+
+

ललितपुर कांग्रेसमा जिल्ला सभापति अमात्यका सबै उम्मेदवार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते ११:१९

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति मदन अमात्यको टीम नै पराजित भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको हो । ललितपुरका ६ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा जिल्ला सभापति अमात्य निकट उम्मेदवार पराजित भएका हुन् ।

शुक्रबार राति सार्वजनिक भएको मत परिणाम अनुसार ललितपुर निर्वाचन क्षेत्र नं. – १ को प्रदेश सभा (१) को सभापतिमा मिलन सिलवाल विजयी भएका छन् । उनले तीर्थ घलानलाई पराजित गरेका हुन् ।

सिलवालले दुई ससय मत प्राप्त गरे भने घलानले ८३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश सभा (२) मा ज्ञानबहादुर लो प्रदेश सभा सभापतिमा विजयी भएका छन् । उनले २०१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनले ११० मत प्राप्त गरे ।

दुवै प्रदेशसभाका विजयी सभापतिलाई कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाको समर्थन थियो भने घलान र महर्जन जिल्ला सभापति अमात्यका उम्मेदवार हुन् । संथापन समूहमै रहेका राणा र अमात्यका जिल्लामा आआफ्नै गुट छन् । ललितपुर क्षेत्र-१ कांग्रेस नेता राणाको निर्वाचन क्षेत्र हो ।

ललितपुर क्षेत्र नं २ को प्रदेश सभा (१) को प्रदेश कार्यसमिति सभापतिमा दिवाकर नेपाल निर्वाचित भएका छन् । सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा नेपालले ८५ पाए भने उनका प्रतिद्वन्दी सञ्जय अर्यालले ६३ र जयकिशन बोगटीले २८ मत प्राप्त गरे । प्रदेश सभा (२) को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल र बज्राचार्यलाई पूर्वसांसदद्वय रामकृष्ण चित्रकार र चन्द्र महर्जनको समर्थन थियो ।

जिल्ला सभापति अमात्यको निर्वाचन क्षेत्र नं. ३ मा पनि उनका दुवै उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र (१) मा वीरेन्द्र महर्जन विजयी भए । उनले ११५ मत पाए भने प्रतिस्पर्धी गोविन्द घिमिरेले १०७ मत प्राप्त गरेका थिए । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा सुरेन्द्र डंगोल विजयी भए । उनले १०२ मत पाए भने प्रत्यासी निरन खड्काले ७० मत पाए । सभापतिमा विजयी महर्जन र डंगोललाई महासमिति सदस्य जितेन्द्र कुमार श्रेष्ठको समर्थन थियो भने पराजित दुवै उम्मेदवार जिल्ला सभापति अमात्य निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?