+
+

आयोगले सिफारिश गरेकै मितिमा स्थानीय चुनाव गर्नुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते २०:१७

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिश गरेको मिति जेठ ४ गते नै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए ।

‘निर्वाचन आयोगले गरेको सिफारिसमा गर्नैपर्छ निर्वाचन, निर्वाचन भनेको सरकारको स्वेच्छाको विषय होइन, संवैधानिक, कानुनी र लोकतान्त्रिक बाध्यता हो, कर्तव्य पनि हो’ उनले भने, ‘औपचारितामा दिन तोक्ने अधिकार मात्र हो सरकारको ।’

मंगलबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो । तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने पनि बताए । ‘यसलाई विभिन्न चरण उपचरण गर्ने होइन, एकै चरणमा गर्नुपर्छ’ उनले भने, ‘चरण चरणमा गर्ने हो भने यही फागुनदेखि गर्नुपर्थ्यो ।’ अहिलेको सत्तारुढ गठबन्धनले सत्ता स्वार्थमा केन्द्रित भएर चुनावलाई संविधान र कानुन विपरीत आफुखुशी उपयोग गर्न खोजेको ओलीले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?