकुट हलचोकको आकाश भैरव गुठीका गुठीयारहरुले ल्याइदिने गर्छन् । चित्रकारका अनुसार इन्द्रजात्राको मूल दिनमा हलचोकबाट पनि आकाश भैरवको रुपमा हातमा तरबार लिएर जात्रा आउने गर्छ ।
चित्रकारका अनुसार उनले सिँगार्ने गरेको ३ वटा मुकुट हरेक वर्ष कुसे औंसीको भोलिपल्टदेखि एकादशीको दिनसम्म लगाएर सिँगारिन्छ । यो सिँगार्ने काममा चित्रकार एक्लै खटिन्छन् ।
चित्रकारका अनुसार अहिलेको पुस्ताले मुकुट सिँगार्ने काम बिर्सिन लागेको भन्दै नातिलाई यो श्रृंगारको काम सिकाउने गरेका छन् । यी ३ मुकुट हरेक वर्ष सिँगार्ने गरिन्छ भने हरेक १२ वर्षमा मुकुट नै परिवर्तन गर्ने चलन छ ।
प्रतिक्रिया 4