+
+

बिइङ ह्युम्यानको आवरणमा बख्रेलको अवैध धन्दा

लागूऔषध, मदिरा, सुर्तीदेखि कपडासम्मको अवैध ओसारपसार र विक्रीमा संलग्न

गौरव पोखरेल गौरव पोखरेल
२०७८ माघ १८ गते २०:४२
बिइङ ह्युम्यानका सञ्चालक सन्तोषचन्द्र बख्रेल ।

१८ माघ, काठमाडौं। बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लथिङ स्टोर ‘बिइङ ह्युम्यान’को आवरणमा यसका नेपाल सञ्चालक अवैध गतिविधिमा संलग्न भएको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वर र औषधि व्यवस्था विभागले गरेको छुट्टाछुट्टै अनुसन्धानले यसका सञ्चालक सन्तोषचन्द्र बख्रेल अवैध गतिविधिमा संलग्न रहेको देखाएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘बख्रेलले बिइङ ह्युम्यानको नाममा भन्सार छलेर मदिरा, सुर्तीजन्य पदार्थ र कस्मेटिक सामानको अवैध ओसारपसार गर्ने गरेको भेटिएको छ ।’ उनी लागूऔषध सम्बन्धी कसूरमा पनि मुछिएका छन् ।

केही अघिसम्म बिइङ ह्युम्यानमा राजु थापा सञ्चालक थिए । तर हालै बख्रेलले बिइङ ह्युम्यान नेपालको स्वामित्व लिएका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बिइङ ह्युम्यानका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजार रुपैयाँ नगदसहित १९ मंसिरमा पक्राउ गरेसँगै प्रहरीले त्यहाँको गतिविधिबारे निगरानी बढाइरहेको थियो । त्यसबेला विइङ ह्युम्यानमार्फत हुण्डी कारोबार पनि हुने गरेको आशंका प्रहरीले गरेको थियो ।

त्यसबेला बिइङ ह्युमानले कम्पनीको नामबाट विज्ञप्ति जारी गर्दै पसलमा बिक्री गरेर उठेको रकम प्रहरीले बरामद गरेको दाबी गरिएको थियो । तर अनुसन्धान अधिकृतहरुले बरामद रकमको स्रोत नखुलेको बताउँदै शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो ।

मदिराले खोल्यो पोल

महानगरीय अपराध महाशाखाले गत शुक्रबार चलाएको अपरेशन निमाका क्रममा बिइङ ह्युम्यानका सञ्चालक बख्रेल पक्राउ परे ।

उपत्यकामा रेड लेभल, ब्ल्याक लेभल, भोड्का, चिवास रिगल जस्ता ब्राण्डका अवैध रक्सी भित्रिरहेको सूचनाको आधारमा अपराध महाशाखाले निगरानी बढाइरहेको थियो ।

एक जना खुद्रा व्यापारीसँग १४ कार्टुन रक्सी मगाएर थालिएको अनुसन्धानका क्रममा डेढ करोड रुपैयाँ बराबरको मदिरा बरामद भएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार बख्रेलले रवि भनिने भारतीय नागरिकसँग मिलेर राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याउने गरेका थिए ।

अनुसन्धान अधिकृतहरुले मदिराको गुणस्तरमा पनि आशंका गरेका छन् । कोइराला भन्छन्, ‘यसको जाँचका लागि पठाएका छौं, रिपोर्ट आउन समय लाग्छ ।’

उनका अनुसार बख्रेलले विगत ३ महिनादेखि मदिराको अवैध कारोबार गरिरहेको भेटिएको छ । ‘उनले इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर मदिरा किक्री गर्दै आएको खुलेको छ’ कोइराला भन्छन्, ‘मदिराहरु ड्यूटी फ्रीको हो भनेर ग्राहकलाई विश्वास दिलाउने गरेको भेटिएको छ ।’

उनका अनुसार यसरी ल्याइएका रक्सीहरु विशेषतः पार्टी प्यालेसहरुमा बिक्री गरेको पाइएको छ ।

लागूऔषधका पुरानै आरोपी

अपराध महाशाखाको हिरासतमा राखेर अनुसन्धान गरिरहेका बेला बख्रेल लागूऔषध सम्बन्धी कसूरमा पनि जोडिए ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठ भन्छन्, ‘ब्यूरोले अनुसन्धान गरिरहेको ट्रामाडोलसम्बन्धी एउटा मुद्दामा आरोपीबाट उनको नाम खुलेको थियो, खोजी गर्दा उनी अपराध महाशाखाको हिरासतमा रहेको खुल्यो ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार ब्यूरोले १३ माघमा ११५ वटा ट्रामाडोल ट्याब्लेटसहित जोरपाटीबाट सुनिल शेर्पालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनलाई समिर परियारले लागूऔषध दिने गरेको खुल्यो, उनी पक्राउ पर्दा लागूऔषध नाइट्राभेट बरामद भयो ।

‘उनलाई पनि मुद्दा चलाएर उनलाई दिने लक्ष्मण सुनुवार भन्ने व्यक्तिलाई खोजी गर्‍यौं , उनीसँग केही बरामद भएन’ ती अधिकृत भन्छन्, ‘तर उनले उमेशकुमार केसीमार्फत क्याप्सुल ल्याउने गरेको खुल्यो ।’

प्रहरीले उनको नारायणटारस्थित कोठामा खानतलासी गर्दा १४ माघमा २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद भयो । ‘उनलाई कल्याणकारी मेडिकल हलका सञ्चालक पेम्बा शेर्पाले दिएको भन्ने कुरा आयो, उनलाई पक्राउ गरेपछि राजाराम दवाडीको नाम खुल्यो’ अनुसन्धान अधिकृत भन्छन्, ‘उनको दवाडी ब्रदर्श भन्ने सर्जिकल सामग्री सप्लाई गर्ने कम्पनी रहेछ, त्यहाँबाट अरु नियन्त्रित औषधि पनि बरामद भयो ।’

उनको बयानबाट बद्रीनाथ पौडेल नामका व्यक्तिले अवैधरुपमा औषधिहरु ल्याएर दिने गरेको खुल्यो । ‘पौडेल नातामा बख्रेलका भाञ्जा रहेछन्, उनले नै बख्रेलले भनेअनुसार आफूले सामग्रीहरु ल्याउने गरेको खुलाए’ ती अधिकृतले अनलाइनखबरसँग भने ।

बख्रेलको नाम खुलेपछि अनुसन्धान अधिकृतले उनको लोकेसन हेर्दा मीनभवनमा देखिएको थियो, जतिबेला उनी मीनभवनस्थित अपराध महाशाखाको हिरासतमा थिए ।

लागूऔषधि नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार बख्रेल २०७६ सालको एउटा मुद्दामा पनि प्रतिवादी बनाइएका थिए । ‘त्यतिबेला औषधि व्यवस्था विभागले १४ लाख ७४ हजार ट्याबलेट ट्रामाडोल बरामद गरेको रहेछ, त्यतिबेला उनको नाम पनि खुलेको थियो’ थापाले भने, ‘तर उनी पक्राउ परेनन्, पछि सिधै अदालतमा हाजिर भएका थिए ।’

ट्रामाडोल सुत्केरीलाई दुखाइ कम गर्न प्रयोग गरिने औषधि हो । लागूऔषध प्रयोगकर्ताले पनि यसलाई प्रयोग गर्ने गर्छन् । ‘औषधि व्यवस्था विभागको स्वीकृतविना यो आयात गर्न पनि प्रतिबन्ध छ र बिक्री गर्न पनि चिकित्सकको प्रेसक्रिप्सन अनिवार्य छ’ थापा भन्छन् ।

सुर्तीदेखि अवैध कपडासम्म

बख्रेलका भाञ्जा पौडेलको बयानका क्रममा उनको नयाँ बजारमा गोदाम रहेको खुलेको थियो । गोदाममा औषधि व्यवस्था विभाग, लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय अपराध अनुसन्धान महाशाखाले संयुक्त अपरेशन चलायो ।

त्यसक्रममा थप प्रतिबन्धित औषधि पनि बरामद भएको ब्यूरोका एसपी श्रेष्ठ बताउँछन् । अपराध महाशाखाले त्यहाँबाट अवैधरुपमा प्याकेजिङ भइरहेको २५ सय केजी सुर्ती, सुपरपावर लेखिएका सुर्तीको खोल ५८० केजी, डोभ स्याम्पु, साबुनलगायतका कस्मेटिक सामग्री बरामद गरेको एसपी कृष्ण कोइराला बताउँछन् ।

‘त्यहाँ विदेशी ब्राण्डका चुरोट पनि तयार गरिँदा रहेछन्, ७८५ बन्डल बरामद गर्‍यौं’ उनी भन्छन्, ‘गोदाममा ३० वटा लेडिज कुर्ता सुरुवाल पनि बरामद भयो, बख्रेलको समूहमा भन्सार छलीको कपडासमेत भित्र्याउने गरेको देखियो ।’ बरामद सामग्रीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको कोइराला बताउँछन् ।

नयाँ बजारबाट औषधि व्यवस्था विभागले चाहिँ यौन शक्ति बढाउने विवरण उल्लेख भएका औषधिहरु बरामद गरेको छ । विभागका एक अधिकारीका अनुसार बख्रेलविरुद्ध औषधि ऐन, २०३५ अनुसार पनि कारबाही प्रक्रिया अघि बढ्नेछ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?