
१५ कात्तिक, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै महाप्रबन्धक डिमप्रसाद पौडेल अधिकारविहीन भएका छन् । २०७७ असोज २७ गतेदेखि ४ वर्षका लागि नियुक्त भएका महाप्रबन्धक पौडेलले कार्यकारी अधिकार प्रयोग गर्दै आएकामा कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले महाप्रबन्धकको अधिकारसमेत प्रयोग गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।
कार्यकारी अध्यक्ष अधिकारीको नियुक्ति अगाडि निगममा पूर्वसचिव सुशील घिमिरे अध्यक्ष थिए । उक्त संरचना अनुसार अध्यक्षले सञ्चालक समितिको नेतृत्व गर्ने र महाप्रबन्धकले व्यवस्थापकीय काम गर्ने गर्थे । तर, सरकारले कार्यकारी अध्यक्षका रुपमा अधिकारीलाई नियुक्त गरेपछि उनले महाप्रबन्धकको अधिकारसमेत प्रयोग गर्नेछन् । अब सञ्चालक समिति र व्यवस्थापन समिति दुबैमा कार्यकारी अध्यक्षको नेतृत्व हुनेछ ।
के गर्छन् महाप्रबन्धक पौडेल ?
केपी शर्मा ओली प्रधानमन्त्री र योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला पौडेल महाप्रबन्धकमा नियुक्त भएका थिए । तर उनले गत असारदेखि निगमभित्रै कर्मचारीबाट विरोधको सामना गर्नुपर्यो । सरकार परिवर्तनपछि हालको मन्त्रिपरिषद्ले महाप्रबन्धक पौडेललाई अधिकारविहीन बनाइदिएको छ ।
नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा ६ मा निगममा कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालक नियुक्त नभएको अवस्थामा नेपाल सरकारले महाप्रबन्धक नियुक्त गर्ने व्यवस्था छ । महाप्रबन्धकको काम, कर्तव्य र अधिकार सञ्चालक समितिले तोके बमोजिम हुने ऐनमा उल्लेख छ । त्यस्तै महाप्रबन्धकको कार्यवधि चार वर्षको हुने पनि ऐनमा तोकिएको छ ।
तर ऐनको दफा ४ को उपदफा (५) मा सरकारले चाहेमा निगम सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै सञ्चालकहलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको रुपमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सरकारले सोही व्यवस्था अनुसार अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यो व्यवस्था अनुसार कार्यकारी अध्यक्ष नियुक्तिपछि महाप्रबन्धक भूमिकाविहीन देखिन्छन् । यद्यपि ऐनको दफा ६ को उपदफा २ मा महाप्रबन्धकको काम, कर्तव्य र अधिकार समितिले तोकेबमोजिम हुने व्यवस्था राखिएको छ । यो व्यवस्था अनुसार सञ्चालक समितिले आफूलाई पनि केही जिम्मेवारी दिन सक्ने आशामा महाप्रबन्धक पौडेल छन् ।
‘उहाँ (कार्यकारी अध्यक्ष) सँग भेट भएको छैन, अब बस्ने सञ्चालक समितिको बैठकपछि केही निश्कर्ष आउला,’ उनले अनलाइनखबरसँग भने । आफ्नो भूमिका वर्तमान कार्यकारी अध्यक्षको निर्णयमा भर पर्ने उनले बताए । यस विषयमा बुझ्न खोज्दा कार्यकारी अध्यक्ष अधिकारीले भने आफू निकै व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।
विगतको नजीर के छ ?
१ असोज २०७५ मा तत्कालिन सरकारले मदन खरेललाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्यो । त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव निगमको अध्यक्ष र महाप्रवन्धक पदमा सुगतरत्न कंसाकार थिए । अधिकारविहीन अवस्थामा भएपनि कंसाकारले राजीनामा दिएनन् र चार वर्षे कार्यकाल पूरा गरेर विदा भएका थिए ।
कर्मचारीको अबको भूमिका के हुन्छ ?
सरकारले निगमलाई कम्पनीमा रुपान्तरण गर्न थालेको प्रक्रियामा प्रश्न उठाउँदै कर्मचारीले महाप्रबन्धक पौडेलविरुद्ध आन्दोलन चर्काएका थिए । अहिले आन्दोलनरत कर्मचारीले कार्यकारी अध्यक्ष अधिकारीलाई स्वागत भने गरेका छन् । त्यसअगाडि उनीहरुले कार्यकारी अध्यक्ष अधिकारीसँग कर्मचारीको मागबारे धारणा माग गरेका थिए ।
निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार कार्यकारी अध्यक्ष अधिकारीले भविष्यमा ठूला र दीर्घकालीन निर्णय लिनुअघि सरोकारवाला निकाय र कर्मचारीसँग छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।
विदेशमा काम गरिरहेका कर्मचारीको तलव भत्ता कटौती नगर्ने, कार्यकारी प्रमुखको बढेको तलव आफुले नलिने प्रतिवद्धतासमेत अधिकारीले गरेका छन् ।
नेपाल एयरलाइन्सको आधिकारिक युनियनका महासचिव हेम लम्सालका अनुसार कर्मचारीका माग यथावत छन् । ती माग पूरा गर्ने प्रतिवद्धता नयाँ कार्यकारी अध्यक्षले गरेका कारण ‘कर्मचारी पर्ख र हेर’को अवस्थामा छन् ।
निगमलाई कम्पनीमा रुपान्तरण गर्न अगाडि बढेको प्रस्ताव सञ्चालक समितिबाट फिर्ता हुनुपर्ने, महाप्रबन्धकको राजीनामा, निगमसँग स्वार्थ बाझिने सदस्यले सञ्चालक समितिबाट राजीनामा दिनुपर्ने, कर्मचारीको तलव भत्ता कटौती गर्न नपाइने र महाप्रबन्धको तलब वृद्धि खारेज गर्नुपर्ने मागसहित कर्मचारीहरु आन्दोलनमा छन् ।
महासचिव लम्सालका अनुसार कर्मचारीसँग छिट्टै वार्ता गर्ने प्रतिवद्धता कार्यकारी अध्यक्षले गरेका छन् ।
प्रतिक्रिया 4