
११ असोज, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति बनाइएको पुष्टि गरे ।
उनले अनलाइनखबरसँग भने, ‘एसएसपीको नेतृत्वमा एसपी कृष्ण कोइराला, डीएसपी रबिन कार्की, निरीक्षक ईश्वर कार्की र सई घनश्याम उप्रेती सदस्य रहेको समिति बनाइएको छ ।’
समितिलाई प्रकरणमा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ । गत मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका कुमार बुढाथोकीलाई सफाइ दिएको थियो ।
अभियोग दाबी नपुग्ने फैसला गर्दा न्यायाधीश निरौलाले आरोपी नेपाली नागरिक भएको पुष्टि हुन नसकेको जिकिर गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ पुसमा सर्लाहीका बुढाथोकीलाई पक्राउ गरेको थियो । घटनाको मुद्दा काठमाडौं प्रहरीमार्फत चलाइएकाले सीआईबीले आरोपीलाई त्यहीँ बुझाएको थियो ।
प्रतिक्रिया 4