+
+

तिहारको बजार : के सस्तो, के महँगो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १८:२०

१६ कात्तिक, काठमाडौं । फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार मंगलबारदेखि शुरु भएको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ ।

तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै ठूलो हुन्छ । व्यापारीहरुका अनुसार यस वर्षको तिहारमा खाद्य वस्तुको मूल्यमा वृद्धि र ड्राइफ्रुटको मूल्य औसत देखिएको छ ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ कोरोना महामारी पछिको पहिलो तिहारको बजारमा खाद्य वस्तुको मूल्य बढ्ने प्रबृति देखिएको बताउँछन् । तिहारमा धेरै खपत हुने मैदा, पिठो र चिनीको मूल्य गत वर्षभन्दा बढेको उनले बताए ।

उनका अनुसार यसवर्ष मैदाको मूल्य बोरामा दुई सय रुपैयाँले बढेको छ । यसबाट प्रतिकिलो मैदाको भाउ गत वर्षभन्दा चार रुपैयाँ महँगो भएको छ । बजारमा ४६ रुपैयाँबाट बढेर मैदाको भाउ ५० रुपैयाँ किलो पुगेको संघले जनाएको छ । पिठोको भाउ पनि मैदा सरह नै भएको छ ।
तिहारमा अर्को धेरै खपत हुने चिनीको बजार भाउ गत वर्ष भन्दा किलोमा १५ रुपैयाँ बढेको छ । गत वर्ष औषत ७५ रुपैयाँ किलोमा खरिदबिक्री भएको चिनीको खुद्रा मूल्य अहिले औसतमा ९० रुपैयाँ पुगेको छ ।

तिहारमा धेरै खपत हुने खाने तेलको मूल्य त यस वर्ष दोब्बर भएको संघको विवरणमा देखिन्छ । गत वर्ष लिटरमा १३० रुपैयाँ हाराहारी पाइने खाने तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा धेरै छ ।

वर्ष मैदा प्रतिकिलो मूल्य पिठो प्रतिकिलो मूल्य चिनी प्रतिकिलो मूल्य खाने तेल प्रतिलिटर मूल्य
२०७७ ४६ ४६ ७५ १३०
२०७८ ५० ५० ९० २४०

स्रोत नेपाल खाद्य किराना व्यवसायी संघ

तिहारमा भाइमसलाको रुपमा धेरै खपत हुने किसमिस, नरिवल, छोकडा र ल्वाङ पनि महँगो भएको नेपाल खाद्य किराना व्यवसायी संघका महासचिव अमुलकाजु तुलाधर बताउँछन् । काजु, ओखर, सुकमेल, खमना फूल र ममफूलीको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको उनले बताए ।

तुलाधरका अनुसार छोकडा किलोमा एक सय रुपैयाँ, नरिवाल किलोमा ५० रुपैयाँ र किसमिसमा ५० रुपैयाँ पुगेको छ ।

वर्ष नरिवल प्रतिकिलो मूल्य काजु प्रतिकिलो मूल्य ममफुली प्रतिकिलो मूल्य ल्वाङ प्रतिकिलो मूल्य सुकमेल प्रतिकिलो मूल्य छोकडा प्रतिकिलो मूल्य किसमिस प्रतिकिलो मूल्य ओखर प्रतिकिलो मूल्य
२०७७ ४३० १४५० १६० ९०० ५८०० १६० ४५० ५००
२०७८ ४७५ १४५० २६० १२०० ४२०० २५० ४५० ५००

स्रोत : नेपाल खुद्रा व्यापार संघ

विद्युतिय सामग्रीको मूल्य बढ्यो

तिहारमा धेरै खपत हुने अर्को बस्तु विद्युतीय बत्तिको माग भने गत वर्ष जस्तो नभएको व्यवसायीहरुले बताएका छन् । सामान आयात गर्ने बेलामा कोरोनाको डर बढ्दा यसैपनि विद्युतीय बत्तिको आयात नै थोरै भएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।

‘कोरोनाको डरकाबीच चीन र भारत मै मूल्य वृद्धि र पानी जहाजको भाडा महँगो हुँदा यसवर्ष विद्युतीय सामग्रीको आयात घट्यो’, पौडेलले भने, ‘यसले गर्दा १५ प्रतिशतसम्म मूल्य वृद्वि भएको छ, बजारमा माग पनि पहिला जस्तो छैन ।’

यसवर्ष तिहारका लागि व्यवसायी र उपभोक्ता दुवै उत्साहित नदेखिएको उनको अनुभव छ ।

स्याउ सस्तो, सुन्तला महँगो

तिहारमा सबैभन्दा धेरै खपत हुने फलफूलमा स्याउ र सुृन्तला पर्छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकस समितिका अनुसार गतवर्षको तुलनामा यो वर्ष स्याउ निकै सस्तो छ भने सुन्तलाको मूल्य बढेको छ ।

गत वर्ष ९० रुपैयाँ किलो रहेको सुन्तलाको प्रतिकिलो मूल्य यो वर्ष १०५ रुपैयाँ छ । गत वर्ष २४० रुपैयाँ किलो औषत मूल्य रहेको झोले स्याउको मूल्य यो वर्ष १५५ रुपैयाँ छ । यस्तै गतवर्ष ३०० रुपैयाँ रहेको फुजी स्याउको मूल्य यसवर्ष २९० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?