
१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा ।
सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् । ‘चना, तरकारी, भुजा, समोसा, जेरी, पाउरोटीजस्ता खानेकुराको तालिका बनाएर हप्ताको ६ दिन खुवाउने गरेका छौं,’ विद्यालयका प्रधानाध्यापक चुडामणि काप्रीले भने । दिवा खाजा कार्यक्रमले खाजामा एकरुपता ल्याएको र अभिभावकलाई पनि सहज भएको उनले बताए ।
गोरखा नगरपालिका–६ ढाडगाउँका विक्रम विक अहिले कक्षा ५ मा पढ्छन् । गाउँ नजिकैको पृथ्वीनारायण बाल विकास आधारभूत विद्यालय पढ्ने उनले पनि हिजोआज विद्यालयमै खाजा खान पाउँछन् ।
विक्रमका बाबु कुलबहादुर विक ७१ वर्ष पुगे । शरीरमा तागत छउन्जेल आरन चलाउँथे, हिजोआज सक्दैनन् । दमका रोगी उनको आम्दानीको स्रोत चार महिनामा पाउने वृद्ध भत्ताबाहेक केही छैन । उनका जेठा छोरा वीरेन्द्रले भर्खरै कक्षा ५ पास गरे ।
घरमै बिहान बेलुका के खाने भन्ने स्थिति भएकाले उनीहरुले विद्यालय जाँदा खाजा लाने सम्भावनै थिएन । ‘खाजा त परको कुरा बिहान बेलुकी खानाको त टुंगो हुँदैन,’ उनी भन्छन्, ‘कति रात चाउचाउ, चिउराजस्ता सुख्खा खाना र पानीको भरमा सुताउनु परेको छ बाबुहरुलाई ।’
धेरैपटक छोराहरुलाई भोकभोकै विद्यालय पठाउनुपरेको सम्झँदै उनी भन्छन्, ‘हामी निम्छरो मान्छेलाई कसैले सहयोग गरे पेटभर खान पाउने त हो ।’
दिवा खाजा कार्यक्रम लागू भएसँगै कुलबहादुरका कान्छा छोराले विद्यालयमै खाजा खान पाएका छन् । विद्यालयका प्रधानाध्यापक सुदीप उपरकोटी कमजोर आर्थिक अवस्थाका विद्यार्थीका लागि दिवा खाजाले धेरै सजिलो बनाएको बताउँछन् । विद्यालयमा अण्डा, दूध, पाउरोटी, रोटी, चनाजस्ता खाजा खुवाउने गरिन्छ ।
विद्यालयमै खाजा खुवाउन थालेपछि चार छोराछोरीकी आमा गोरखा नगरपालिका–८ खमारेकी विमला कुमाललाई पनि सहज भएको छ । डेढ वर्षअघि क्यान्सरले श्रीमान् बितेपछि ज्याला मजदुरी गरेर उनले घर व्यवहार धान्दै आएकी छन् । कान्छी छोरी रश्मी गाउँ नजिकैको सूर्याेदय प्राविको कक्षा एकमा पढ्छिन् । साइली रोजिना कक्षा ३ मा । उनीहरुभन्दा माथिका दुई जना आहालेस्थित सरस्वती माविमा पढ्छन् । ‘किनेर पठाउन सक्ने थिइन, सकेको बेला मकै भुटेर पठाउँथे, धेरैजसो खालीहातै स्कुल जान्थे ।’
विद्यालयमा पढ्ने धेरै बालबालिका विपन्न परिवारका भएकाले दिवा खाजा प्रभावकारी बनेको प्रधानाध्यापक गौरीदेवी अधिकारी बताउँछिन् । ‘पैसा भएकाले बोर्डिङ पढाएका छन्, नसक्नेका बालबच्चा यहाँ छन्,’ उनले भनिन्, ‘कोही खाजै नलिई आउँथे, केहीले चिउरा भुजा ल्याउँथे, तर अहिले विद्यालयले खाजा दिन थालेपछि सबैको एउटै भएको छ, सँगै खान्छन् ।’
गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति प्राविका अधिकांश विद्यार्थी विनाखाजा स्कुल आउँथे । विद्यालयका प्रधानाध्यापक प्रतीशा अधिकारीका अनुसार विद्यार्थीको खाजा भन्ने नै हुँदैनथ्यो । दिवा खाजाका कारण विद्यार्थीहरु भोकै बस्नु नपर्ने भएको छ ।
दिवा खाजा कार्यक्रम लागू भएसँगै बारपाककी सन्तमाया घलेको घरधन्दा छोटिएको छ । उनका दुई छोरा सुरज र संचित गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माविको कक्षा १ र २ मा पढ्छन् । खाजा खान पाउने भनेपछि बच्चाहरु पनि स्कुल जान रमाउने गरेको उनको भनाइ छ ।
जंकफुड घट्दो
गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविका प्रधानाध्यापक शिवराम कट्टेलका अनुसार दिवा खाजा शुरु हुनुअघि अधिकांश विद्यार्थीको खाजा बजारका चाउचाउ बिस्कुटजस्ता जंकफुड हुने गर्थे ।
‘अधिकांशले खाजामा पैसा लिएर आउँथे, त्यसले किन्ने भनेको चाउचाउ, चटपटे, बिस्कुट हो र त्यही खान्थे,’ उनले भने, ‘अहिले विद्यालयमै खाजा हुन्छ, खाजाको लागि भनेर पैसा पनि ल्याउनु परेन, जंकफुड प्रयोग पनि घट्यो ।’
विद्यालयले बारअनुसार चना, अण्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउँछ । खाजाको गुणस्तर विद्यालय नर्सले जाँच गर्छिन् ।
गोरखा नगरपालिका–६ की अमृता विकका छोराहरुले पहिले खाजाका रुपमा बजारका चाउचाउ र बिस्कुटहरु खान्थे । स्कुलमा खाजा खान थालेपछि बिरामी पर्न छाडेको उनले बताइन् । ‘चाउचाउ, बिस्कुट खाएको दिन प्रायः पेट दुख्यो भनेर घरमा खानै खाँदैनथे, अहिले मज्जाले खान्छन्,’ उनले भनिन् ।
जंकफुडको तुलनामा विद्यालयले दिने खाजा पोषणयुक्त रहेको विद्यालय नर्स रेक्सोना अर्याल बताउँछिन् । ‘पाँच कक्षासम्मका बालबालिकाको उमेर भनेको शरीरको विभिन्न अंग र प्रणालीहरु विकास हुने समय हो, त्यो बेला पौष्टिक आहार पुगेन भने आवश्यकताअनुसार शारीरिक वृद्धि हुन सक्दैन,’ उनले भनिन् ।
खाजामा समानता
दिवा खाजा कार्यक्रमले खाजामा समानता पनि ल्याएको छ । ‘हुनेले मिठै ल्याउँथे, नहुनेले सामान्य खाजा ल्याउँथे, कतिले खाजै ल्याउँदैनथे,’ बालमन्दिर माविका प्रधानाध्यापक शिवबहादुर थापाले भने, ‘तर अहिले स्कुलले दिने हो, सबैलाई एउटै खाजा हुन्छ ।’
शैक्षिक सत्र २०७६ बाट सरकारले ईसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सञ्चालन गरे पनि गोरखा नगरपालिकाले २०७५ सालदेखि नै लागू गरेको थियो ।
शैक्षिक सत्र २०७५ मा ईसीडीदेखि कक्षा एकसम्मका विद्यार्थीलाई दिवा खाजास्वरुप प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । सरकारले नै २०७६ सालबाट पाँच कक्षासम्मकालाई निःशुल्क खाजा उपलब्ध गराउन थाल्यो । सरकारको कार्यक्रमअन्तर्गत अहिले दिवा खाजाका लागि विद्यार्थीले जनही १५ रुपैयाँ पाउँछन् ।
दिवा खाजा कार्यक्रमका लागि मात्रै गत वर्ष ७७ लाख ५९ हजार रकम विनियोजन गरिएको गोरखा नगर शिक्षा शाखाका ध्रुव अर्यालले बताए । उनका अनुसार नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा ईसीडीदेखि ५ कक्षासम्म कुल ३ हजार ९७५ विद्यार्थी छन् । १७ वटा मावि, ५ वटा साविकको निमावि र २७ वटा साविकको प्रावि गरी कुल ४९ सामुदायिक विद्यालय छन् । ‘वर्षभरि पठनपाठन हुने कुल १८० दिन हो, त्यति दिनको लागि खाजा रकम छुट्याएका हुन्छौं, तर गत वर्ष कोभिडका कारण १३४ दिन मात्र विद्यालय खुल्यो, सबैदिन खुलेको भए खाजाका लागि १ करोड २५ लाखभन्दा बढी रकम विनियोजन गर्नुपर्थ्यो ,’ अर्यालले भने ।
गोरखाका ११ वटै स्थानीय तहमा ईसीडीदेखि ५ कक्षासम्म दिवा खाजा कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि वार्षिक करोडौं रकम विनियोजन हुँदै आएको छ । जिल्लाभर कुल ४३४ वटा सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । ईसीडीदेखि ५ कक्षासम्मका विद्यार्थी संख्या करिब २५ हजार रहेको इकाई प्रमुख खेमराज पौडेलले बताए । ‘दिवा खाजा कार्यक्रमअन्तर्गत उनीहरुलाई प्रतिविद्यार्थी १५ रुपैयाँ प्राप्त हुने हो, करिब १८० दिनको रकम उपलब्ध हुन्छ,’ उनले भने ।
अधिकांश विद्यालयले खाजाका लागि क्यान्टिनलाई जिम्मा दिएका छन् । पौष्टिक आहार र स्थानीय परिकार उनीहरुको प्राथमिकता छ । बजारमा पाइने जंकफुडभन्दा पनि चना, अण्डा, तरकारी, पाउरोटी, दूधजस्ता खानेकुरामा विशेष जोड गरिएको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । तर १५ रुपैयाँ रकम भने भएको उनीहरुको भनाइ छ । ‘महँगी बढेको छ, फेरि गुणस्तर र स्वस्थ्यकर खाजा खुवाउनु पर्यो,’ बालमन्दिर माविका प्रधानाध्यापक थापा भन्छन्, ‘१५ रुपैयाँमा एउटा उसिनेको अण्डा पनि आउँदैन ।’
दुई कक्षाका विद्यार्थीलाई १५ रुपैयाँको खाजाले पुग्ने भए पनि त्यसभन्दा माथिकालाई नपुग्ने विद्यालयहरुको भनाइ छ । ‘चार/पाँच कक्षाभन्दा माथिकालाई १५ रुपैयाँको खाजाले पुग्दैन,’ नवज्योति माविका प्रधानाध्यापक कट्टेल भन्छन् । कम्तीमा ३० रुपैयाँ खाजाका लागि चाहिने उनको भनाइ छ ।
प्रतिक्रिया 4