+
+

माधव नेपालले भने- प्रधानमन्त्रीले आपूर्तिमन्त्री नपाएको भए हामी दिन तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ११:१३

५ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले, प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग आइतबार बिहान भएको भेटमा नेपालले सो कुरा बताएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु नेता नेपालको ध्यानाकर्षण गराउन गएका थिए । सो क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैंले सबै हेर्न पनि सकिंदैन । हामीले भनेका छौं अरु कोही पाइया छैन भने हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के ?’

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कोटाबाट जबराका जेठान नेता पर्ने गजेन्द्र हमाललाई आपूर्ति मन्त्रीमा नियुक्त गरेका थिए । तर त्यसको सर्वत्र विरोध भएपछि हमालले भोलिपल्टै पदबाट राजीनामा दिएका थिए ।

जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउँदै नेपालले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने बताए । ‘सबैभन्दा पहिले सरकार गम्भीर बन्नुपर्यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्तामा बसेका पार्टीहरुले चासो र सरोकार राख्नुपर्यो । यसर्थ यो हाम्रो दायित्वभित्र पनि पर्दछ,’ उनले भने ।

नेता नेपालले अगाडि भने, ‘यसको निम्ति हामी पनि छलफल गर्छौं । सरकारलाई पनि भन्ने छौं । सरकारले बरु करको दायरा घटाउनु पनि पर्यो । प्रधानमन्त्रीको म ध्यानाकर्षण गराउँछु ।’

अत्यधिक मूल्यवृद्धि गरेर जनतामा अत्याचार भएको बताउँदै उनले यसबारे सम्बन्धित निकायसँग आफूले बुझ्ने पनि बताए । ‘म पनि बुझुँला । मलाई त्यहाँको सचिवको नम्बर चाहियो,’ नेता नेपालले भने, ‘रक्सोलबाट पाइपलाइन जोडिसकेपछि त सस्तो हुनुपर्ने हो । मैले पनि बुझिराख्या छैन । ढुवानी कष्टका कुरादेखि लिएर, नोक्सानी कति पुर्ताल भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन, यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायसँग म पनि बुझौंला ।’

समस्याका पाटाहरू भएको भए त्यसलाई समाधान गर्ने उपाय खोज्नुपर्ने र उपाय खोज्ने कार्यमा सबैले साथ दिनुपर्ने नेता नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?