+
+

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १६:३३

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् ।

सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।

निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ अध्यक्ष प्रचण्डले भने ।

त्यस्तै तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए । ‘यो दुईवटा विचारमा छलफल चलिरहेको छ’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको पनि बताए । गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको भन्दै उनले त्यसका लागि गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्न खोजिएको पनि जिकिर गरे ।

‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौं भन्न सक्ने स्थिति अझैपनि छैन । यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रुपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ’ उनले भने ।

प्रचण्डले अघि भने, ‘यहाँभित्र अर्को त्यस्तो निरंकुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनै राख्या छ ।’

गठबन्धन कमजोर पार्ने षड्यन्त्र भइरहेका कारण अहिले पनि आँखा कान खुल्लै राख्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए ।

प्रचण्डले विगतका सरकारले रोकेका सबै विधेयकहरु पारित गराउनेतर्फ बर्तमान सरकार लागि परेको पनि बताए । निजामती ऐन, प्रहरी ऐनलगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडि बढाउने उनको भनाइ छ ।

‘गठबन्धनको सरकार बनिसकेपछि हामी हिजोका सरकारले रोकेका सबै विधेयकहरुलाई पारित गराउनेतिर हामी छौँ । यो निजामती ऐन सम्बन्धी, अनि यो प्रहरी ऐनसम्बन्धी, प्रदेशलाई दिने अधिकार सँग सम्बन्धित कुरा, कर्मचारीको सरुवा, बढुवा, समायोजनसँग सम्बन्धित कुराका ऐनहरुलाई हामी छिटोभन्दा छिटो त्यसलाई अगाडि बढाउन चाहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?