११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधानसभाबाट गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको उनले बताए ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहितका नेताहरुले झण्डै तीन घण्टा बिताए । अन्तिम वक्ता प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका देउवाले माओवादी अध्यक्षको खुलेर तारिफ गरे ।
नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका उनले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’
संविधान बनाउन पनि प्रचण्डकाे सबभन्दा महत्वपूर्ण योगदान छ भनेर सबैले मान्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4