२४ कात्तिक, काठमाडौं । कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई दिइने भएको छ ।
कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ-कहाँ छन् खोप केन्द्र ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
यस्तै प्रदेश १, २ र लुम्बिनी प्रदेशका ३/३ अस्पताल, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २/२ अस्पताल र गण्डकी प्रदेशमा एक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।
यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
यस्तै गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।
खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।
खोप पाउने लक्षित दीर्घ राेगी समूह :
- मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।
- मिर्गौला फेरेका डायलायसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।
- जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका ।
- अंग प्रत्यारोपण गरेका ।
- उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका ।
- रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।
- मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।
अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।
प्रतिक्रिया 4