+
+

‘ओमिक्रोन भेरियन्ट धेरै संक्रामक हो वा होइन भन्नेबारे अध्ययन भइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १९:४५

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै भेटिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्नेबारे अध्ययन भइरहेको बताएका छन् ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले ओमिक्रोन भेरियन्ट भेटिएको मुलुकमा याे भेरियन्टबारे डब्ल्यूएचओले अध्ययन गरिरहेको बताए । नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलीले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।

पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो । यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ । पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरस भन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्ने बारे स्पष्ट भइसकेको छैन । अहिले विश्वस्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ ।’

डब्ल्यूएचओले अहिले यो भेरियन्टमा कोरोनाविरुद्धको प्रयोग भइरहेको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको उनको भनाइ छ । केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ? भन्ने कुरा पत्ता लाग्ने उनको विश्वास छ । डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भरियन्टमा कत्तिको सफल हुनेछ यसले रोगबाट कत्तिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको उनले बताए ।

डब्ल्यूएचओले नयाँ भेरियन्टबारे नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए । उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पुर्‍याउनु पर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्नेमा जोड दिए ।

नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैं मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने उनले बताए । उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैं एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने उनको सुझाव थियो । प्रमुख पाण्डवले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न समेत सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?