+
+

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगाना अख्तियारको छानबिनमा

भित्री कारोबारलाई सघाएको र छोरीको नाममा शेयर लिएको आरोप लागेका धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि छानबिन गरिरहेको अख्तियारले उनको अस्वाभाविक कारोबारमाथि समेत अनुसन्धान गर्ने संकेत देखिएको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ मंसिर २७ गते २०:०१
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना ।

२७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ । पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो ।

‘पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा लिएको भन्ने आरोप उहाँमाथि छ’ अख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हामी अनुसन्धानकै चरणमा छौं । उहाँले भ्रष्टाचार गरेको देखिएमा कानून बमोजिम विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।’

ढुंगानाविरुद्ध अख्तियारमा २०७८ साउन १४ गते सी–२१२२ दर्ता नम्बरको उजुरी परेको थियो । त्यसयता परेका अन्य उजुरीसमेत समेटेर अख्तियारले छानबिन गरिरहेको हो । अख्तियारले उनको बयानसमेत लिइसकेको स्रोतले बतायो ।

अख्तियारका प्रवक्ता नारायण रिसालले अनुसन्धान भइरहेको विषयबारे विस्तृत विवरण खुलाउन नमिल्ने बताए । उनले भने, ‘कतिपय विषय त आयोगबाट एकैपटक मुद्दा दायर भएपछि मात्रै सार्वजनिक हुन्छन् । त्यो विषयमा पछि खबर गरौला ।’ ढुंगानालाई यस विषयमा कुराकानी गर्न पटक पटक प्रयास गरेपछि उनी सम्पर्कमा आउन चाहेनन् ।

ढुंगानाविरुद्ध अख्तियारमा मात्रै नभई अर्थ मन्त्रालयमा समेत उजुरी परेको थियो । अर्थ मन्त्रालयले उजुरीमाथिको छानबिनका क्रममा समिति नै बनाएको थियो । मन्त्रालयले अख्तियारको पत्र समेतका आधारमा समिति बनाएको भनी उल्लेख गरेको थियो ।

समितिले थप जाँचबुझ हुनुपर्ने राय दिएपछि मन्त्रिपरिषदले ढुंगानामाथि छानबिन गर्न पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले दिएको रायको आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरिसकेको छ ।

आफूमाथि गैरकानूनी रुपमा छानबिन समिति बनाइएको र आफूलाई गलत ढंगले पदबाट हटाइएको दावी गर्दै ढुंगानाले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दायर गरेका छन् । ती मुद्दा हाल विचाराधीन अवस्थामा छन् ।

के के छन् आरोप ?

अख्तियार उच्च स्रोतबाट प्राप्त विवरण अनुसार, ढुंगानाविरुद्ध तीन प्रमुख आरोप छन् । पहिलो हो, प्राथमिक शेयर निष्कासन नहुँदै छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी पदीय हैसियत दुरुपयोग गरेको ।

दोस्रो, लगानी गर्न जोखिममा रहेको भनी ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी धितोपत्रको भित्री कारोबारको सूचना चुहावट गरेको । तेस्रो, अस्वाभाविक कारोबार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ।

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर निष्कासन नहुँदै ढुंगानाकी छोरी रेविकाको नाममा खरीद गरेको भेटिएको थियो । रेविकाको नाममा शेयर खरीद गर्न ढुंगानाले लक्ष्मी बैंकको खाताबाट एक पटक १० हजार रुपैयाँ र अर्को पटक ५ लाख रुपैयाँ जम्मा गरिदिएको भेटिएको अख्तियार स्रोतले बतायो ।

अख्तियार स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजातमा त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको एउटा खाताबाट रेविकाको खातामा २०७७ साल पुस २८ गते १५ लाखको चेक जम्मा गरेको देखिन्छ । अनि रेविकाको खाताबाट २५ लाख रुपैयाँ शेयर बिक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको देखिन्छ । ‘त्यसरी शेयरको कारोबार गर्दा निज रेविका ढुंगाना विदेशमा रहेको अवस्थामा कारोबार भएको देखिएको छ’ अख्तियारले भनेको छ ।

छोरी विदेशमा रहेकाले ढुंगाना आफैंले सर्वोत्तमको शेयर खरीद गरेका अख्तियार स्रोतको भनाइ छ । अनुसन्धानबाट तयार पारिएको रायबारे अख्तियार स्रोतले भन्यो, ‘त्यसरी विदेशमा रहेको छोरीको खातामा रकम जम्मा गरी सोही रकमबाट सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको अवस्था देखिएकाले उक्त कार्य निज भीष्मराज ढुङ्गाना आफैंले गरेको देखिन्छ ।’

सर्वोत्तम सिमेन्टले २०७७ साल माघ ६ गते साधारण सभाबाट बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसको करिव एक सातापछि बोर्ड अध्यक्ष भीष्मकी छोरीले शेयर खरीदका लागि निवेदन दिएकी थिइन् । यसले अध्यक्ष ढुंगाना भित्री कारोबारमा संलग्न भएको देखिने अख्तियारको आरोप छ ।

यसरी शेयर दिलाएबापत कम्तीमा पनि ६०/७० लाख रुपैयाँ गैरकानूनी लाभ भएको देखिने अख्तियारको भनाइ छ । बजारमा ७५० रुपैयाँका प्रतिकित्ताको दरले बिक्री गर्ने तयारी भएको सर्वोत्तम सिमेन्टको शेयर रेविकाको नाममा प्रतिकित्ता २५० रुपैयाँमा खरीद गरिएको थियो ।

यसरी एक कित्तामा ५०० रुपैयाँ लाभ हुने गरी ढुंगानाले छोरीको नाममा १२ हजार कित्ता शेयर खरीद गरेको अख्तियारको भनाइ छ । यसरी ढुंगानाले ६० लाख रुपैयाँ अतिरिक्त आर्जन गरेको देखिएको अख्तियारको दावी छ ।

सूचना चुहाएको आरोप

ढुंगानामाथि धितोपत्र बजारका ५१ वटा कम्पनी जोखिमयुक्त रहेको भनी सूचना चुहावट गरेको आरोप पनि लागेको छ । गत जेठ ३१ गते धितोपत्र बोर्डको सञ्चालक समितिमा कुनै निर्णय नगरी त्यसको भोलिपल्ट १ असारमा जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरिएको थियो ।

सञ्चालक समितिले नयाँ र साना लगानीकर्ताका बारेमा अर्थ मन्त्रालयको उच्च तहमा जानकारी दिने अनि आम लगानीकर्तालाई सुसूचित गर्न व्यवस्थापनलाई निर्देशन दिने’ भन्नेसम्मको निर्णय गरेको थियो ।

अनि अस्वाभाविक शेयर मूल्य रहेका पाँच कम्पनीको कारोबारमाथि अनुसन्धान गर्ने निर्णय भएकोमा बोर्ड अध्यक्ष ढुंगानाले ५१ वटा कम्पनी जोखिमयुक्त भनी सूची सार्वजनिक गर्न लगाएका थिए । त्यसपछि ती कम्पनीहरुको शेयर मूल्य घटेको थियो ।

ढुंष्गानाले अर्थ मन्त्रालयको सहमतिमा सूची सार्वजनिक गरेको दावी गरे पनि सहमति पेश गर्न नसकेको र अर्थ मन्त्रालयलाई त्यस विषयमा जानकारी भएको खुलेको अख्तियार स्रोतको भनाइ छ । ‘अध्ययनकै क्रममा रहेका कम्पनीहरूलाई जोखिमयुक्त भनी सूचना जारी गर्नुको कुनै कानूनी आधार रहे भएको देखिदैन’ अख्तियार स्रोतले भन्यो, ‘निज भीष्मराज ढुङ्गानाको धितोपत्रको भित्री कारोबारमा संलग्नता रहेको हुन सक्ने पर्याप्त र मनासिब आधारहरू रहेको तथ्य स्थापित हुन आउँछ ।’

ढुंगानालाई अजोड इन्स्योरेन्सको भित्री कारोबारमा संलग्नमाथि संरक्षण गरेको अर्को आरोप पनि लागेको छ । उनीमाथि यससम्बन्धी उजुरी परेपछि अर्थ मन्त्रालयले २७ चैत २०७७ सालमा पत्र पठाएर भित्री कारोबारको छानबिन गर्न र संलग्नमाथि कारवाही गर्न निर्देशन दिएको थियो ।

तर बोर्ड ढुंगानाले कारवाही गरेन, बरु चार महिनापछि १७ साउन २०७८ मा भित्री कारोबार गर्ने र शंकाको घेरामा रहेका कम्पनीको कारोबारमाथि निगरानी भइरहेको भनी जवाफ दिए । पछि उनीमाथि अनुसन्धान हुँदा जाँचबुझ समितिले नै ती आरोपहरुको पुष्टि गरेको अख्तियार स्रोतको भनाइ छ ।

सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वमा गठन गरेको जाँचबुझ समितिले ढुंगानाको अस्वाभाविक कारोबार र लेनदेन रहेको भनी छानबिन गर्न सिफारिस गरेको थियो । १० औं लाख नाघ्ने उनका कारोबार थुप्रै भेटिएको थियो भने केही कारोबार करोड सेरोफेरोका थिए ।

ढुंगानाले अमेरिकाबाट छोरीले आफूलाई पैसा पठाइदिएको दावी गरेपछि त्यसको पुष्टि हुने आधार बुझाएका थिएनन् । अर्कोतर्फ छोरीले अमेरिकाबाट सोझै आफ्नै खातामा रकम जम्मा गर्नसक्ने अवस्था रहँदा रहँदै बाबुले आफ्नो खातामा पैसा आएको दावी गर्नु आफैंमा शंकास्पद थियो ।

अख्तियारमा त ससुराली खलकका आफन्त र साथीहरुको नाममा शेयर नै उठाएको भनी उजुरी परेको थियो । हुन पनि सर्वोत्तम सिमेन्टमा विवादित समयमा उनको थर मिल्ने अरु नाममा शेयर कारोवार भेटिएको थियो । त्यसबारे भने अख्तियार स्रोतले थप प्रतिक्रिया दिएन ।

पूर्वन्यायाधीश डुम्रे नेतृत्वको समितिको प्रतिवेदनका आधारमा छानविन चलेको र त्यसबाट अस्वाभाविक आर्जन र कारोबार देखिए गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा समेत छानबिन हुनसक्ने अख्तियारसम्वद्ध स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘अहिले नै त्यसतर्फ अनुसन्धान शुरु भइसकेको छैन । शुरुमा मुख्य विषय (भित्री कारोबार र छोरीका नाममा शेयर लिएको) मा नै अनुसन्धान चलिरहेको छ । त्यसपछि मात्रै थप थाहा होला ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?