
२८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ( भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएको समयमा जहाज नउड्ने निष्कर्षमा पुगेको छ । अहिलेकै कार्यप्रगतिले यी दुबै राष्ट्रिय गौरवका आयोजनामा तोकिएको समयमा जहाज उड्न नसक्ने देखिएको हो ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आइतबार प्रस्तुत चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक प्रगति विवरण अनुसार यी दुबै आयोजनाको काम तोकिएको समयमा सम्पन्न नहुने देखिएको हो ।
‘आज प्रस्तुत प्रगति प्रतिवेदन अनुसार हाल तोकिएको समयमा यी दुबै विमानस्थलमा जहाज उड्न नसक्ने निष्कर्ष निकालिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने । उनका अनुसार विगतमा कोभिडका कारण यी दुई आयोजनाको काम प्रभावित भएको थियो । यसले आयोजनाको लक्ष्यअनुसार कार्यप्रगतिमा असर पुगेको छ ।
भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको प्रतिक्षामा छ । यो विमानस्थलमा थाइल्याण्डको एरोथाई कम्पनीले नेपाल आउने जानकारी गराएको छ । यद्यपी परीक्षण उडानको मिति भने तय भइसकेको छैन । यान्त्रिक उपकरणहरुको परीक्षण भइसकेपछि पनि कम्तिमा तीन महिना तयारीको चरणमा काम गर्नुपर्छ ।
जसले गर्दा सो विमानस्थलमा तत्काल व्यवसायिक उडान हुने सम्भावना छैन । अहिलेसम्म भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८.२५ प्रतिशत रहेको देखिएको छ ।
उता, भौतिक प्रगति ८७ प्रतिशत पुर्याएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समेत भौतिक संरचनापछि तत्काल उडान हुने सम्भावना छैन । यो विमानस्थलको सञ्चालनका लागि आवश्यक मूख्य अड्चन अहिले पनि उस्तै रहेका कारण तोकिएको समयमा व्यवसायिक उडान हुने सम्भावना कम भएको हो ।
रिठ्ठेपानी डाँडाको ४० मिटर कटान गरिसकेपछि मात्र यहाँ जहाजको उडान/अवतरण सम्भव हुन्छ । तर, वातावरणीय मुद्दाको झन्झटिलो प्रक्रियाका कारण यहाँ डाँडा कटानको कामले गति लिन सकेको छैन ।
यस कामका लागि भर्खरै वातावरणीय प्रभाव अध्ययनको काम शुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले प्रतिवेदन स्वीकृत गरि वन कटान आदेश दिएपछि मात्र रुख कटान तथा डाँडा कटानको काम शुरु हुन्छ ।
गौतमबुद्ध अन्तर्राटि्रय विमानस्थल आयोजना निर्माणको अवधि गत मे २०२१ मै सकिएको छ । तर, यस आयोजनामा ऋण लगानी गरेको एसियाली विकास बैंकले ऋण कार्यान्वयन हुने मिति अर्को एक वर्ष थप गरेका कारण आयोजनाले निरन्तरता पाएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लक्ष्य भने चालु आर्थिक वर्षको अन्त्यसम्म तोकिएको छ ।
धार्मिक क्षेत्रमा प्रगति कमजोर
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटन मन्त्रालय मातहतका अर्का दुई राष्ट्रिय गौरवका आयोजना पशुपति क्षेत्र विकास कोष र लुम्बनी क्षेत्र विकास कोषको कार्यप्रगति सबैभन्दा कमजोर पाइएको छ ।
अर्कोतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट अझै पास भइसकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण, संचालक समितिको अध्यक्ष पर्यटन मन्त्री हुने व्यवस्था छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार बजेट निर्माण भई पर्यटन मन्त्री समक्ष पुगेको छ । ‘मन्त्रीज्यूको पनि चासो होला, उहाँ नभएसम्म बजेट पास हुने अवस्था थिएन, अब हुन्छ,’ ती अधिकारीले भने ।
उता, लामो समयको विवादका कारण नेपाल एयरलाइन्सले समेत यो वर्षको बजेट पास गरिसकेको छैन । जसको असर उसको कार्यप्रगतिमा समेत देखिएको छ ।
पर्यटनका मुख्यमुख्य निकायको कमजोर कार्यप्रगतिका कारण पहिलो चौमासिकमा मन्त्रालयको प्रगति समेत कमजोर देखिएको छ ।
खर्च प्रगति ३.०४ प्रतिशत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन महिना (साउन-असोज)सम्मको बजेट खर्च प्रगति मात्र ३.०४ प्रतिशत भएको छ ।
यस अवधिमा १८.९९ प्रतिशत चालु, ५.०५ प्रतिशत पुँजीगत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ खर्च भइसकेको छैन ।
यो वर्ष मन्त्रालयले कुल २६ अर्ब ८३ करोड रुपैयाँ बजेट खर्चको अख्तियारी पाएको छ । तीन महिनाको प्रगति भने मात्र ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4