+
+

प्रकाशमान र शेखरबीच पावर सेयरिङबारे छलफल, दुवैको आ–आफ्नै दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते २०:५४

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । महाधिवेशन नजिकिँदै नेतृत्वको लागि नेताहरुको दौडधुप बाक्लिएको हो ।

शुक्रबार दिउँसो चाक्सीबारीमा सिंह र कोइरालाबीच महाधिवेशनमा मिलेर जानेबारे छलफल भएको बताइएको छ । दुवैले एकअर्कालाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै पावर सेयरिङको प्रस्ताव गरेका थिए । कोइरालाले पूर्वमहामन्त्री सिंहलाई पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै आफूलाई सभापति पदमा सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा सिंहले पनि आफूले सभापतिको तयारी अगाडि बढाएको भन्दै कोइरालाले जस्तै प्रस्ताव उनी समक्ष गरेको बताइएको छ ।

‘दुई नेताबीच सौहार्द छलफल भयो । उहाँहरु दुवै सभापतिका आकांक्षी हुनुहुन्छ । मिलेर जानेबारे कुराकानी भएको हो,’ सिंहनिकट एक नेताले भने, ‘दुवैले सभापतिमै दावी गर्नुभयो । तर कुरा मिलिसकेको छैन ।’

दुई नेताबीच छलफललाई फेरि निरन्तरता दिने समझदारी भएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपछि सहमतिका लागि संवाद गर्ने समझदारी भएको बताइएको छ । मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चयन हुने महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय कार्यसमितिका मतदान गर्नेछन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । सभापतिका लागि आधा दर्जन नेताहरु आकांक्षी छन्। संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने तयारी गरेका छन् भने अर्का नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला नेतृत्वका आकांक्षी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?