+
+

सिरिन्ज अभावले रोकियो ८ जिल्लाका बालबालिकालाई कोरोना खोप दिने अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:०६

१४ पुस, काठमाडौं । पुस ४ मा विद्यार्थीलाई कोरोनाविरूद्ध खोप दिने अभियानको शुरूआत गर्दै स्वास्थ्य तथा जनस‌ंख्यामन्त्री विरोध खतिवडाले भनेका थिए, ‘बालबालिकालाई खोप नलगाएसम्म यो अभियान निरन्तर जारी रहनेछ ।’

त्यही अभियान अन्तरगत बागमतीसहित तीन प्रदेशका ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप लगाउने तयारी थियो । तर सिरिन्ज (सुई) र खोपसँग मिसाइने तरल पदार्थ ‘डाइलुएन्ट’ को अभावका कारण खोप लगाउने कार्यक्रम स्थगित भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पूर्वप्रमुख डा. बाबुराम मरासिनी स्वास्थ्य मन्त्रालयले व्यवस्थित योजना बनाएर काम नगर्दा धेरै बालबालिका जोखिममा पर्ने बताउँछन् । ‘यति संवेदनशील विषयमा सरकारले ध्यान नदिँदा धेरै बालबालिका जोखिममा पर्छन्,’ उनले भने, ‘खोप प्रर्याप्त हुँदा पनि लगाउन नसक्नु भनेको सरकारको ठूलो लापरबाही हो ।’

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ९ पुसमा ६ लाख ६४ हजार ६८० डोज मात्रा फाइजरको खोप पाएको थियो । यो हाल केन्द्रीय भण्डारण कक्ष (टेकु) मा छ ।

खोप भण्डारणमा थुप्रिँदा बालबालिका भने जोखिम मोलेर विद्यालय जान बाध्य छन् । अहिले देशभर विद्यालय खुलेका छन् । जनस्वास्थ्यको मापदण्ड अपनाउन नसक्दा कोरोनाको जोखिम बढी छ । तीन साताअघि बागलुङ नगरपालिकाको बलेवास्थित एउट विद्यालयका ३० विद्यार्थीमा कोरोना संक्रमण देखियो । कोरोना पुष्टि हुनेमा अधिकांश १७ वर्ष मुनिका बालबालिका थिए ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात अधिकारी काठमाडौं उपत्यका लगायतका केही विद्यालयमा पनि संक्रमण देखिएका छन् । भन्छन्, ‘बालबालिकामा संक्रमणको जोखिम थपिँदै गएको छ, तर यसप्रति सरकार संवेदनशील छैन ।’

डेल्टासँगै ओमिक्रोन भेरियन्ट पनि देखिएकाले खोप नलाएको अवस्थामा बालबालिका बढी जोखिममा पर्ने सम्भावना हुन्छ, त्यसलाई टार्न खोप लगाउनु पर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । तर सरकारले भने कोभ्याक्स सुविधामा आएको खोप समेत व्यवस्थापकिय कमजोरीका कारण लगाउन सकेको छैन ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘सरकारको यो घटनाले योजनामा कमीकमजोरी देखिन्छ । ओमिक्रोन भेरियन्टको जोखिम रहेको बेला खोप अभियान स्थगित गर्नु कोरोना महामारीको क्षतिलाई नजरअन्दाज गर्नु हो ।’

सरकारसँग भने खोप अभियानका लागि चाहिने सिरिन्ज कहिले आइपुग्छ भन्ने जवाफ समेत छैन ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापा सिरिन्ज कहिले आइपुग्छ अझै टुगों नभएको बताउँछन् । सरकारसँग अन्य खोपका लागि प्रयोग हुने ०.५ एमएलको सिरिन्ज मात्रै छ । ‘०.३ एमएल सिरिन्ज बिना फाइजर खोप दिन मिल्दैन,’ थापाले भने ।

फाइजर खोपमा प्रति भाइल (सिसा) १.८ मिलिलिटर ०.९ प्रतिशत सोडियम क्लोराइड भएको डाइलुएन्ट प्रयोग गर्नुपर्ने हुन्छ । डाइलुएन्टले खोपको बाक्लोपन केही घटाउनुका साथै रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने गर्छ । यो भने छिट्टै आइपुग्ने सरकारी अधिकारी बताउँछन् ।

ढिला गरे खोप खेर जानसक्छ

कोभ्याक्स सुविधाअन्तर्गत पाएको यो खोप ९ पुसमा नेपाल आइपुगेको थियो । तर ‘अल्ट्रा कोल्ड चेन’को अभावका कारण करिव डेढ लाख खोप माइनस २० डिग्रीमा राखिएको छ ।

विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार माइनस ८० डिग्रीमा फाइजर खोप ५ लाखभन्दा बढी राख्न क्षमता छैन । ‘पाँच लाख फाइजर खोपलाई माइनस ८० डिग्रीमा राखेका छौं,’ थापाले अनलाइनखबरसँग भने, ‘अल्ट्रा कोल्ड चेनको अभावमा डेढ लाखभन्दा बढी माइनस २० डिग्रीमा राख्न बाध्य छौं ।’

संक्रामक रोग विशेषज्ञ डा. पुनका अनुसार केही दिनका लागि माइनस २० डिग्रीमा राख्न सकिए पनि लामो समयसम्म फाइजर खोप भण्डारण गर्न माइनस ८० डिग्रीको कोल्ड चेनको आवश्यक पर्छ । माइनस २० डिग्रीमा मात्र राख्दा खोपले गुणस्तरमा ह्रास आउँछ । खोप जति प्रभावकारी हुनुपर्ने हो, त्यो नहुनसक्छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखा पूर्वप्रमुख डा.झलक शर्मा गौतम पनि माइनस २० डिग्रीमा धेरै समयसम्म भण्डारण गर्दा खोपको प्रभावकारी घट्दै जाने बताउँछन् । ‘फाइजर खोप दुईदेखि आठ डिग्रीमा राख्न पनि सकिन्छ, तर एक महिनाभन्दा बढी होइन,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘माइनस ८० डिग्रीमा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । त्यसभन्दा कममा डिग्रीमा राखिएको फाइजर खोप थोरै समयसम्ममा मात्रै राख्न सकिन्छ ।’

फाइजर बायोएनटेक खोप भायलमा उपलब्ध हुन्छ र २१ देखि २८ दिनको फरकमा दुई मात्रा दिनुपर्ने हुन्छ । यो खोपको भण्डारण र ढुवानी गर्दा निश्चित तापक्रम कायम गर्नुपर्ने हुन्छ । जमेको अवस्थामा माइनस ८० डिग्री सेल्सियस (अल्ट्रा कोल्डचेन) र माइनस २० डिग्री सेल्सियस (फ्रिजिङ तापक्रम) को तापक्रममा राख्नुपर्छ । पग्लेको अवस्थामा भने यसलाई प्लस २ डिग्रीदेखि ८ डिग्री सेल्सियस कायम गर्नुपर्छ र यसरी एक महिनासम्म भण्डारण गर्न सकिन्छ । एक पटक बाहिर निकालेपछि ३१ दिनभित्र प्रयोग गरिसक्नुपर्ने विज्ञ बताउँछन् ।

५–११ वर्षका बालबालिकाका लागि पनि खोप खरिदको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी खोप खरिदको तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाेको बताए ।

डा. मरासिनीका अनुसार बालबालिकालाई ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ । ‘हामीले प्रस्ताव पठाएका छौं । त्यस विषयमा छलफल भइरहेको छ,’ डा. मरासिनीले भने, ‘यो खोप आउन केही समय लाग्न सक्छ ।’ सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा. मरासिनीले जानकारी दिए । ‘५–११ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन सकेका छैनौं । अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?