
२३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम भएको बेला खोप अभियान पनि सुस्ताएको छ । कुनै बेला एकैदिन पौने तीन लाख डोज खोप लगाउने गरिएकोमा अहिले हजारमा सीमित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कात्तिक महिनाभर खोप अभियान सुस्त देखिएको छ । कात्तिक १ गतेका दिन २७ हजार ७०१ जनालाई खोप लगाइएको थियो । तर कात्तिक २२ गते अर्थात सोमबार १,९१७ जनालाई मात्रै भेरोसेल खोपको दोस्रो डोज लगाइएको छ ।
जबकी सरकारले असोज १३ गते एकैदिन २ लाख ८६ हजार १४५ जनालाई खोप लगाएकोमा कात्तिक १३ गते भने १ लाख ७३ हजार ५९ जनालाई खोप लगाइएको छ । यो संख्या कात्तिक महिनामा प्रयोग भएको सबैभन्दा बढी खोप हो ।
तर त्यसयता खोप लगाउने मानिसको संख्या क्रमशः घट्दै गएको तथ्यांकमा उल्लेख छ ।
यस्तो छ दैनिक खोप लगाउनेको संख्या :
मिति | खोप लगाउनेको संख्या |
१ कात्तिक | २७,७०१ |
२ कात्तिक | १,६३,०२६ |
३ कात्तिक | ९,८०२ |
४ कात्तिक | २३,५६८ |
५ कात्तिक | ५८,८५३ |
६ कात्तिक | ६३,०७४ |
७ कात्तिक | ७,५७६ |
८ कात्तिक | ५७,६१० |
९ कात्तिक | ७३,४२७ |
१० कात्तिक | ७७,२०७ |
११ कात्तिक | १,०१,४७५ |
१२ कात्तिक | १,२५,५२७ |
१३ कात्तिक | १,७३,०५९ |
१४ कात्तिक | ३८,८१५ |
१५ कात्तिक | ६५,०२८ |
१६ कात्तिक | ८०,८१८ |
१७ कात्तिक | ९७,०७० |
१८ कात्तिक | ६४,३७२ |
१९ कात्तिक | ३,७७५ |
२० कात्तिक | १,९८५ |
२१ कात्तिक | ० |
२२ कात्तिक | १,९१७ |
के भन्छन् स्वास्थ्य अधिकारीहरु ?
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालका अनुसार खोप पर्याप्त छैन, त्यसैले खोप लगाउने संख्या घट्नुलाई स्वभाविक ठान्छन् ।
‘खोप भण्डारण कक्षमा हामीसँग अहिले पर्याप्त मात्रामा खोप छैन’ उनले भने, ‘समय समयमा प्राप्त हुने खोप अभियानकै क्रममा सबै प्रदेशमा सञ्चालन गरिरहेका छौं । अभियान सञ्चालन हुने बेला खोप लगाउने संख्या बढ्नु स्वभाविक हो । तर अभियान नचल्दा भने खोप लगाउने संख्या घट्छ ।’
उनका अनुसार एकै पटक ४० लाख डोज खोप आएको बेला दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । त्यसबेला एकै दिन २ लाख भन्दा बढीलाई खोप लगाएको रेकर्ड छ । पछिल्लो समय खोपको आयात कम भएको छ ।
केन्द्रीय खोप भण्डारणमा कति छन् खोप ?
कात्तिक १७ गतेसम्म टेकुस्थित केन्द्रीय खोप भण्डारणमा २१ लाख ४० हजार ६०३ डोज खोप स्टक छन् । जसमध्ये १६ लाख डोज भेरोसेल खोप कात्तिक १७ गते मात्रै प्राप्त भएको थियो । यो चीन सरकारले अनुदानमा दिएको हो ।
यसबाहेक विभिन्न समयमा प्राप्त २ लाख ५९ हजार ७८६ डोज भेरोसेल, १ लाख ५७२ फाइजर, ४६ हजार ६०० एस्ट्राजेनेका, १ लाख १३ हजार ६१० कोभिशिल्ड र ३५ डोज जोनसन एण्ड जोनसन खोप स्टक छन् ।
यस्तै प्रदेशस्तरका खोप भण्डारण केन्द्रमा १३ लाख ३० हजार ६८१ डोज खोप स्टकमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । दोस्रो डोज खोप सुनिश्चित गरेर मात्रै पठाउने गरिएकाले भण्डारण केन्द्रमा खोप मौज्दात देखिएको डा. लाल बताउँछन् ।
कतिले लगाए पूर्ण खोप ?
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कात्तिक २२ गतेसम्म ७४ लाख ३६ हजार ७१४ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । यो कुल जनसंख्याको झण्डै २५ प्रतिशत हो ।
जसमध्ये कोभिशिल्ड र भेरोसेलको पूर्ण मात्रा लगाउने संख्या ५८ लाख ९३ हजार २१७ छन् भने जोनसन एण्ड जोसन खोप लगाउने संख्या १५ लाख ४३ हजार ४९७ जना छन् ।
दोस्रो डोजको पर्खाइमा २८ लाख ४३ हजार ३१५ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
चैतमसान्तभित्र सबै नागरिकले पाउलान् खोप ?
सरकारले चैतमसान्तभित्र योग्य सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । तर कात्तिक महिनाको उत्तरार्धमा खोप लगाउन योग्य (१८ वर्षभन्दामाथि) करिब ३७.३ प्रतिशत जनसंख्याले मात्रै पूर्ण खोप पाएका छन् ।
लक्ष्य भेट्याउन सरकारले तीव्र गतिमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने जनस्वास्थ्य विद्हरु बताउँछन् ।
तर स्वास्थ्य अधिकारीहरु भने चैतमसान्तभित्र १८ वर्षमाथिका सबै नागरिकले खोप पाउने दावी गर्छन् । डा. लाल भन्छन्, ‘सरकारले राखेको लक्ष्य अनुसार नै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको छ । खोपका लागि सरकारले खोप उत्पादक कम्पनीहरुलाई एडभान्स दिइसकेको छ । अहिलेसम्म प्राप्त संकेत अनुसार सबै नागरिकले चैतमसान्तभित्रमा खोप पाउँछन् ।’
सरकारी तथ्यांकअनुुसार हालसम्म नेपालमा २ करोड २० लाखभन्दा बढी खोप नेपाल भित्रिएको छ ।
कात्तिक २२ गतेसम्म २ करोड २० लाख ८० हजार ९३० डोज खोप प्राप्त भएको छ, जसमध्ये सरकारले १ करोड ३० लाख २० हजार डोज खोप खरिद गरेको छ भने ९० लाख ६० हजार ९३० डोज खोप अनुदानमार्फत प्राप्त भएको छ ।
प्रतिक्रिया 4