+
+

ईंटा भट्टामा डामिएका लक्ष्मी र सुजनका सपना

बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा कसैले पनि १४ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन नहुने कुरा उल्लेख गरेको छ । तर, व्यवहारमा भने हरेक ईंट्टा भट्टामा बालबालिकाको श्रमको शोषण भइरहेको छ । यसको प्रत्यक्ष उदाहरण हो लक्ष्मी कार्कीका १४ वर्ष मुनिका तीन छोराछोरी ईंट्टा भट्टामा काम गर्न बाध्य छन् । जसमा १४ वर्ष उमेर पूरा नभएका सुशन कार्की, वर्ष १३ की शुसिला कार्की र १० वर्षका सुजन कार्की ।

अंगद सिंह अंगद सिंह
२०७८ पुष २१ गते २०:१६

२१ पुस, काठमाडौं । उमेरको अंकले दश वर्षका भए, सुजन कार्की । शरीर विज्ञान र मनोवृत्तिका हिसाबले यो उमेर हो, खाने–खेल्ने । तर, अभाव र दुःखले उनलाई यस्तो छुट दिएको छैन । खानका लागि उनीसँग पारिवारिक आर्जन छैन । खेल्नका लागि समय र साथीभाइ छैन । त्यसैले त आफ्नो कलिलो थाप्लोमा गह्रौं ईंटा बोक्न बाध्य छन् ।

रामेछापका सुजनको सेरोफेरो भन्नु नै भक्तपुरस्थित चाँगुनारायणको जय हनुमान ईंट्टा कारखाना हो, जहाँ उनी ईंट्टा बोकेर दिन गुजार्छन् । पानी बोक्ने, ईंट्टा सार्ने, चाङ लगाउने काम गर्नुपर्छ उनले । त्यसो त सुजनले पढाइ छुटाएका छैनन् । तर, चाँगुनारायणकै आदर्श विद्यालयमा चार कक्षामा पढ्छन् । विद्यालय समय अघि-पछिको समय भने उनले ईंट्टा बोक्नैपर्छ ।

५ देखि १४ वर्षसम्मका कुनैपनि बालबालिकालाई श्रममा लगाउनु निषेध गरेको छ । नेपालको श्रम ऐनले कुनै पनि बालबालिकालाई कारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउनु गैरकानूनी भनेको छ । बाल श्रम शोषण रोक्नका लागि सरकारले राष्ट्रिय गुरुयोजना नै बनाएर काम गरिरहेको छ । युनिसेफको एक अध्ययनले देखाउँछ, ‘हरेक तीन बालबालिकामध्ये एक बाल श्रममा संलग्न छन् ।’ तर, अवोध सुजनहरु यी ऐन र योजनाहरुबाट बाह्र हात टाढा छन् ।

हामीले सोध्यौं, ‘भविष्यमा के बन्छौ ?’

उनको बालसुलभ जबाफ यस्तो थियो, ‘डाक्टर ।’

सुजनकी आमा लक्ष्मी कार्कीले सायदै सोधेकी होलान्, आफ्ना बालबच्चाको इच्छा र आकंक्षा के छ ? सम्भवत: उनी यो प्रश्नसँग पनि भयभित छिन् । किनभने लक्ष्मीसँग दुःखको आफ्नै महाभारत छ ।

दुःखमाथि दुःख थपिएपछि

रामेछापको गाउँमा पनि सुख थिएन । ज्यालादारी गरेर जीवन गुजारा हुन्थ्यो । तर, त्यहाँ उनलाई साथ दिन श्रीमान् थियो । भर–अभरमा छरछिमेक हुन्थे । भनौं, दुःखसुख जीवन चलेकै थियो ।

तर, सधैं एकनास कहाँ हुन्छ ?

काम गर्दा गर्दै एक दिन सुजनका बुबा रमेश कार्की एक्लै बोल्दै बर्बराउँदै घर फर्किए । रक्सीले मातेर बर्बराएको होला भनेर शुरुमा त कसैले उनको मतलब गरेन । त्यसदिन लक्ष्मीले खाना दिइन् । बालबच्चालाई खुवाएर सुताइन् ।

दोस्रो दिन बिहान उठेपछि फेरि रमेश जथाभावी बोल्न, बर्बबराउन थाले । छोराछोरी देख्नसाथ गाली गर्ने, तर्साउने गर्न थाले । उनको बानी–व्यवहार झन् झन् खराब हुँदै गयो । घरमा बालबच्चा मात्र भएको बेला मार्छन् कि भन्ने पिरलो थपियो ।

उनलाई अस्पताल लगियो । कडा मानसिक समस्या रहेको चिकित्सकले बताए । यसै त दुःख, त्यसमाथि उपचार गर्नुपर्ने अतिरिक्त बोझ थपियो ।

‘श्रीमानको दिमाग बिग्रिएपछि रात दिन छोराछारीलाई पिट्न थाले । रातमा सबैलाई मार्छु भन्न थाले,’ लक्ष्मी भन्छिन्, ‘आफ्नो र छोराछोरीको ज्यान बचाउन भागेर काठमाडौं आएँ ।’

उनले घर छाडिन् । श्रीमान छाडिन् । साथमा चार जना लालाबाला च्यापेर काठमाडौं आइपुगिन् । ‘सके गरौंला नसके सबै मारौंला भनेर घर छाडेकी हुँ, छोराछोरीका लागि आमाले जे पनि गर्न सक्दिरहेछिन्’ उनले सुनाइन् ।

छिमेकीसँग १८ हजार रुपैयाँ ऋण काडेर उनी नाइटबस चढिन् । बसले बिहान मिर्मिरेमै कलंकी ल्याइपुर्‍यायो ।

बसको सहचालकले कलंकी आइपुग्यो कलंकी झर्ने झर्नुस् भन्दा उनले ईंट्टा भट्टा कहाँ छ ? कहाँ काम पाइन्छ ? सोधिन् । सहचालकले भक्तपुरतिर ईंट्टा भट्टा रहेको भन्दै काम पाउन सक्ने बताएपछि उनी बसबाट ओर्लिइन् ।

त्यसदिन उनी कलंकीबाट बस चढेर भक्तपुर पुगिन् । तर, कहाँ बस्ने, के काम गर्ने ? मेलोमेसो पाइनन् । भक्तपुरको भाते ढिकुरमा उनले आफ्नो भारी बिसाइन् । त्यस रात छोराछोरीलाई चाउचाउ खान दिइन् । आफू भोकै सुतिन् ।

अर्को बिहान ठूली छोरीलाई भाइबहिनीको जिम्मा लगाएर उनी काम खोज्न निस्किइन् । तर, काम कहाँ पाउनु ? सात दिन बित्दा पनि उनले कतै काम पाइन । उनीले छोराछोरीलाई सात दिनसम्म त्यही खुला खेतमा राखे ।

हप्तादिनपछि थानकोटको ईंट्टा भट्टामा काम पाइन्छ भन्ने थाहा पाइन् । फेरि झिटीझ्याम्टा च्यापेर थानकोट पुगिन् । ईंट्टा बोक्ने काम पाइन् । ईंट्टा बोक्ने, बनाउने काम गर्न थालिन् । यसरी नै बलको काम गरेर छोराछोरीको भेट भर्नु कम्ता कठिन थिएन ।

जेठी छोरी संगीताले भने उनलाई काममा सघाउन थालिन् । गाउँमा छँदा त उनी विद्यालय जान्थिन् । ६ कक्षासम्म पढेकी थिइन् । तर, काठमाडौं आएर ज्यालादारी गर्न थालेपछि उनले पढ्न पाइनन् । यसैगरी छोराछोरी हुर्कँदै गए । उनीहरुले आमाको काममा सघाउँन थाले ।

उनी अभाव र गरिबी बुझ्ने भइसकेकी छिन् । आमाले कति दुःख खेपेर आफूहरुलाई हुर्काइन् ? यसको साक्षी हुन् उनी ।

थानकोटमा एक वर्ष काम गरेपछि लक्ष्मी फेरि भक्तपुर फर्किइन् । अहिले उनी भक्तपुर चाँगुनारायण नगरपालिका–९मा रहेको जय हनुमान ब्रिक फ्याक्ट्रिमा काम गरिरहेकी छिन् ।

सन्तुष्टीले खान र ढुक्कले सुत्न नपाएको आठ वर्ष भइसकेको छ लक्ष्मीलाई। एक वर्ष रामेछापका र सात वर्ष काठमाडौंमा । उनलाई यही कुराले पिरोल्छ कि छोराछोरीलाई कसरी पढाउने ? कसरी पेटभर खाना खुवाउने ? छ जनाको ठूलो परिवार भएकाले राशन पानीमा निकै खर्च हुने गरेको छ उनको । भन्छिन,‘ परिवार ठूलो छ कमाउने दुई जना मात्रै छौं, गुजरा गर्नै गाह्रो छ।’

लक्ष्मीका अनुसार राशनका नाममा महिनाको तीन बोरा त चामल मात्रै सकिन्छ। काठमाडौंको महंगीमा गरिबलाई किनेर खान हम्मेहम्मे पर्ने उनको गुनासो छ।

माटोका डल्ला उचालेर ईंट्टा बनाउदा निकै थकाई लाग्ने गरेको बताउँछिन् लक्ष्मी । ईंट्टा बनाउन राति एक दुई बजे नै उठिसक्नुपर्छ उनले । राति एक–दुई बजेबाट सुरु गरेको काम निन्द्रा नलाग्दासम्म गरिरहनुपर्छ उनले ।

काम नगरी खान पुग्दैन छोराछोरी भोकै बस्नुपर्ने हुन्छ । लक्ष्मीे शरीर ल्यात्रुकलुत्रुक नहुँदासम्म काम गरिरहन्छिन ।

‘भोक प्यास निन्द्रा थकाई केही नभनि काम गर्नुपर्छ मैले नगरे त मेरा छोराछोरी भोकै मर्छन्’ उनले सुनाइन् ।

नेपालको संविधान २०७२ ले मौलिक हक भनेर धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ। जहाँ बालबालिकालाई कलकारखाना, खानी वा अन्य त्यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने, कसैबाट शोषणयुक्त काम भए दण्डनीय हुने र क्षतिपूर्ति पाउने तथा उनीहरुलाई सामाजिक सुरक्षा प्राप्त गर्नेलगायतका हकको व्यवस्था गरेको छ ।

व्यवहारिक बोझ र कानुनका कुरा

त्यस्तै बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा कसैले पनि १४ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन नहुने कुरा उल्लेख गरेको छ। यस नियम विपरीत कसैले काममा लगाएको पाइएका तीन महिनासम्म कैद तथा १० हजार रुपौयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ।

तर, व्यवहारमा भने हरेक ईंट्टा भट्टामा बालबालिकाको श्रमको शोषण भइरहेको छ । यसको प्रत्यक्ष उदाहरण हो लक्ष्मी कार्कीका १४ वर्ष मुनिका तीन छोराछोरी ईंट्टा भट्टामा काम गर्न बाध्य छन् । जसमा १४ वर्ष उमेर पूरा नभएका सुशन कार्की, वर्ष १३ की सुशिला कार्की र १० वर्षका सुजन कार्की ।

१४ वर्षदेखि १६ वर्ष समूहका बालबालिकालाई काममा लगाउदा आमा बुबा वा अभिभावकको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था गरिएको छ । यसका अलावा बालबालिकालाई काममा लगाएको जानकारी श्रम कार्यालयलाई दिनुपर्ने, दिनको छ घण्टा बढी र रातिमा काममा लगाउन नहुने व्यवस्था गरिएको छ । यस कानुन विपरीत कसैले बालबालिकालाई जोखिमपूर्ण काममा लगाएको पाइएमा एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने उल्लेख छ ।

तर, ईंट्टा भट्टामा हजारौंको संख्यामा बालबालिकाको श्रमको शोषण भइरहेको छ । भक्तपुर बालश्रम निवारण सम्बन्धी राष्ट्रिय युरुयोजना २९७५–२०८५ ले २०७९ सम्म अमर्यादित र शोषणयुक्त बालश्रमको अन्त्य गर्ने र २०८२ सम्म्मा सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य लिएको छ ।

भक्तपुर ईंट्टा उद्योग व्यावसायी संघका अध्यक्ष नातीभाई हम्बाका अनुसार भक्तपुरमा मात्रै ६२ वटा ईंट्टा उद्योग रहेका खछन जसमा ६० वटा उद्योग सञ्चालनमा रहेका छन् भने दुईवटा बन्द रहेका छन ।

ईंट्टा उद्योग बालबालिकाका लागि जोखिमपूर्ण क्षेत्र रहेको स्वीकार्दै ह्राम्बा भक्तपुरका उद्योगमा बालबालिकालाई काममा नलगाएको बताउँछन् ।

‘भक्तपुरमा बालबालिकालाई उद्योगले काममा लगाएको छैन, आमाबुबाले आफैंसँग काम गराउँछन् । हामीले नगराउ भन्दा पनि मान्दैनन्’ उनले भने ।

‘बालबालिका भट्टामा काम गर्न सक्दैनन र यो उनीहरुका लागि होइन पनि, तर अभिभावकले सहयोग गर्न लाउँछन,’ उनी भन्छन, ‘उद्योगले कसैलाई जबरजस्ती कामा लगाएको छैन।’ अभिभावककै कारण ईंट्टा उद्योगलाई बालश्रम मुक्त बनाउन नसकिएको उनको तर्क छ।

अध्यक्ष ह्राम्बाका अनुसार भक्तपुरमा मात्रै अहिले ३५ हजार श्रमिक ईंट्टा उद्योगमा कार्यरत छन् ।

त्यस्तै रामेछापकी लक्ष्मी कार्की रहरले नभई बाध्यताले साना छोराछोरीले काम गर्नु परेको बताउँछिन् । उनका चार जना छोराछोरीले दिनभर काम नगरेपनि स्कुलबाट आएर आफूलाई सघाउने गरेको बताइन् ।

लक्ष्मी कार्कीले भट्टामा काम गरेरै भएपसनि आफूले जस्तो दुःख पीडा छोराछोरीले भोग्न नपरोस् भन्दै उनीहरुलाई स्कुल पढाएकी छन । छोरी सिता कार्की नौ,छोरा सुशन आठ र सुजन चार कक्षामा पढ्छन्।

लक्ष्मीले चाँगुनारायण–९ मा प्रति महिना ८ हजार तिरेर दुई कोठा भाडामा लिएकी छिन् । परिवार ठूलो भएकाले एक कोठाले पुग्दैन उनलाई ।

सात वर्ष भइसकेको छ लक्ष्मी कार्की रामेछाप नगएको । घर जानै मन लाग्दैन उनलाई । श्रीमानको मानसिक स्वास्थ्य बिग्रिएपछि काठमाडौं छिरेकी उनी रामेछाप गएपनि माइतीघरसम्म पुग्छिन् र फर्किन्छिन् । माइतीघरमा पनि बुबाबाहेक कोही छैन उनको ।

आफू पढेकी भए अहिले कम्तिमा भट्टीमा त काम गर्नु पर्थेन, केही राम्रो काम पाइन्थ्यो भनेर अहिले उनी सोच्छिन् । त्यसैले छोराछोरीलाई अहिले उनी पढाइरहेकी छिन् सकि नसकि।

लक्ष्मी कार्कीका श्रीमानको मानसिक स्वास्थ्य उस्तै छ। लक्ष्मीहरु काठमाडौं आएपछि उनी गाउँका अरुलाई कुटपिट गालीगलौच गर्न थाले । अहिले लक्ष्मीका श्रीमान रमेश कार्कीलाई सुधार गृहमा राखिएको छ ।

लक्ष्मीले रमेशको अनुहार नै नदेखेको सात वर्ष बितिसकेको छ । श्रीमानको मानसिक स्वास्थ्य ठिक नभए पनि उनका हर्कतका कारण आजित भएकी लक्ष्मीलाई घर जानै मन लाग्दैन ।

‘श्रीमानको गति त्यस्तो भयो, हामीले यतिसम्म दुःख पायौं, न मेरो घर छ न मेरो घरमा कोही छन्,’ उनी भन्छिन्, ‘आफ्नो भन्ने कोही नभएपछि के घर जानू ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?