+
+

‘वाक थ्रु’को संकेतले समातियो भित्रीवस्त्रमा लुकाइएको आधा किलो सुन

सुरुमा उनले आफूसँग केही नभएको बताइन् । तर केहीबेरमा उनले आफूसँग आधा किलो सुन भएको स्वीकारिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १८:२१
फाइल तस्वीर

६ मंसिर, काठमाडौं । आइतबार बिहान १०: ४५ बजे नेपाल एयरलाइन्सको विमानमार्फत भक्तपुरकी राधिका बुढाथोकी काठमाडौं ओर्लिन् ।

अन्तर्राष्ट्रिय टर्मिनलको ‘वाक थ्रु’मा प्रवेश गर्नुअघि उनलाई कसैले शंका गरेनन्। यूएईबाट सुन आउने भएकाले त्यहाँबाट आउने हरेकजसोमाथि विशेष निगरानी हुन्छ । तर बुढाथोकीलाई शंका गर्नुपर्ने त्यस्तो खास कारण थिएन ।

‘वाक थ्रु’मा रहेको मेटल गेटमा उनी हिँड्दा फरक आवाज बज्यो । ‘मिस्टेक भएको हो कि भनेर फेरि एकपटक कर्मचारीले छिर्न लगाएछन्, तर फेरि उस्तै आवाज आयो’ विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराई भन्छन्, ‘अर्को पटक पेटी वा केही छ कि भनेर सोधेर जाँच्दा मेसिनले फेरि शंकास्पद सिग्नल दियो ।’

भट्टराईले अनलाइनखबरलाई बताएअनुसार मेटल डिटेक्टरमा निश्चित तौलभन्दा बढी फलाम भए आवाज आउने हो । ‘अझ बत्ती पनि शरीरको जुन भागमा मेटल छ, त्यहीँको बल्ने हो’ उनले सुनाए, ‘उनको कम्मरतिरको भागमा बत्ती बल्यो ।’ त्यसपछि प्रहरी समेत बोलाएर सोधपुछ भयो ।

सुरुमा उनले आफूसँग केही नभएको बताइन् । तर केहीबेरमा उनले आफूसँग आधा किलो सुन भएको स्वीकारिन् । ‘भित्री वस्त्रमा लुकाएर सुन ल्याएको रहेछ, महिला कर्मचारीलाई भनेर बरामद गर्‍यौं’ भट्टराई थप्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरणका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार ती महिला डेढ वर्ष अघि वैदेशिक रोजगारीका लागि दूबई गएकी थिइन् । ‘विदेश गएका व्यक्तिलाई प्रयोग गरेर तस्करले सुन ल्याउने पनि गरेका छन् तर यो घटनामा चाहिँ उनकै सुन हो कि जस्तो देखिन्छ’ बाँस्तोलाले भने, ‘विस्तृत अनुसन्धान भन्सारबाट हुनेछ ।’

यसअघि शुक्रबार बिहान पनि नेपाल एयरलाइन्सको जहाजबाट दुई किलो सुनसहित सिराहाका सरोज शहनी र दाङका सीताराम चौधरी पक्राउ परेका थिए । उनीहरुले पनि भित्री वस्त्रमा सुन लुकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?