२२ कात्तिक, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले सदन चल्न दिन प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।
सोमबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खाणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएको बताए । ‘एमालेलाई आग्रह छ, तपाईंहरु मार्फत् पनि आग्रह गर्दछु। सदन चल्न दिनुस्।’
सदनलाई द्रूत रुपमा चलाउँदै सरकारका कमीकमजोरीलाई पनि सुधार्दै अघि बढ्दै विधेयकहरु पारित गर्नुपर्ने उनले बताए । उनले नागरिकता विधेयकलाई पनि चाँडो पारित गर्न खोजेको तर सदन नै नचलेकाले समस्या भइरहेको बताए ।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै अङ्ग स्वतन्त्र रहेको भन्दै उनले अहिले न्यायपालिकामा देखिएको विवाद संवेदनशील भएको र चाँडो भन्दा चाँडो टुङ्गिने आफूहरुको चाहना रहेको बताए ।
नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उनले सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको बताए । ‘अहिलेको सुरक्षाको प्रबन्धलाई अझै सुधारेर नेपालको जुनसुकै भू-भागमा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति गराउँछौं।’ उनले भने ।
प्रतिक्रिया 4