+
+

नोबल पुरस्कार पाउने पत्रकार, जसको पत्रिकाका ६ पत्रकारको हत्या भएको थियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १३:५३

२२ असोज, काठमाडौं । शुक्रबार नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार डिमिट्री एड्रियेभिक मुराटोभलाई दिने निर्णय गरेको छ ।

कमिटीले उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गर्न लागेको उल्लेख गरेको छ । कमिटीले अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्र र दिगो शान्तिको पूर्वशर्त भएको बताएको छ ।

शुक्रबार नोबेल पुरस्कार पाउने घोषणामा समावेश भएका मुराटोभको जन्म १९६१ अक्टोबर ३० मा रुसको समारामा भएको हो । उनले पाँच वर्ष लोमोनोसोभ मस्को स्टेट युनिभर्सिटीमा दर्शन संकायमा अध्ययन गरेका थिए । क्याम्पस पढ्दा उनले स्थानीय पत्रिकामा आंशिक रुपमा काम पनि गरेका थिए । त्यसपछि नै उनमा पत्रकारिताप्रति प्रेम जागेको थियो ।

विद्यालयको पढाइ सकेपछि उनले सोभियत संघको सेनामा १९८३ देखि १९८५ सम्म काम गरेका थिए । उनी सोभियत संघको सेनामा आबद्ध हुनुलाई आफ्नो राम्रो पक्ष मान्छन् । हतियार हातमा लिँदा आफूलाई थप जिम्मेवारीबोध भएको उनको भनाइ छ ।

सन् १९८७ मा उनले अर्को पत्रिकामा काम गरे । उनलाई आफ्ना अभिव्यक्तिको लागि पूर्ण अधिकार दिइएको थियो र यो क्रममा मुराटोभले आफूलाई अब्बल साबित पनि गरेका थिए ।

सन् १९९३ मा मुराटोभ र उनीसँग यसअघि सँगै काम गरेका ५० भन्दा धेरै साथीहरुले नोभाया गाजेटा पत्रिका खोले । उनीहरुको उद्देश्य यो पत्रिकालाई इमान्दार, स्वतन्त्र र रुसी नागरिकलाई समाचारको बलियो स्रोत बनाउनु थियो । यो पत्रिकाको मिसन मानव अधिकार, भ्रष्टाचार र शक्ति दुरुपयोगको मुद्दामा गहिराइमा पुगेर रिपोर्टिङ गर्नु थियो । यो पत्रिकाको सुरुआत दुई कम्प्युटर, दुईओटा कोठा र एउटा प्रिन्टरबाट भएको थियो ।

यो पत्रिकामा काम गर्ने पत्रकारले कुनै तलब पाउँदैनथे । सोभियत संघका पूर्वराष्ट्रपति मिखाइल गोर्भाचोबले आफूले पाएको नोबेल शान्ति पुरस्कारको केही रकम यो पत्रिकाका कर्मचारीको तलब र कम्प्युटरको लागि दिएका थिए । सुरुमा मुराटोभ पत्रिकाको सहायक प्रेस इडिटर थिए । उनले पत्रिकालाई उचाइमा पर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए ।

मुराटोभले १९९४ डिसेम्बरदेखि एक महिनासम्म मुराटोभले पहिलो चेचन युद्धको रिपोर्टिङ गरेका थिए । १९९५ मा मुराटोभ सम्पादकीय बोर्डको प्रमुख बने । उनी सन् २०१७ सम्म यो पदमा थिए । त्यसपछि पदमा इच्छा नदेखाएका मोराटोभ २०१९ मा पुनः यो पदको लागि निर्वाचित भएका थिए ।

पदमा रहँदा मुराटोभले धेरै समस्याको सामना गर्नुपरेको थियो । अहिले पनि रुसमा नोभागा गाजेटा राष्ट्रव्यापी प्रभाव जमाएको विशुद्ध आलोचनात्मक पत्रिका हो । भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषय सधैं यो पत्रिकाको प्राथमिकतामा पर्‍यो ।

यद्यपि मुराटोभले अभिव्यक्ति स्वतन्त्रता जस्ता संवेदनशील विषयमा लिने गरेको अडानका कारण अन्य पत्रकार र सरकारसँग पनि उनले धेरै टकराव झेलेका छन् । उनको कार्यकालमा नोभाया गाजेटाका ६ पत्रकारको हत्या भएको थियो ।

यो पत्रिकाका पत्रकारहरु सन् २०००, २००१, २००३, २००६ र २००९ मा मारिएका थिए । यो त हत्या पुष्टि भएका घटना मात्र हुन्, यो पत्रिकामा काम गर्ने धेरै पत्रकारको मृत्युमा पनि हत्याको आशंका गरिएको छ । लगातार आफ्ना पत्रकारमाथि आक्रमण हुन थालेपछि पत्रिकाले पत्रकारहरुलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउने योजना बनाएको थियो ।

पत्रिकाको प्रधान सम्पादक हुँदा उनले धेरै धम्की, दुव्र्यवहारको पनि सामना गर्नुपरेको थियो । तर, उनी कहिले पनि विचलित भएनन् र आफ्नो पत्रिका सुरु गर्दाको मूल मर्ममा अडिग देखिए । त्यसैको सम्मानस्वरुप उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । उनले पत्रकारिता क्षेत्रमा अरु प्रतिष्ठित पुरस्कारहरु पनि पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?