५ मंसिर, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ४ का सह–इन्चार्ज ओमप्रकाश यादव (गुल्जारी) ले पार्टीका जिल्ला अध्यक्ष शिव सुवेदीले आफूलाई षड्यन्त्रपूर्वक महाधिवेशन प्रतिनिधि हुनबाट रोकेको आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका गुल्जारीले अध्यक्ष सुवेदीलाई ‘फटाहा’को आरोप लगाउंदै उनले षडयन्त्रपूर्वक आफूलाई महाधिवेशन प्रतिनिधि हुनबाट रोकेको हुँदा संगठित सदस्य वाहेक सबै पदबाट राजीनामा दिएको बताए ।
‘जिल्ला पार्टी अध्यक्ष शिव सुवेदी फटाहाको झुण्ड हुन्, उनले फटाहाहरुको समूहको नेतृत्व गर्छन्’ गुल्जारीले भने, ‘मलाई अगाडि बढ्न नदिन छानी छानी हराए,त्यो विभेद सहन नसकेर नैतिकताको आधारमा राजीनामा दिएँ ।’
आफ्नो राजीनामा शिव सुवेदीको मनोमानीविरुद्ध क्रान्ति भएको गुल्जारीले बताए । ‘उनलाई नोकर प्रवृत्तिको मान्छे चाहिने रहेछ, तर म कसैको चाकरी गरेर माथि जान चाहन्न’ गुल्जारीले भने, ‘म तत्कालीन राजपाको राष्ट्रिय उपाध्यक्ष थिएँ, भैरहवा जस्तो ठाउँबाट प्रत्यक्षतर्फ सांसदमा निर्वाचित भएँ । मन्त्री पनि भएँ । अहिले मलाई अघि बढ्न नदिने काम भयो ।’
यादवले केही दिन आफू कुनै पार्टीमा नजाने तर आफ्ना कुरा सुनुवाइ नभए पछि निर्णय गर्ने बताए । कात्तिक २७ गते प्रतिनिधि छनोटमा आफ्नो नाममा सर्वसम्मति भएर माइन्यूट पनि भएको तर जिल्ला अध्यक्ष सुवेदीले निर्वाचन अधिकृतलाई फोन गरेपछि नाम सार्वजनिक नगरी निर्वाचन गरिएको गुल्जारीले दावी गरे ।
सुवेदी निर्वाचनस्थलमा आएपछि सर्वसम्मत भएको आफुलाई निर्वाचनमा होमिन बाध्य बनाएर २८ गते निर्वाचन हराइएको गुल्जारीको आरोप छ । सुवेदीकै कारण मर्चवारमा एमाले कमजोर भएको उनले बताए ।
प्रतिक्रिया 4