+
+

आईएलओ अभिसन्धि अनुमोदन गर्न बारा-पर्साका मजदुर संगठनको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १७:१०

२१ असोज, वीरगञ्ज । बारा र पर्साका मजदुरहरुले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अभिसन्धि १९० अनुमोदन गर्नुपर्ने माग गरेका छन् । इण्डष्ट्री अल ग्लोबल युनियनमा आवद्ध बारा-पर्सा औद्योगिक करिडोरमा क्रियाशील मजदुर संगठनका अगुवाले आईएलओ अभिसन्धि अनुमोदन गर्नुपर्ने माग राखेका हुन् ।

अभिसन्धि विश्वका ७ देशले पारित गरिसकेका छन् । नेपालले पनि पारित गर्नुपर्ने आवाज मदजुर संघ संगठनले उठाउँदै आएका छन् । उनीहरुले कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडत अन्त्य गर्न आईएलओको अभिसन्धि १९० अनुमोदन गर्नुको विकल्प नरहेको बताएका छन् । श्रम कानूनमा जे जस्तो व्यवस्था भएपनि व्यवहारमा महिला र पुरुषका बीच विभिन्न विभेद कायम रहेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अक्षय ओझाले बताए ।

‘समान कामको समान ज्याला हुनुपर्छ, व्यवहारमा विभेद हुनुभएन, श्रम कानूनमा जस्तो व्यवस्था भएपनि विभेद कायम छ,’ उनले भने, ‘कार्यस्थलमा कुनैपनि प्रकारको हिंसा हुनु हुँदैन । आईएलओको अभिसन्धि १९० अनुमोदन गराउन सिर्जनात्मक दबाब दिनुपर्छ ।’

समग्र उद्योग ट्रेड युनियन संघकी केन्द्रीय सदस्य गीता भण्डारीले कार्यस्थलमा कुनैपनि प्रकारको हिंसा गर्नु अपराध भएको बताइन् । ‘हिंसा भनेपछि धेरैजसो महिलासँग नै गएर जोडिन्छ, पितृसत्तात्मक सोचले गर्दा महिला बढी प्रताडित छन्,’ उनले भनिन्, ‘कार्यस्थलमा हिंसा प्रभावित महिला एक्लो हुने गरेकी छन्, त्यस्तो अवस्थामा परिवारले पनि साथ छाड्ने गरेको छ ।’

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशीले कार्यस्थलमा यौन हिंसा र उत्पीडन हुन नदिन सरोकारवाला सबै जागरुक हुनुपर्नेमा जोड दिए । ‘कार्यस्थलमा सहकर्मी, हाकिम वा कम्पनीका सञ्चालक जो कसैले गलत नियत राखेको संकेत पाउने बित्तिकै प्रतिकार गर्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘जागिर जाने डरले हिंसा सहेर बस्ने, उजुरी नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडनका बारे प्रहरीमा उजुरी पर्नुपर्ने इण्डष्ट्री अल ग्लोबल युनियनका नेपाल संयोजक हिमालय खरेलले बताए ।

इण्डष्ट्री अल ग्लोबलमा जिफन्ट, एनटीयूसी आवद्ध मजदुर संगठन, विद्युत प्राधिकरण कर्मचारी युनियन लगायत १२ वटा श्रमिक संगठन आवद्ध छन् ।

कार्यक्रमअघि  कार्यस्थलमा हुने हिंसा अन्त्य गर्न सचेतना फैलाउने उद्देश्यले मजदुर संगठनले वीरगञ्जमा र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?