५ पुस, काठमाडौं । मंसिर महिनामा ३६८ जना शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताए । उनले भने, ‘यो महिनामात्रै ३६८ जनाले शिक्षकले समयावधि छँदै निवृत्तिभरण पत्र लिनुभएको छ । यो धेरै नै हो ।’
मंसिर महिनामा समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्यांक निकालेको महानिर्देशक खकुरेलले बताए ।
विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छाड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहेका शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयले जनाएको छ ।
कति शिक्षकले कुन कारणले राजीनामा दिए भन्ने विषयमा भने अहिले नै भन्न नसकिने महानिर्देशक खकुरेलले बताए । उनका अनुसार मंसिर महिनामा अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको छ ।
चालु आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करीब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।
प्रतिक्रिया 4