+
+

मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:२५

९ माघ, काठमाडौं । सरकारले ४० लाख मोर्डना खोप मंगलबारसम्म आइपुग्ने जनाएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताए ।
सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ ।

यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ । सरकारले १५ माघ देखि चार दिनका लागि खोप अभियान चलाउन विद्यालय खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।

६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा अब मोर्डनाको खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘६० जिल्लामध्ये केही जिल्लामा मात्रै दोस्रो डोज दिन बाँकी छन् । अब बाँकी १७ जिल्लाका बालबालिकालाई खोप दिने योजना छ’, दाहालले भने ।

काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई खोप दिइने छ ।

त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको चौरासियाले जानकारी दिए ।

‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं । अब खरिद गरेर उनीहरूलाई पनि खोप लगाउने सरकारको योजना छ,’ चौरासियाले भने, ‘८४ लाख खोप खरिद गर्न प्रस्ताव अगाडि बढाएका छौं । विभिन्न चरणको छलफल अगाडि बढेको छ ।’

उनका अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिकाले खोपका लागि भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?