५ पुस, काठमाडौं । निर्देशक नवीन सुब्बा चलचित्र ‘गाउँ आएको बाटो’को सुटिङका लागि कलाकाहरूसहित पूर्वी नेपालको भोजपुर जिल्लामा छन् । सुटिङका क्रममा उनलाई बारम्बार नेपाली प्रोडक्सनसँग अत्यन्त सीमित प्रविधि र प्राविधिक ज्ञान भएको महसुस भयो ।
मौलिक नेपाली सिनेमाबाट अन्तर्राष्ट्रिय स्तरमा परिचय बनाइसकेका सुब्बाका अनुसार यसै चलचित्रका लागि आवश्यक पर्ने नवीनतम प्रविधिको अभाव खड्किएको छ । अमेरिकी सिनेमाटोग्राफरसहित भोजपुर पुगेका सुब्बा प्रविधिसँगै अधिकांश नेपाली सिनेमामा कथानक, अभिनय र निर्देशकीय त्रुटि रहेको खुलाउँछन् ।
उनी भन्छन्, ‘नेपाली सिनेमा बनाउँदा बहुल समस्या एकैसाथ खड्किन्छन् । प्राविधिक र सृजनात्मक समस्या मात्र होइन पैसालाई मात्र प्रतिफल मान्ने सोचले ‘मास्टरपिस’ सिनेमा बन्न सकेको छैन ।’
निर्देशक दीपेन्द्र लामाका अनुसार नेपाली सिनेक्षेत्र ‘फर्मुला’भन्दा बाहिरको सिनेमा बनाउन डराइरहेको अवस्था छ । अर्थात्, चलिरहेको शैलीभन्दा भिन्न प्रकारको सिनेमा बनाउन खोज्दा लगानी डुब्नेदेखि बजारमा पछाडि पर्ने डर अधिकांश सिनेकर्मीलाई छ ।
‘सबैभन्दा ठूलो समस्या भनेको सृजनशीलता नै हो,’ लामा भन्छन्, ‘सृजनशील बन्नका लागि चाहिने अध्ययन, तालिम र लगानी हुन सकेको छैन । व्यक्तिगत रुपमा आफ्नो स्तर बढाउन सिनेकर्मीहरू तत्पर छैनन् ।’
सुब्बा र लामा उत्कृष्ट सिनेमा बन्न निर्देशक (फिल्ममेकर)को सृजनशीलता नै पहिलो कारक मान्छन् । यसपछि सिनेमामा गरिने आर्थिक लगानी, कथानक, अभिनय आदिले सिनेमाको स्तर निर्धारण गर्ने उनीहरू बताउँछन् ।
निर्देशक दीपेन्द्र के खनाल पनि मास्टरपिस सिनेमा किन बन्न सकेन भन्ने प्रश्नमा दशकौंदेखि एकै मियोमा घुमिरहेको बताउँछन् । ‘मास्टरपिस’ सिनेमालाई पटकपटक बहसको विषय बनाएपनि पर्याप्त आर्थिक लगानी र निर्देशकीय कौशललाई उत्कृष्ट सिनेमाको प्रमुख कारण मान्छन् उनी । यसबाहेक प्रयोगशील बन्न नसक्दासमेत नयाँ शैलीका सिनेमा बन्न नसकेको उनको अनुभव छ ।
‘जुन कोणबाट बहस गरेपनि उत्कृष्ट सिनेमा अनाउन आर्थिक लगानी धेरै पर्छ,’ खनाल भन्छन्, ‘लगानीबिना नै प्रतिफल खोजेर कुनै अर्थ छैन । यस्तोमा एक-दुई जनाले भिन्न शैलीका चलचित्रमा लगानी गरेपनि उक्त चलचित्र नचल्दा दोस्रोपटक लगानी गर्न सक्दैन ।’
नेपाली सिनेमाको ६० वर्षे इतिहासमा माइतीघर, कुसुमे रुमाल, चिनो, दर्पणछायाँ, नुमाफुङ, कागबेनी, लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, सेतो सूर्य, कालो पोथीलगायत चलचित्र आम दर्शकको रोजाइमा बढी परेको पाइन्छ ।
यसबाहेक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रतिनिधित्व गरेका सिनेमा तथा लघुचलचित्रलाई पनि धेरैले मन पराएको पाइन्छ । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलसम्म प्रदर्शन हुने नेपाली चलचित्र समीक्षक र दर्शकले रुचाएका छन् ।
यद्यपि महोत्सवहरूमा प्रदर्शन गरिने चलचित्र आम दर्शकसम्म पुग्न नसक्दा हलमा प्रदर्शन हुने ठूलोपर्दाका सिनेबाट नै उत्कृष्ट स्वाद पस्कनुपर्ने बाध्यता निर्देशकहरूमा रहेको बताउँछन् निर्देशक दीपेन्द्र के खनाल ।
उनका अनुसार दर्शक जुन स्वादमा अभ्यस्त छन् त्यही शैलीले बजार कब्जा गरेको हुन्छ । यही कारण बलिउड चलचित्र सूर्यवंशी होस् वा बाहुबली दक्षिण एसियाली समाजमा परम्परागत सिनेमालाई नै बढी प्राथमिकता दिइन्छ ।
नवीन सुब्बा पनि बजारको ह्याङले गर्दा नेपाली सिनेकर्मी र निर्देशकहरूले मौलिक स्वादको सिनेमा बनाउन पछि हट्ने बताउँछन् । उनका अनुसार बजारको सोचलाई त्याग्न सकेमात्र नेपाली सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रगति गर्न सक्छ ।
उत्कृष्ट सिनेमा चिन्तन प्रणालीमा भर पर्छ : मनोज पण्डित
मैले भन्दै आएको छु, सिनेमा विचार, सिद्धान्त र ज्ञानको उत्पादन हो । घटनाहरूको अभिलेख राख्ने माध्यम सिनेमा होइन । हाम्रा सिनेमा निश्चित सोचको आधारमा मात्र बनाइने गरिन्छ । यसैले सिनेमा राम्रा भएनन् भनेर गाली मात्र गर्ने होइन, किन अर्थपूर्ण सिनेमा भएनन् भन्ने सोचमाथि काम गर्ने हो ।
एउटा चरणमा आएर स्थापित अवधारणालाई टक्कर दिनैपर्ने हुन्छ । यस्तो कुराले एकछिन असहजता उत्पन्न हुन्छ । तर नयाँ समाजको लागि पुरानो सोचलाई भत्काउने प्रयत्न हुनैपर्छ । सिनेमा निर्माणको सोचलाई विकास गर्न त्यसको पछाडिको हर्ताकर्ता मानिसको सोच नै हो । आफ्नो सोच्ने क्षमतामा विश्लेषण गर्नको लागि सबै प्रकारका विमर्श आवश्यक हुन्छ ।
सिनेमा संकटमा छ भनेर आरोप लगाइराख्ने हो कि कारण पनि खोज्ने हो ? हामी संकटमा छौं भनेर एक युग नै खाली हात बसिदिन्छौं । तर हरेक संकटको कारण सोचमा हुन्छ । सिनेमा निर्माणको सोच (अवधारणा, सिद्धान्त, प्रणाली) माथि यसैले मन्थन गर्नुपर्छ । सिनेमा केवल मनोरन्जनको साधनमात्र बनाउने काम जुन पक्षले गरेको छ यसलाई भत्काउने पनि दर्शकले नै हो ।
फेरि सिनेमा समाजसँग मात्र होइन, जीवनका बहुआयामसँग सिनेमा जोडिएको छ । दर्शन, राजनीति, इतिहास, समाज, संस्कृति, धर्मसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । अन्तरसम्बन्धको मियो भनेको ‘मानिस’ हो । मानिसमाथि अध्ययन गर्नु आवश्यक छ । मानिसको मूल तत्त्व अर्थात् उसको सोचमाथि अध्ययन गर्नुपर्छ । मानिसले आवश्यकता परेर नै सिनेमा बनाएको हो ।
सृजना भनेकै ज्ञानबाट आउँछ । मौलिकता ज्ञानको अभिव्यक्तिबाटै आउने कुरा हो । हामीले सिनेमालाई ज्ञानभन्दा पर छुट्याएर हेर्ने काम गर्यौं, त्यही गम्भीर गल्ती भइसकेको छ ।
प्रतिक्रिया 4