
१ माघ, पोखरा । ‘साहित्यमा कल्पना त चाहिन्छ तर बाँचेको समय र यथार्थलाई भूलेर कवि रमाएर बस्न पाउँदैन’, कवि भूपि शेरचनले यति भन्दा कविहरुबीच सन्नाटा छायो ।
‘कवि शाेकेसमा सजाउने चीज होइन’ कविहरुलाई सम्बोधन गर्दै भूपिले कार्यक्रममा भनेको स्मरण गर्दै कवि वनमाली निराकार भन्छन्, ‘कविताका विभिन्न आयामका कुरा भएका थिए तर भूपिले यथार्थ र बाँचेको समय नै कविता हो भन्ने बाेध गरेका थिए ।’
२०४१ फागुन २० गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मशताब्दीको उपलक्ष्यमा पाल्पाको तानसेनमा कवि गोष्ठी आयोजना गरिएको थियो । नेपाली साहित्य समिति पाल्पाले आयोजना गरेको कवि गोष्ठीमा शेरचन प्रमुख अतिथि थिए । त्यतिबेला उनी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव थिए ।
लेखनाथ जन्मशताब्दीमा देशभर कार्यक्रम भइरहेका थिए । पुसमा भएको कार्यक्रममा पाल्पाबाट कवि वनमाली सहभागी भएपछि उनले फागुनमा कार्यक्रमको आयोजना गरेका थिए ।
वनमालीका अनुसार कार्यक्रममा मदनमणि दीक्षित, वासु शशी, तुलसी दिवस, विष्णुविभू घिमिरे, अच्युतरमण रेग्मी, सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन, रमेश तुफान, दिनेश अधिकारी, गगन विरही, प्रकट पगेनी शिव, किशोर पहाडी, विजय वजिमय जस्ता देशभरका नाम चलेका कवि उपस्थित थिए ।
‘पाल्पामा भएको त्यो बेलाको कवि गोष्ठी ऐतिहासिक थियो । कवि भूपि शेरचन बिरामी थिए र पनि उनले दिएको मन्तव्य निकै प्रगतिशील र महत्वपूर्ण थियो’ त्यो बेलाको कार्यक्रम स्मरण गर्दै कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘उनको मन्तव्यले अहिलेको अवस्थामा पनि उत्तिकै अर्थ राख्छ ।’
शेरचनले त्यो बेला कविहरुलाई शाेकेसमा सजाएर राखिएका रंगीन वस्तुहरु जस्तै पर्यटकलाई देखाउने वस्तुहरु हुन्छौं कि जीवित प्राणी ? भनेर प्रश्न गरेका थिए । ‘त्यो कविहरुका लागि ठूलो चुनौती र प्रश्न थियो’, वनमाली सुनाउँछन् ।
शेरचनले पाल्पा तानसेनमा भएको कवि गोष्ठीमा कवि लेखनाथ पौड्यालप्रतिको दृष्टिकोण, कविले बोक्नुपर्ने मुद्दा र कविलाई राज्यले हेर्ने दृष्टिकोणबारे बोलेका थिए । त्यो मन्तव्यको अहिले पनि बेला बेला साहित्य वृत्तमा चर्चा भइरहन्छ ।
‘त्यो बेला भूपिको नेपाली साहित्यमा ठूलो स्टारडम थियो । उनलाई पछ्याउनेहरु थिए’ सरुभक्त स्मरण गर्छन्, ‘तानसेनमा भेटेपछि मलाई लाग्यो, भूपि त्यसै भूपि भएका होइन रहेछन् । उनको कविता, विचार र व्यक्तित्वले पनि हामी प्रभावित भएका थियौं ।’
पौड्यालको जन्मशताब्दीमा भूपिले दिएको मन्तव्यको सार पोखरेली युवा सांस्कृतिक परिवारबाट २०४७ सालमा प्रकाशित भूपि स्मृति–ग्रन्थमा पनि समावेश छ ।
कवि शेरचनले तानसेनमा दिएको मन्तव्य
कवि शिरोमणिलाई जुन रुपमा मैले चिताएको थिएँ, त्योभन्दा धेरै भव्य रुपमा उहाँलाई देखें । उहाँका लामो लामो सेता दाह्री देख्दा सम्झना आउँछ, म जन्मेको थलो टुकुचे, जसको अगाडि धौलागिरि र पछाडि नीलगिरि उभिएका थिए । कविलाई देख्दा धौलागिरि उभिएको हो वा नीलगिरि उभिएको शंका लाग्थ्यो । तर, उहाँ त कवि होइन, व्यक्ति होइन, त्योभन्दा बढी सिंगो हिमालय नै हुनुहुन्थ्यो ।
जसले युग हाँकेर कवि बने तिनका विषय प्रवचनका नक्कली र फोस्रा बकम्फुसे कुरा गर्न मलाई मन पर्दैन । तर, यो पनि कटुसत्य हो, जस्तो कि नेपाली समालोचकहरु गर्दछन् ।
त्यो युग जब यो सिंगो नेपाल एउटा जहानियाँ शासन अन्तर्गत शासित थियो । जुन समयमा एउटा पनि अपशब्द झुक्किएर निस्कियो भने डोरीमा झुण्डिएर मर्नुपर्थ्याे । त्यस्तो समयमा पनि अत्यन्त शिष्ट, अत्यन्त संयमित भाषामा साहित्य सिर्जनामा लाग्नुभयो ।
अरु नेपाली सरह दरबारमा पसेर चाकडी पनि गर्नुभयो तर त्यो थियो भौतिक पक्ष, बाँच्ने आधार । तर उहाँभित्र जुन कवि थियो, त्यो कविले अन्याय सहँदैनथ्यो । कविले सत्यको आधार लिंदैन र अन्यायको विरोध गर्दैन भने मेरो विचारमा त्यो कवि हुँदैन ।
कवि शिरोमणिबाट हामीले ‘बालक बबुरो… पिंजडाको सुँगा’ जस्तो सरल शैलीमा लेखिएको कविता पायौं । उहाँभित्रको कविले कहिल्यै हजुर र ख्यामित भनेन ।
अहिलेका युवा पिंढीका सशक्त कविहरुलाई नेपाली साहित्यमा पुनः जागरण ल्याउन सहयोग गरेकोमा प्रशंसा गर्न चाहन्छु । नेपाली कवितामा बीचमा आएको अनावश्यक आयातीत दुर्बोध्यता, जटिलता र अश्लीलता इत्यादिबाट दिक्क भएर अन्तर्वार्ताकारहरुले कविहरुकहाँ गएर (कविज्यू कविताको माने बुझिएन) सोध्दा कविताको पनि माने हुनुपर्छ र ? भन्ने जवाफ दिनुहुन्थ्यो ।
जब कविताको माने नै बुझिंदैन भने श्राेताका बीचमा जानु र पाठ गरिनुको केही अर्थ नै रहेन । यस्तो कारणले नेपाली साहित्यिक वातावरण झण्डै डेढ दशक मूर्छित अवस्थामा रह्यो । यो साहित्यिक वातावरणको मूर्छित अवस्थाको लक्ष्मणलाई जगाउन सञ्जीवनी बुटीको पहाड ल्याएर पुनः जागृत गराउने भूमिकाका निम्ति युवा कविहरुलाई धन्यवाद दिन चाहन्छु ।
कविताप्रति मेरा विचार के छन् भने कविता मात्र आक्रोशको पूँजी होइन । कविता त शाश्वत सत्यको र सुन्दर गुणहरुको मधुर संगीत पनि हो । तर, मेरो भनाइ यो होइन कि हामीले आफ्ना कटु जीवनको यथार्थलाई यसमा नउतारौं, यसका आक्रोशलाई नउतारौं ।
मेरो आग्रह त यो छ कि स्वर्गीय राजा महेन्द्रको सन्देश जस्तै आफ्ना ब्रह्मले देखेको यथार्थ र सत्यलाई कविताको माध्यमबाट अभिव्यक्ति गर्यौं भने राष्ट्रको लागि ठूलो उपलब्धि हुनेछ । तपाईं हामी कवि कलाकारहरु शाेकेसमा सजाएर राखिएका रंगीन वस्तुहरु जस्तै पर्यटकलाई देखाउने वस्तुहरु हुन्छौं न कि जीवित प्राणी ।
यहाँ एउटा प्रसंग जोड्छु । एक त भारत खेलकुदको मैदानमा खास गरेर फूटबलमा एशियामा राम्रा टीमहरुमध्ये मानिन्छ । अर्को कुरा भारतमा उपलब्ध १ नम्बर र २ नम्बरमध्ये पनि उत्कृष्ट खेलाडीहरु राष्ट्रिय परीक्षण शिविरमा गएका बेला नेपाली टीम गएर सञ्जय गान्धी ट्रफी जितेर ल्याउँदा देशभरि यस्तो हल्ला भयो, मानौं सुगौलीको सन्धि नै च्यातेर सिमाना नै फिर्ता ल्यायौं जस्तो ।
अर्कोतिर जापान जस्तो विकसित मुलुकलगायत जम्मै एशियाका महान, ठूला मुलुकहरु भारत, चीनजस्ता ठूला मुलुकहरु, बंगलादेश र पाकिस्तान जस्ता मुलुकहरुका मूर्धन्य चित्रकारहरुले भाग लिएको र बंगलादेशमा भएको प्रतियोगितात्मक चित्रकला प्रतियोगितामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले भाग लिन पठाएको कलाकार वत्स गोपाल वैद्यले ती जम्मै मूर्धन्य कलाकारहरुका बीचमा आफ्नो कृतिद्वारा सर्वप्रथम भई स्वर्ण पदक जितेर ल्याएको खबर गोरखापत्रको सानो कोलममा झोक्राएर बस्यो ।
अहिले वस्तुस्थिति यस्तो छ, सिमेन्टको बोरामा एक रुपैयाँ खेलकुदको नाममा उठाइन्छ । निःसन्देह राष्ट्रको शारीरिक स्वास्थ्यका लागि खेलकुद पनि अत्यन्त जरुरी चीज हो तर राष्ट्र त शरीरमा मात्र बाँच्दैन, राष्ट्र त बुद्धिको भरमा बाँच्छ, हृदय स्पन्दनको भरमा बाँच्छ ।
तपाईं हामीहरुका लागि सिमेन्टको बोरामा एक रुपैयाँ काट्न त कता कता तपाईं हाम्रै पुस्तकमा १ रुपैयाँ ट्याक्स कटाइदेला भन्ने लाग्छ ।
प्रतिक्रिया 4