३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् ।
नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका छन् ।
‘अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत छौं भन्नुभएको छ,’ न्यायाधीशहरुको भनाइ उधृत गर्दै भेटमा सहभागी सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले भने ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्यायालयको नेतृत्व हुन नसक्ने निश्कर्षका साथ सर्वोच्च अदालतका न्यायाधीशले झण्डै एक महिनादेखि नियमित मुद्दा हेरेका छैनन् । तर सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको बताएका थिए ।
उनीहरुले मंगलबारदेखि इजलसमा पनि बसेका छन्, तर निवेदन फिर्ता लगायतका सामान्य खालका मुद्दाहरु मात्र हेरेका छन् । सर्वोच्च बारका सचिव घिमिरेले न्यायाधीशहरुले सर्वोच्चका १९ न्यायाधीश एक ठाउँमा रहेको बताएका छन् ।
प्रतिक्रिया 4