+
+

भारतीय पक्षसँग सीमा समस्या लगायतका मुद्दा प्रमुखताका साथ उठायौं : महत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १७:४०

२६ असोज, काठमाडौं । नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्या लगायतका मुद्दा भारतीय पक्षसँग प्रमुखताका साथ उठाएको बताएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा भारत गएका महत नेतृत्वको टोलीले विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटेका थिए । सोमबार स्वदेश फर्किएका सहमहामन्त्री डा. महतका अनुसार भारत भ्रमणका क्रममा सीमा समस्यालाई सम्वाद र कूटनीतिक रुपमा समाधान गर्नेबारे छलफल भएको छ ।

‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौं,’ महतले भनेका छन्, ‘वार्ता प्रक्रिया अगाडि बढाउनु र सीमा समस्या समाधान गर्नुभन्दा अर्को विकल्प छैन ।’

उनले अघि भने, ‘दुई देशको बहुआयामिक सम्बन्ध छ, बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्, तर वार्ता संवादमार्फत्समाधान गर्न सकिन्छ, समाधान बिहीन कुनै समस्या हुन सक्दैन । चाहे सीमा समस्या होस्, चाहे व्यापारको समस्या होस् ।’

आफूहरुले महाकाली तुइन प्रकरणबारे समेत कुराकानी गरेको डा. महतले बताए । ‘मैले भनेँ कि हेर्दा सानो देखिन्छ, तर नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्, यसमा भारत सरकारले पनि छानबिन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ । उहाँहरुले त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ ।’

भारतीय पक्षले भने महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको जवाफ दिएका छन् । आफूले भने नेपाली जनतासँग जोडिएको विषय भएकाले सरकारले छानबिन गरेर निष्कर्षमा पुग्न आग्रह गरेको उनले बताए ।

भारतीय जनता पार्टी (भाजपा)ले नेपाली काँग्रेससँगको सम्बन्धनलाई उच्च महत्व र प्राथमिकता दिएको सहमहामन्त्री महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?