+
+

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

रञ्जिता अधिकारी/रासस रञ्जिता अधिकारी/रासस
२०७८ माघ २० गते १४:१५

२० माघ, देउखुरी । घोराही-७ का रमा आचार्य पेसाले शिक्षक हुन्। उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेका छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उनलाई बाख्रा पाल्न सजिलो भएको छ । उनी हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउँछन् ।

उनले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको छ। सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनले बताए ।

‘बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ। समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एक लाख रुपियाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले रु दुई लाखको बरसिम घाँस बेचेँ’, उनले भने ।

घोराही- ६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन् । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ ।

बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो। गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुर्‍याउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उनले बताए। गत वर्ष ८० हजार रुपैयाँको घाँस बिक्री गरिएको उनले बताए। ‘यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु’, उनले भने ।

घोराही-१७ कर्जाहीका पूर्ण चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पालेका छन् । ‘दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ’, उनले भने । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए ।

‘गत वर्ष रु ६० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ’, उनले भने । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलफूल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कृषकले व्यावसायिकरूपमा एकवर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही-६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ।‘भुइँघाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ ।

वर्षात्‌मा लगाइएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ ।

घोराही-६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

घोराही-६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही-१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ ।

अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् ।

जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक-पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक संघले जनाएको छ ।

संघका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ । व्यावसायिकरूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए ।

कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उनी बताउँछन् । यसवर्ष बरसिम घाँसको बीउ करीब रु ७५ लाखको बिक्री हुने उनको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलफूल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए ।

तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिकरूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए ।

‘स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं’, उनले भने । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिकरूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ।

दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही-६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती शुरू भएको हो ।

दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ। यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ।

घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिकपालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए ।

खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ ।

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् ।

घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए। उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ ।

उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन्। किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिए ।

सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?