+
+

वीरगञ्‍जमा तातो अलकत्राले पोलेर २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १४:२४

२२ कात्तिक, वीरगञ्ज। वीरगञ्जमा तातो अलकत्राले पोलेर दुई जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३८ वर्षीय महम्मद रेयाज मिया र ३९ वर्षीय सैमुल्लाह मिया मन्सुरी घाइते भएका हुन् । घाइतेमध्ये दुबै पैताला र हातमा अलकत्राले पोलेको सैमुल्लाहको नारायणी अस्पतालमा भइरहेको छ ।

रेयाज भने आइतबार राति नै डिस्चार्ज भएका छन् । उनको पनि पैताला र पाखुरामा अलकत्राले पोलेको छ ।

भर्खर कालोपत्रे गरेको सडकबाट हिँड्दै गर्दा उनीहरु लडेर अलकत्राले पोलेको हो वा अरुले छ्यापेको हो भन्ने प्रहरीले पुष्टि गर्न सकेको छैन । यद्यपि भर्खरै कालोपत्रे भएको सडकमा उनीहरु हिँडेका बेला ठेकदारका प्रतिनिधिहरुसँग विवाद भएको भने प्रहरीले पुष्टि गरेको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भर्खरै कालोपत्रे गरेको सडकमा मोटरसाइकलबाट लडेर उनीहरु घाइते भएको जानकारी आफूले पाएको बताए ।

‘भर्खरै कालोपत्रे गरेको सडकमा मादक पदार्थ सेवन गरेका दुईजना लडेर घाइते भएको भन्ने जानकारी आएको थियो, अहिले तातो अलकत्रा खन्याइदिएको भन्ने कुरा पनि सुन्दैछु’ उनले भने ‘ लिखित उजुरी आएको छैन ।’

ठेकेदारले अलकत्रा छ्यापेको घाइतेको आरोप

घाइतेहरुले भने ठेकेदार पक्षले तातो अलकत्रा छ्यापेको आरोप लगाएका छन् । घाइते रेयाज मियाका अनुसार आइतबार राति सवा १० बजे घरतर्फ गइरहेका बेला ठेकदारका सहयोगीहरुले जान दिन्नौं भनेर अलकत्रा छ्यापेका हुन् ।

ठेकदार आशुतोष चतुर्वेदीले भर्खरै कालोपत्रे गरेको सडकमा जान रोकेको र आफूहरु जान लागेपछि तातो अलकत्रा जिउमा हालिदिएको उनले बताए ।

‘ठेकेदारसँग कुराकानी भइरहेको थियो, कामदारहरु पनि विवाद गर्न आए । ऊ (ठेकेदार) साथी हो भन्दा के को साथी ? भनेर झनै विवाद गरे’, रेयाजले भने, ‘ठेकेदार चतुर्वेदीले नै कालोपत्रे हाम्रो शरीरमा खन्याइदिएको हो, टोलको मान्छेले पनि हेरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?