+
+

चीन जोड्ने प्रसारणलाइनको अध्ययन अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १६:५३

१४ कात्तिक, काठमाडौं । चीन जोड्ने ४ सय केभीको रातोमाटे–रसुवागढी–केरुङ प्रसारणलाइनको विस्तृत अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू–भागमा विस्तृत सम्भाब्यता अध्ययन सकाउन लागेको हो ।

२०७६ पुसमा बसेको नेपाल–चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा आ–आफ्नोतर्फका भू–भागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत अध्ययन अघि बढाउने निर्णय भएको थियो । परियोजनाको संयुक्त प्राविधिकस्तरमा विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण र स्टेट ग्रिड कर्पोरेशन अफ चाइनाबीच सहमति भएको थियो ।

नुवाकोटको रातोमाटेबाट चीनको रसुवागढीसम्म पुग्ने प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले अहिले इन्जिनियरिङ डिजाइनसहित अध्ययन गरिररहेको छ । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार तिहारअघि नै डिजाइनको काम सम्पन्न गर्ने योजना भएपनि बेमौसमी वर्षाले सर्भेको काम बिथोलेको बताउँछन् । ‘रातोमाटेबाट धुन्चेसम्मको डिजाइनको काम सकेका छौं,’ उनले भने, ‘धुन्चेबाट करिब १४ किलोमिटरको रसुवागढीसम्मको डिजाइनको काम पनि अन्तिम चरणमा छ । तिहारलगत्तै सबै काम सकिन्छ ।’

यो प्रसारणलाइन चर्चामा आएको ५ वर्ष बित्न लाग्यो । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । सम्भाब्यता अध्ययन गर्नुअघि नै चीनले प्रसारणलाइन निर्माणका लागि लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । चीनले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताएपछि अध्ययन प्रक्रिया समेत लामो सयम अल्झिन पुगेको थियो ।

तर, अध्ययनको माडालिटीमा गाँठो फुकाएर काम थालेको दुई वर्षमा प्राधिकरणले विस्तृत अध्ययन सकाउन लागेको हो । नेपाल विद्युत ब्यापारको ढोका खोल्ने महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइनको निर्माण सुरु गर्न ढिलाइ गर्न नहुने पक्षमा छ । चीनले यो परियोजनालाई रेलमार्गसँगै जोडेर अघि बढाउन खोजेको छ ।

अहिले केरुङसम्म पनि चीनको राष्ट्रिय प्रसारण लाइन आएको छैन । त्यसैले चीनको राष्ट्रिय प्रसारणमा जोडिन चीनले ७९ किलोमिटरको किलोमिटर लामो लाइन बनाउनुपर्छ । यसअनुसार यो प्रसारण लाइन करिब डेढ सय किलोमिटर लामो हुनेछ । नेपालतर्फ कुल ७० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ ।

यो प्रसारणलाइन बनेपछि नेपाल–चीनबीच विद्युत ब्यापार शुरु हुन सक्छ भने चीनले नेपालसहित अन्य दक्षिण एसियाली देशहरुसँग पनि बिजुली किन्न/बेच्न सक्ने आयोजना प्रमुख आत्रेय बताउँछन् । ‘भारत र चीनबीच हाम्रै प्रसराण्लाइनमार्फत विद्युत ब्यापार हुन सक्छ, हाम ह्विलिङ चार्ज उठाएर भारत र चीनको ऊर्जाबजारलाई जोड्न सक्छौं,’ उनले भने ।

चीनसँग प्रसारणलाइन बनाउन परियोजनाको प्रारम्भिक सम्भाब्यता अध्ययनअनुसार चीनतर्फ ५ सय केभीको लाइन हुनेछ भने नेपालतर्फ ४ सय केभीको । बीचमा कन्भर्टर स्टेसन राखेर व्यवस्थापन गरिनेछ ।

यअसघि भएको प्रारम्भिक अध्ययनमा पावर टावर र सबस्टेशन रहने स्थान, नदी क्षेत्र, राष्ट्रिय निकुञ्जसहित विवरणहरु समेटिएको थियो । नेपालतर्फ रातोमाटेमा सबस्टेसन रहनेछ भने चीनतर्फ जिलोङमा । जिलोङमा सबस्टेसन निर्माण भइसकेको जानकारी चीनले प्राधिकरणलाई दिएको छ ।

यो प्रसारणलाइन निर्माण शुरु भएको ६ वर्षभित्र निर्माण गरेर सञ्चालनमा ल्याउने योजना छ । चीनको ‘वान बेल्ट वान रोड’ परियोजनामा आवद्ध गरिएको यो आयोजनाको रुटमा नेपालले अहिले केही हेरफेर गरेको छ ।

‘लामटाङ राष्ट्रिय निकुञ्जको बाटोबाट लैजाँदा करिब एक अर्ब १० करोड कम लागत लाग्ने भएकाले त्यसैअनुसार डिजाइन गरेका छौं,’ आयोजना प्रमुख आत्रेयले भने,‘ त्यल प्रसारणलाइनको टावर संख्या घटेर रुट पनि छोटिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?